नेपालमा लकडाउन जेठ ५ गतेसम्म थपियो
धनगढी, वैशाख ४ - सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
जारी लकडाउन वैशाख २५ गते भोली समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेको र छिमेकी देश भारतले पनि मे १७ सम्मका लागि लकडाउन बढाएकाले सरकारले लकडाउन लम्ब्याएको हो ।
नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने तीमध्ये २२ जना निको भएका छन् । चैत ११ मा लकडाउन सुरु हुँदा नेपालमा दुई जना मात्र संक्रमित थिए ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश एकमा ३१, प्रदेश २ मा १३, वाग्मतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।