बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय बन्द
धनगढी / बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ । भाइरल ज्वरो र रुखाखोकीले बालबालिकाहरू विरामी पर्न थालेपछि रुडीस्थित माझपाटा आधारभुत विद्यालय बन्द गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक दानबहादुर धामीका अनुसार विद्यालय ब्यवस्थापन समितिको बैठक गरेर सोमबारदेखि माघ १९ गतेसम्म चार दिन विद्यालय बन्द गरिएको सुचना टाँस गरेको छ । उक्त विद्यालयमा एकपछि अर्को विद्यार्थी धमाधम विरामी पर्न थालेपछि संक्रमण फैलिन नदिन विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रधानाध्यापक धामीको भनाइ छ ।
स्थानीयका अनुसार एक साताअघि स्वामीकार्तिक गाउँपालिकाकै जुकोटमा रहेको शम्भुसुनन्दा माध्यमिक विद्यालयमा पनि भाइरल ज्वरोको प्रकोप देखिएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख महेश चन्दले जिल्लामा कुनै जानकारी नगराएको बताए । स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले संक्रमण प्रभावको अवस्था बुझ्ने क्रममा रहेको बताए ।