दोधारा–चाँदनीलाई तटबन्धकै भर
कञ्चनपुर — बर्खा सुरु हुनुभन्दा अगाडि नै गाउँलेहरू मिलेर ढुंगा जम्मा गर्थे । महाकालीको बाढी बस्ती पस्न थालेपछि सबै गाउँले भेला हुन्थे । तिनै ढुंगा नदी किनारमा तारजाली र प्लास्टिकका बोरामा भर्थे ।
सबैले घरहरू अग्ला बनाएका थिए । केहीले रूखमै मचान बनाएका थिए । बाढी पसेपछि त्यही मचानमा उक्लिन्थे । कतिपय रूखमै चढेरसमेत ज्यान जोगाउँथे ।
त्यतिबेला दोधारा–चाँदनीवासीको एउटै माग हुन्थ्यो, महाकाली किनारमा तटबन्ध । विद्यालय, सडक आदिको कुरा आउँदा पनि यहाँका स्थानीयले तटबन्धकै माग गर्थे । पटक–पटकको बाढीले बस्ती तहसनहस पारेकाले उनीहरू बर्खामा सधैं त्रसित हुन्थे । २०२० देखिकै बस्ती भए पनि तटबन्ध निर्माण नहुँदासम्म यहाँका स्थानीयले पक्की घर निर्माण गरेका थिएनन् । अधिकांशले फुसको छाना र जस्तापाताले छाएर घर बनाएका थिए ।
महाकाली नदी किनारमा तटबन्ध निर्माण हुनुभन्दा अगाडि बर्सेनि बस्तीमा बाढी पस्थ्यो । गाउँलेहरू रातभरि टर्च बालेर नदी किनारमै बस्थे । २०५१ मा जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था जाइकाले सुरु गरेर नेपाल–भारत सीमा बयलबन्धदेखि दोधाराको ढकनाघाटसम्मै २१ किलोमिटर तटबन्ध निर्माण गरेपछि यहाँ बाढीको त्रास कम भएको थियो । उक्त तटबन्ध जीर्ण बन्दै गएपछि दोधारा–चाँदनीवासी फेरि चिन्तित हुन थालेका छन् ।
‘पञ्चायतकालमा रातभरि नसुतेर श्रमदान गर्थ्यौं, त्यसरी बस्ती जागिन्थ्यो,’ दोधारा–चाँदनी नगरपालिकाका नगर प्रमख वीरबहादुर सुनारले भने, ‘जाइकाले बाँध बाँधेपछि केही राहत भएको थियो, बाँध जीर्ण भएपछि फेरि त्रास सुरु भएको छ ।’ कार्तिक पहिलो साता महाकालीमा आएको भीषण बाढी तटबन्धमाथिबाटै बस्तीमा पस्न थालेको थियो । केही ठाउँमा तटबन्ध कटान पनि गरेको छ ।
कात्तिक २ गते महाकालीमा पानीको बहाव हालसम्मकै उच्च ५ लाख ४७ हजार क्युसेक पुग्दा दोधारा–चाँदनीमा तटबन्धमाथिबाटै महाकालीमा पानीको बहाव हालसम्मकै उच्च ५ लाख ४७ हजार क्युसेक पुग्दा तटबन्ध माथिको पानी छल्किन लागेको थियो । धेरै ठाउँमा कटान पनि गरेको थियो । त्यतिबेला धेरैले पुरानै दिन सम्झिए । फेरि पुरानै दिन फर्किने हुन् कि भन्ने धेरैको मनमा खेल्न थाल्यो । बाढी कम हुँदै गएपछि सबैले राहत महसुस गरे ।
तीन दशकअघि निर्माण भएको तटबन्ध जीर्ण भइसकेका कारण फेरि यस्तै ठूलो बाढी आए दोधारा–चाँदनी पूरै सखाप हुने नगर प्रमुख सुनार बताउँछन् । यहाँ आउने मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबैसँग फेरि पुरानै माग उठ्न थालेको छ । जनप्रतिनिधिदेखि स्थानीय सबैले महाकाली किनारमा तटबन्धकै माग गर्न थालेका छन् ।
महाकालीको बाढीले गरेको क्षतिका निरीक्षणका लागि कात्तिक ४ मा दोधारा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नगर प्रमुख सुनारले तटबन्धकै माग गरे । जाइकाले बनाएको तटबन्धका तारजालीहरू खिया लागिसकेको र निकै होचो पनि भएका कारण यसको मर्मतसँगै अग्लो तटबन्ध निर्माण गर्नुपर्ने उनले माग राखेका थिए । दोधारा–चाँदनीमा २०२० देखि बस्ती बिस्तार सुरु भएको हो ।
सुरुका वर्षमा वन जंगल भएका कारण महाकालीको बाढी बस्तीमा पस्दैनथ्यो । जब रूखहरू काटेर बस्ती विस्तार भयो, कटान पनि बढ्न थाल्यो । ‘बाक्लो बस्ती विस्तार भएपछि यहाँ बाढीको त्रास पनि बढेको हो,’ राष्ट्रिय पञ्चायत सदस्यसमेत भएका दोधारा–चाँदनीका स्थानीय इन्द्रबहादुर केसीले भने, ‘तटबन्ध बन्नुअघिसम्म दोधारा–चाँदनीको बस्ती टापु जस्तै थियो, बर्खामा बल्लो गाउँबाट पल्लो गाउँ जान डुंगाको प्रयोग गर्नुपर्थ्यो ।’ उनका अनुसार महाकालीका भँगालाहरू दोधारा–चाँदनीका बस्ती भएरै बग्ने गर्थे । आफू प्रधानपञ्च भएका बेला भारतबाट टिपरहरू ल्याएर बाँध निर्माण गरेको उनले बताए ।
२०४४ सालमा बाँध निर्माण गरेपछि कमजोर भएका कारण महाकालीको बाढीले ठाउँठाउँमा उक्त बाँध भत्काएर बस्तीमा पस्थ्यो । नेपाल–भारत सीमा क्षेत्रबाटै बाढी बस्तीमा पस्ने गरेको थियो । जाइकाले त्यसैमाथि तारजालीसहितको तटबन्ध निर्माण गरेपछि उक्त क्षेत्रमा बाढीको जोखिम कम भएको हो । महाकालीको बगर बस्तीभन्दा अग्लो बनेको छ । अनियन्त्रित ढंगले निर्माण सामग्री उत्खनन हुँदा नदीको बीच भाग पहाडको थुप्रो जस्तै बनेको छ । नदीको दुवैतिर होचो बन्दै गएको छ । त्यही भएर पनि नदी बस्तीतर्फ पस्ने जोखिम बढेको छ ।
‘सुरुमा यहाँ बसाइँ सरेर आएकाहरू बाढीकै कारण विस्थापित भइसके,’ दोधारा–चाँदनीकै स्थानीय रामदत्त जोशीले भने, ‘फेरि पनि बलियो तटबन्ध निर्माण नभए त्यस्तै अवस्था आउँछ ।’ उनका अनुसार २०५० सम्म पनि बाढीकै कारण स्थानीयले पक्की घरहरू बनाएका थिएनन् । जाइकाले तटबन्ध निर्माण गरेपछि पक्की घरलगायत अन्य संरचनाहरू निर्माण भएका हुन् ।
करिब ५७ वर्गकिलोमिटर क्षेत्रफल रहेको दोधारा–चाँदनीमा २०६८ को गणनाअनुसार ३९ हजार जनसंख्या छ । अहिले यहाँको जनसंख्या बढेर ५० हजार पुगेको अनुमान छ । यहाँ १५ हजार बढी घर परिवारको बसोबास छ । हरेक संसदीय निर्वाचनमा दोधारा–चाँदनी निर्णायक हुने गरेको छ । यहाँका अधिकांश युवाहरू रोजगारीका लागि भारततर्फ जाने गरेका छन् । धान, गहुँ र तरकारीलगायतको उत्पादन निकै राम्रो हुने गरेको छ ।
जाइकाले तटबन्ध निर्माण गर्दा ढकनाघाटमा भारतीय पक्षले अवरोधसमेत गरेको थियो । नेपालतर्फ तटबन्ध निर्माण भएपछि भारतीय क्षेत्र डुबानमा पर्ने भन्दै अवरोध सिर्जना गरेको थियो । माथिल्लो क्षेत्रका तुलनामा होचो तटबन्ध बनाउने सहमतिपछि निर्माण सुचारु भएको थियो । अहिले उक्त क्षेत्रबाट समेत बाढी पस्ने खतरा रहेको स्थानीय बताउँछन् । ‘अब पनि महाकाली किनारमा बलियो तटबन्ध नबने दोधारा–चाँदनीको भविष्य छैन,’ नगर प्रमुख सुनार भन्छन्, ‘अहिलेको जस्तै बाढी आए केही बाँकी रहँदैन ।’