अफगानका नागरिकलाई रोक्न नाकामा कडाइ
कञ्चनपुर, १६ कार्तिक । भारतीय बाटो हुँदै अफगान नागरिक भित्रिन सक्ने भन्दै कञ्चनपुरका नाकाहरुमा कडाइ गरिएको छ । गड्डाचौकी र गौरीफन्टा नाकामा भारतबाहेक तेस्रो मुलुकका नागरिक भित्रिन सक्ने भएकाले कडाइ गरिएको प्रहरीले जनाएको छ ।
अफगान र रोहिंग्या शरणार्थी भित्रिन सक्ने भएकाले केही दिनदेखि कडाइ गरिएको सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं। गणका एसपी वीरेन्द्र ऐरले बताए । भारतीय नागरिकको हकमा यसअघि नै पीसीआर परीक्षण अनिवार्य गरिएको छ ।
गृह मन्त्रालयले भारतीय नागरिकका लागि समेत नेपाल प्रवेशमा परिचयपत्र अनिवार्य गरे पनि मातहतका निकायमा निर्देशन आएको छैन । ‘स्वास्थ्य मापदण्ड पालना गरेर भारतीय नागरिकलाई आउन दिने भनिएको छ, त्यसअन्तरगत पनि परिचयपत्र स्वतस् खुल्छ,’ उनले भने, ‘परिचयपत्रकै लागि छुट्टै निर्देशन केही आएको छैन ।’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीले शंका लागेका व्यक्तिलाई परिचयपत्र हेरेर मात्रै भित्रिन दिइरहेको बताए । ‘भारतीय नागरिकको हकमा कडाइ गरिएको छ,’ उनले भने, ‘गड्डाचौकी र गौरीफन्टा दुवै नाकामा परिचय पत्र हेर्ने काम पनि भइरहेको छ ।’
गृह मन्त्रालयबाट यसबारे परिपत्र नआए पनि कडाइ गर्न निर्देशन आएको उनले बताए । उनका अनुसार तेस्रो मुलुकका नागरिक छिर्न नदिन भित्रि नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म कञ्चनपुरका कुनै पनि नाकामा अफगान र रोहिंग्या शरणार्थी नभेटिएको एसपी चतुर्वेदीले बताए ।
‘परिचयपत्रको आधिकारिक जानकारी केही आएको छैन,’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले भने, ‘कोभिड १९ संक्रमण बढ्दो क्रममै रहेकाले जाँचमा कडाइ गर्न र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन आएको छ ।’ उनले सोही निर्देशनअनुसार नाकामा पनि स्वास्थ्य मापदण्डको पालना भइरहेको बताए । कोरोना संक्रमण सुरु भएदेखि नै नाकामा आउजाउ गर्नेको परिचयपत्र हेर्ने काम भइरहेको भण्डारीले बताए ।