सुशीला मिश्र भट्टको राजनीतिक यात्रा : नेविसंघ देखि काँग्रेस केन्द्रीय सदस्यसम्म 

Sushila
Sushila
December 28, 8:40

धनगढी – नेपाली काँग्रेसको राजनीतिमा आफू कति बेला समाहित भएछु भनेर ठ्याक्कै भन्ने समय सीमा उनीसँग छैन । तर ‘तोते’ बोलीमा पनि राजनीतिक पार्टीको नाम उच्चारण गर्दा नेपाली काँग्रेस उच्चारण गरिएको सम्झना उनको मानसपटलमा अहिले पनि जीवितै छ । प्रतिबन्धित नेपाली काँग्रेसको राजनीतिक यात्रामा पार्टीले बोकेको दमन विरोधी अठोटले सुशीला मिश्र भट्टलाई पनि आफैतिर तान्यो । पञ्चायत कालपछि भट्टले चालेका हरेक महत्त्वपूर्ण कदमले पार्टीलाई थप गतिशील बन्न सघाउने उनको जिम्मेवारी अहिले पार्टीको केन्द्रीय सदस्यसम्म पुगेको छ । 
भर्खरै सम्पन्न नेपाली काँग्रेसको महाधिवेशनबाट धनगढी उपमहानगरपालिकाकी उप–प्रमुख समेत रहेकी भट्ट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । प्रखर वक्ताको पहिचान उनको प्रमुख विशेषता हो । डोटी पुर्ख्यौली घर भएर धनगढी ५ लाई स्थायी बसोबास बनाएकी उनी विद्यार्थी कालदेखि नै राजनीतिमा लागिन् । विद्यार्थी कालकै सक्रियताले वि.सं. २०४३ सालमा उनी कैलाली बहुमुखी क्याम्पसमा स्ववियु कोषाध्यक्ष  भइन् । त्यसपश्चात् नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य, नेपाली काँग्रेसकी केन्द्रीय प्रशिक्षक र पछिल्लो पटक सम्पन्न स्थानीय तहको ऐतिहासिक निर्वाचनमा धनगढी उपमहानगरपालिकामा उप–प्रमुखको महत्त्वपूर्ण जिम्मेवारीमा रहेर उनले काम गर्दै आएकी छन् ।  नेपाली काँग्रेसको शुभेच्छुक संस्था ट्रेड युनियनको केन्द्रीय कमिटीमा रहेर काम गरेको अनुभव समेत उनीसँग छ । 
भौतिकसँगै सामाजिक विकासलाई बढी प्राथमिकतामा राखेर काम गर्नुपर्ने दृढतासहित अघि बढेकी भट्टको पहिलो उपमेयर कार्यकालमा नै धनगढी उपमहानगरपालिका कार्यसम्पादनका हिसाबले देशभरमै उत्कृष्ट समेत बनेको थियो । 
पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनले नेपाली काँग्रेसलाई थप सशक्त बनाएर एक ढिक्का पार्ने र महिला नेतृत्वलाई मूल प्रवाहीकरणमा ल्याउन भूमिका खेल्ने बताएकी छन् । केन्द्रीय सदस्यमा निर्वाचित भइसकेपछि धनगढी आएर स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै उनले भनिन्, ‘अब देश भरी नै नेपाली काँग्रेसलाई विजयी गराउन म अग्रसर हुने छु । प्रशिक्षणको माध्यम मार्फत लोकतन्त्र देशभरका लागि किन आवश्यक छ ? र नेपाली काँग्रेसको मूल मर्म के हो ? भनेर बुझाउने मेरो पहिलो कर्तव्य हुने छ ।’, उनले अगाडी थपिन्, महिलाहरूको नेतृत्वदायी भूमिकाका लागि मेरो अग्रसरता रहने छ । बढी भन्दा बढी महिलाहरूलाई क्रियाशील हुन र युवा महिलाहरूलाई पार्टी भित्र ल्याउनुका साथै उहाँहरूलाई प्रशिक्षणका माध्यम मार्फत निर्वाचन र त्यसको सफलतासम्मको जागरण ल्याउने मेरो घोषणा यस अघि नै सार्वजनिक भइसकेको छ । अब म त्यसमा केन्द्रित हुन्छु ।’
काठमाडौँबाट फर्किएपछि धनगढीस्थित आफ्नै निवासमा सोमबार भेटघाट कार्यक्रममा बोल्दै उनले आगामी स्थानीय तहको चुनावमा पुनः उपमेयर पदमा नदोहोरिने घोषणा समेत गरेकी छन्। ‘पुनः उप–मेयर बाहेक पार्टीले आफूलाई सक्रिय ठानेर जुन जिम्मेवारी दिन्छ‚ त्यस ठाउँमा रहन्छु,’ उनले भनिन् । अहिले नै यो र उ पदका लागि उठ्ने भनेर कुनै सोच नबनाएको उनले बताइन् । पार्टीलाई सशक्त, लोकप्रिय र सबै जनताको पार्टी बनाउन आफू कटिबद्ध भएर लाग्ने उनको भनाइ छ । उपमेयर भट्ट नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सुदूरपश्चिमबाट महिला कोटामा केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा