कांग्रेस पदाधिकारी बैठक आज बस्दै
काठमाडौं, ६ भदौ । नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज बस्दै छ । दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल हुनेछ ।
हिजो बसेको सत्ता गठबन्धनको बैठकमा तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । प्रधानमन्त्री देउवाले नेता डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गर्नुभएको छ । तर कांग्रेसकै संस्थापन इतर पक्ष भने देउवाको यो निर्णयमा सहमत छैन ।
यसैले पार्टी बैठकबाटै मन्त्री नियुक्तीको निर्णय गराउन आज बैठक बोलाईएको अनुमान गरिएको छ । संभव भएसम्म डा। खड्कालाई आजै पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ । त्यसलगत्तै उहाँ राष्ट्रसंघको महासभामा भाग लिने न्युयोर्क जाने बुझिएको छ ।
कांग्रेसको पदाधिकारी बैठकमा महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिबारे पनि निर्णय हुनेछ । प्रदेश नं। २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण अझै सार्वजनिक हुन नसकेका कारण ती जिल्लामा वडा अधिवेशन हुन सकेको छैन ।