गौरा तथा तिजको अवसर पारेर वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने
धनगढी,१३ भदौ । मेची महाकाली जागरण अभियान भारतले गौरा तथा तिजको अवसर पारेर वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीहरुलाई सांस्कृतिक कार्यक्रम मार्फत आफ्नो संस्कृतिका बारेमा अभिप्रेरित गराउन कार्यक्रम आयोजना गरिएको हो ।
सुदूरपश्मिेलीहरुको मौलिक एवं सांस्कृतिक पर्व गौरा तथा हिन्द्ु नेपाली नारीहरुले विशेष रुपले मनाउने तिजको अवसर पारेर यही भदौ २४ गते अर्थात सेप्टेम्बर १० मा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष मदन धामी कुशलले जानकारी दिनुभयो । मेची महाकाली जागरण अभियानले यस अघि पाँच पटक भारतको हरियाणा राज्यको फरिदावादमा सांस्कृतिक कार्यक्रम सफलता पुर्वक गरिसकेको छ । अध्यक्ष धामीले भने, ‘कार्यक्रमका लागि प्रमुख अतिथि लगायत अतिथि र कलाकारहरुलाई निमन्त्रणा भइसकेको छ । लगभग सबै तयारी पुरा भएको छ, हलको बन्दोबस्त गरिसकेका छौ । कार्यक्रम भव्य रुपमा सम्पन्न हुनेमा ढुक्क छौं ।’
सांस्कृतिक कार्यक्रम भारतको हरियाणा राज्यको फरिदावाद शहरमा हुने र कार्यक्रममा चर्चित लोक तथा लेउडा गायिका गौरी भट्ट, जनवादी देउडा गायक धर्मरमज न्यौपाने, लोकप्रिय मोडल झरना बोहरा, गायक सुनिल नेपाली, गोविन्द पौडेल लगायतको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्व र तिज पर्व सम्बन्धीका गित तथा नृत्य मुख्य आकर्षकका रुपमा रहेने आयोजकले जनाएको छ । कार्यक्रम हुने स्थान दौलत राम धर्मशाला, एन आइ टी, बस स्टेन्ड फरिदाबाद, निलम चोक नजिक अजरौदा मेट्रो स्टेशन रहेको छ ।
मेची महाकाली जागरण अभियान स्व।किशन बोहराको अगुवाईमा केही वर्ष पहिला फरिदावाद र दिल्लीमा रहेका श्रमिक नेपालीसंगको छलफलपछि स्थापना भएको थियो । नेपालका राजनीतिक दलहरुका प्रवासी संगठनहरु भारतमा रहेका अवस्थामा स्व।बोहराले राजनीति भन्दा माथि उठेर फरक संगठनमा रहेकालाई पनि संस्थामा अटाउने उद्देस्यले मेची महाकाली जागरण अभियानको स्थापना गरेका थिए । स्व। बोहराको स्वरोजगार बन्ने र समाजसेवा गर्ने लक्ष्य रहेको थियो । उहाँको अकस्मात श्वासप्रश्वासमा समस्या आएपछि झण्डै दुई वर्ष पहिला फरिदावादमै निधन भएको थियो ।