टिकटक र फेसबुकले प्रख्यात बनायो बगलेकलाई, दैनिक सयभन्दा बढी आन्तरिक पर्यटक जान्छन् घुम्न

baglek_ma_ghumdai_paryatak
baglek_ma_ghumdai_paryatak
August 22, 8:30

डोटी : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका-२ स्थित बगलेक क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ।

यहाँ दैनिक १०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन्। सामाजिक सञ्जाल टिकटक र फेसबुकको माध्यमबाट प्रचारमा आएको उक्त क्षेत्रमा रमाउन टाढाटाढाबाट मानिसहरु पुग्न थालेका छन्। अन्य दिनको तुलनामा शुक्रवार र शनिवार यहाँ ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेका छन्।

अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न यस क्षेत्रमा पुगेको बताएका छन्। आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि यहाँ व्यापार व्यवसाय पनि फस्टाउँदै गएको स्थानीयवासी सुनिल विकले बताए।

उनले भने, ‘पहिले हाम्रा गाउँमा फलेका साग तरकारी र फलफूल किन्ने मान्छे नहुँदा बारीमै कुहिने गरेका थिए, अहिले बगलेकमा आन्तरिक पर्यटक आउन थालेपछि बिक्री हुन थालेको छ, यसबाट राम्रै आम्दानी हुने गरेको छ।’

पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा बगलेकसम्म सडक कालोपत्र भएका कारण यात्रामा सहज हुने भएकाले पनि पर्यटक भित्रिन थालेको बताइएको छ। आन्तरिक पर्यटक धमाधम भित्रिन थालेपछि अहिले बगलेकमा होटेल तथा पसल पनि खुल्न थालेका छन्। यहाँका व्यापारीलाई दैनिक स्थानीय खाद्य परिकार तथा सामग्री बिक्री गर्न भ्याइनभ्याइ भएको बगलेकमा होटेल सञ्चालन गरेकी कलाकुमारी साउँदले बताइन्।

उनले भनिन्, ‘गाउँको लोकल खानेकुराको अडर गर्ने धेरै आउँछन, हामीलाई स्थानीय परिकार पकाउन र बिक्री गर्न भ्याइनभ्याइ छ।’

पर्यटकलाई घुम्नका लागि सो क्षेत्रमा घोडाको पनि व्यवस्था छ। घोडा सफारी गर्ने भएकाले पनि यहाँ आन्तरिक पर्यटकको संख्या बढ्दै गएको बताइएको छ। यहाँ घुम्न आउने पर्यटकका लागि स्थानीयवासीले तीन वटा घोडाको व्यवस्था गरी घोड्चडी गराउने गरेको घोडा सञ्चालक विक्रम कामीले बताए।

उनले भने, ‘पहिले पहिले हामीले घोडामा सरसामान बोक्ने गरेका थियौँ, अहिले पर्यटकको मागबमोजिम घोडचडीको पनि व्यवस्था गरेका छौँ, उक्त व्यवसाय राम्रै चलेको छ।’

यस व्यवसायबाट दैनिक दुईदेखि तीन हजार रुपैयाँसम्म कमाउने गरेको उनको भनाइ छ।

एक पटकमा एउटा पर्यटकले घोडचडी गरेबापत १०० रुपैयाँ लिने गरेको र घोडा चढेर मात्रै फोटो लिएबापत ५० रुपैयाँ लिने गरेको घोडा सञ्चालक बताउँछन्। घोडा चढ्नकै लागि भएपनि आन्तरिक पर्यटक बढी भित्रिन थालेकाले अरु घोडा थप्ने योजना बनाइएको अर्का घोडा सञ्चालक रमेश विकले बताए।

उनले भने, ‘बगलेक घुम्न आउने अधिकांशको पहिलो रोजाइ घोडा भएकाले हामीसँग भएका तीन घोडाले नधानेका कारण थप घोडा ल्याउने योजना बनाएका छौँ, निकट भविष्यमै थप घोडाको व्यवस्था गरिने छ।’

घोडामा चढ्न रमाउनेमा पुरुषभन्दा महिला पर्यटकको संख्या बढी भएको स्थानीयवासी बताउँछन्। बगलेकमा दिनभरि रमाउने र पिकनिक गर्ने ठाउँ भएका कारण पनि त्यहाँ आन्तरिक पर्यटक जान बढी रुचाउने गरेको यहाँ घुम्न आएकी बोगटान फुड्सिल गाउँपालिकाकी मानवी बमले बताइन्।

उनले भनिन्, ‘अग्लो डाँडामा भएकाले यो ठाउँ निकै रमणीय छ, हामी पनि ग्रुप बनाएर गयौँ, निकै आनन्द भयो, यहाँ दिइने घोडचडी सेवाले झनै आनन्द आयो।’

यस क्षेत्रलाई ‘मिनी खप्तड’ पनि भन्ने गरिन्छ। खप्तडकै जस्ता फाँट भएका कारण बगलेक क्षेत्रलाई ‘मिनी खप्तड’ भनिने गरेको र तीनै फाँटको अवलोकन गर्नका लागि भए पनि आन्तरिक पर्यटक आउने गरेको पूर्वीचौकी गाउँपालिका-२ कुडासैनका भीमबहादुर विष्टले बताए।

उनले भने, ‘बगलेकबाट चारैतिरको मनोरम दृष्य अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा परेको हो।’

पर्यटकको संख्यामा वृद्धि भएसँगै यहाँ केही भौतिक संरचनादेखि अन्य सेवा सुबिधा थप गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

बगलेकको उच्च डाँडाबाट छिमेकी मुलुक भारतको टनकपुर तथा सुर्खेत जिल्लाका विभिन्न ठाउँ पनि अवलोकन गर्न सकिने भएकाले निकै रमणीय तथा आनन्ददायी हुने गरेको स्थानीयवासी तथा सञ्चारकर्मी नारद नेपालीले बताए।

उनले भने, ‘बगलेक भौगोलिक हिसाबले निकै रमणीय ठाउँ छ, त्यहाँबाट कर्णाली प्रदेशको सुर्खेतदेखि भारतका विभिन्न शहरका दृष्य सहजै अवलोकन गर्न सकिने भएकाले एक पटक आएको मानिस अर्को पटक पनि आउने गर्छन्।’

जिल्ला सदरमुकाम सिलगढीबाट २० मिनेटको गाडी यात्रामा पुगिने भएकाले पनि त्यहाँ दैनिकजसो आन्तरिक पर्यटक जाने गरेको शैलेश्वरी यातायात प्रालीका प्रमुख प्रेमबहादुर रावलले बताए।

उनले भने, ‘बगलेकसम्म सडक कालोपत्र भएको छ, सदरमुकामबाट नजिकै भएकाले पनि आन्तरिक पर्यटक रमाइलो गर्न जाने गरेका हुन्।’

पूर्वाधार विकास गर्ने योजना

आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुन थालेपछि पूर्वीचौकी गाउँपालिकाले यस क्षेत्रमा पूर्वाधार विकास गर्ने योजना बनाएको छ। पर्यटकको संख्या वृद्धि भएपछि यहाँ पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।

पिकनिक स्पटको विकास गर्ने, वनजङ्गल तथा वन्यजन्तुको संरक्षण गर्ने, आवश्यक भौतिक पूर्वाधार निर्माण गरेर यस क्षेत्रको व्यवस्थित विकास गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ। रासस

 

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा