गेटाको होल्डिङ सेन्टरको वैकल्पिक प्रयोग हुन सकेन

August 31, 1:31

धनगढी,१४ भदौ । कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा कोरोना महामारीमा निर्माण गरिएको होल्डिङ सेन्टरलाई अन्य प्रयोजनमा प्रयोग गर्न सकिने सम्भावना भए पनि सम्बन्धित निकायले प्रयोगमा ल्याउन सकेको छैन। 

कोरोना सङ्क्रमितसहित भारतबाट फर्केकालाई राख्ने उद्देश्यले सो होल्डिङ सेन्टर निर्माण गरिएको थियो। होल्डिङ सेन्टरलाई अब के बनाउने भन्ने टुङ्गो लाग्न नसक्दा प्रयोगमा आउन नसकेको हो। २०७८ साल जेठमा निर्माण सकिएको एक हजार शय्याको होल्डिङ सेन्टर एक वर्षभन्दा बढी समयदेखि उपयोगविहीन छ। होल्डिङ सेन्टरका लागि बनेको संरचना प्रयोग गर्ने सवालमा अझै पनि कुनै टुङ्गो लाग्न नसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनले भने, “कसको जिम्मामा रहने, के बनाउने भन्ने केही टुङ्गो लागेको छैन। प्रयोगको सवालमा कुनै टुङ्गो नलागेकाले अझै त्यो नेपाली सेनासँगै छ। हस्तान्तरण भइसकेको छैन।”

कोरोना महामारीको बेला सङ्घीय सरकारको २८ करोड ८१ लाख १२ हजार रुपियाँ लगानीमा होल्डिङ सेन्टर निर्माण गरिएको हो। अहिले नेपालसहित विश्वमा कोरोना सङ्क्रमण छैन। कोरोना नभएकाले कोरोना सङ्क्रमितलाई राख्नका लागि बनाइएको ठुलो लगानीको संरचना अलपत्र छ। धनगढीस्थित नेपाली सेनाको भवानी दल गणको अनुगमन र व्यवस्थापनमा बनेकाले होल्डिङ सेन्टरको रेखदेख नेपाली सेनाले नै गर्दै आएको छ। २०७८ साल असार ३ मा निर्माणको ठेक्का पाएर हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर बनाएको हो। बडहरास्थित सामुदायिक वन क्षेत्रमा बनेको होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा चर्पी र १५ वटा डाइनिङ हलसहितको भान्सा  कोठा रहेका छन्। 

निर्माण पूरा भएको एक वर्षभन्दा बढी समय भइसक्दासम्म प्रयोगमा आउन नसकेको होल्डिङ सेन्टरको रङ खुइलिन थालेको धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए । उनले बनेका संरचनाको संरक्षण गर्न आवश्यक रहेको औँल्याउँदै भने, “पश्चिमतिर मोहना नदीले कटान गर्न सक्ने खतरा छ। तटबन्ध गरेर संरक्षण गरिनु पर्दछ।”

होल्डिङ सेन्टर संरक्षणका लागि तटबन्ध निर्माण गर्न ठुलो बजेट आवश्यक पर्ने भन्दै उनले संरक्षण र प्रयोग नगरिए राज्यको लगानी खेर जाने बताए ।  
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा