संसद रावललाई राजीनामा फिर्ता लिन दबाब
काठमाडौंः एमाले नेता भीम रावलले संसदको सदस्यबाट राजीनामा दिएका छन्। एमालेका नेता सुरेन्द्र पाण्डेले राजीनामा रोक्दारोक्दै उनले राजीनामा पत्र पत्रकारहरुसामू पढेर सुनाएका थिए।
तर, हालसम्म उनको राजीनामा स्वीकृत भने भएको छैन। उनलाई राजीनामा फिर्ता लिन एमालेको दबाब दिँदै आएको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको केन्द्रीय कमिटी बैठकमा रावलले हतारिएर राजीनामा दिएको भन्दै फिर्ता लिनुपर्ने बताएका छन्। ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिएपनि त्यो आवश्यक नरहेको बताएका हुन्।
यस्तै एमालेका प्रवक्ता प्रदीप ज्ञवाली र एमाले नेता वामदेव गौतमले पनि रावलको राजीनामा ठीक नभएको प्रतिक्रिया दिएका छन्। तर, राजीनामा फिर्ता लिने वा नलिनेबारे रावलले कुनै प्रतिक्रिया दिएका छैनन्।
रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि आइतबार सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा पत्र बुझाएका थिए।