अछाममा एमाले विवाद : ओली र रावल पक्षका छुट्टाछुट्टै कार्यक्रम

नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रम अन्तर्गत अछाममा विवाद उत्पन्न भएको छ ।
नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रम अन्तर्गत अछाममा विवाद उत्पन्न भएको छ ।
March 05, 5:57

अछाम - नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रम अन्तर्गत अछाममा विवाद उत्पन्न भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनदेखि नै दुई पक्षबीच देखिएको एमाले अछामको विवाद झन् चर्किँदै गएको छ ।

प्रतिनिधिसभा सदस्यको लागि नेकपा एमाले अछामले क्षेत्र नम्बर –१ बाट एकल नाम सिफारिस गर्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई टिकट नदिएपछि उनी निकट कार्यकर्ताले साँफेबगरमा ओलीविरुद्ध नारासमेत लगाएका थिए । एमाले नेता रावल पनि पार्टीले उम्मेदवार बनाएका झपट बोहराको पक्षमा खुलेर लागेनन् । गत निर्वाचनमा रावल मौन अवधि सुरु हुनुभन्दा केही घण्टा अगाडि मात्रै गृहजिल्ला पुगेका थिए ।

ग्रामीण भेगमै पुगेर पार्टी सुदृढिकरणका लागि सुरु गरिएको अभियानका लागि साँफेबगर नगरपालिकामा नेकपा एमाले केन्द्रले पोलिटब्यूरो सदस्य एवं संविधानसभा सदस्य गौरी ओलीलाई प्रतिनिधिको रुपमा पठाएको छ । गौरी एमाले अध्यक्ष केपी शर्मा ओली निकट हुन् । ओली निकट गौरी केन्द्रीय प्रतिनिधि भएको कार्यक्रमलाई पूर्वमन्त्री एवं एमाले नेता भीम रावल निकटले अस्वीकार गरेको छ । शुक्रबार साँफेबगरमा ओली पक्ष र रावल पक्षले मिसन ग्रासरुट अभिमुखीकरण कार्यक्रम संचालन गरे ।

तत्कालीन एमालेका प्रभावशाली नेता शेरबहादुर कुँवर, कुलबहादुर कुँवरलगायत नेकपा एमाले फुटेर नेकपा एकीकृत समाजवादीमा गए । पाटी टुक्रिएर प्रभावशाली नेताहरु गएको घाटा एकातिर छ भने अर्कोतिर अछाममा ओली पक्ष र रावल पक्ष समानान्तर कार्यक्रम गरिरहेका छन् ।

एमालेका जिल्ला अध्यक्ष चन्द्र बोहरा, निर्वतमान सांसद यज्ञ बोगटी, कमल तिमिल्सैना , कृष्णप्रसाद जैशी, पदम बोहरा, झपट बोहरा डिबी साउद समेतका एमाले नेताहरु अहिले ओली निकट छन् । त्यस्तै बम बिसी, प्रकाश शाह, भरत साउदलगायत एमाले अछामका नेताहरु भीम रावल निकट मानिन्छन् । शुक्रबार साफेबगरमा भएको कार्यक्रममा पनि ओली र रावल निकटका नेताहरु आफ्नो आफ्नो पक्षका नेताहरु भएको कार्यक्रममा गएका थिए ।

यतिबेला गृहजिल्ला अछाममा रहेका रावलले पोलिटब्यूरो सदस्य ओलीतर्फ संकेत गर्दै भने, ‘साँफेबगर नगर कमिटीले औपचारि करुपमा आयोजना गरेको कार्यक्रममा माथिबाट खटाइएका प्रतिनिधिले भीम रावल त्यो कार्यक्रममा आएको भए म जान्नँ भनेको पाइयो । यो धेरै दुःख लाग्दा कुरा हो,’ उनले भने, ‘पार्टीभित्र सामान्य शिष्टाचारको कुरा के हुन्छ भने, 'लामो समयदेखि पार्टीको नेतृत्वमा बसेको, यो ठाउँबाट पटकपटक जनप्रतिनिधित्व गरेको राज्यका महत्वपूर्ण पदमा पुगेका व्यक्तिलाई कार्यक्रममा तपाईंले आउनै पाइँदैन भन्ने कुदृष्टिकोण राखेर पार्टी बलियो बनाउँछु भन्नु व्यर्थ कुरा हो ।’

तुर्माखाँद गाउँपालिकामा सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड कार्यक्रमका लागि प्रमुख अतिथिको रुपमा गृह जिल्ला अछामका आएका रावलले पार्टी कार्यकर्ताकै आग्रहमा विभिन्न स्थानीय तहमा गइरहेको बताए । अछाममा पार्टी विस्तार सुदृढीकरणमा आफूले महत्वपूर्ण योगदान गरेको उनले बताए । ‘यो ठाउँमा मेरो पसिना मात्रै होइन, धेरै रगत पनि बगेको छ । पार्टीका कुनै कमिटिले आयोजना गरेको कार्यक्रममा म गइनँ भने त्यो अन्याय हुन्छ,’ उनले आफूविरुद्ध लागेका अछामका एमाले नेतातिर संकेत गर्दै भने, ‘अहिलेका केही नेता त म जेल पर्दासम्म पनि जन्मेका थिएनन् । पार्टीले माथिबाट पठाएका केही साथीहरु आउनु भएको छ भने तपाईंहरु पनि आउनुस्, म पनि त्यही कार्यक्रममा आउँछु भनेको हुँ । तर उहाँहरुले के गर्नु भयो उहाँहरुलाई नै थाहा होला ।’ आफ्नो गृहजिल्ला र गृह नगरले आयोजना गरेको कार्यक्रममा औपचारिक खबर आएपछि गएको उनले बताए ।

आफूलाई पार्टीले मिसन ग्रासरुट कार्यक्रमकै लागि पठाएकाले आधिकारिक कार्यक्रम आफ्नै भएको नेकपा एमालेकी पोलिटब्यूरो सदस्य गौरी ओलीले बताइन् । ‘पार्टीमा बसिरहने तर विधिविधान नमान्नेलाई कारबाही गरिन्छ,’ उनले भीम रावलतर्फ संकेत गर्दै भनिन् , ‘साँफेबगरमा जे घटना घट्यो त्यो केन्द्रमा स्पष्ट रिर्पोटिङ हुन्छ ।’ पार्टीको ब्यानरमा छुट्टै कार्यक्रम गर्ने कार्य विधि विधान विपरित भएको उनले बताइन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा