कैलालीमा हत्याको श्रृङ्खला बढ्दै

news
news
December 20, 3:31

धनगढी,५ पुस । कैलालीमा गत कार्तिक २३ गते लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या  भयो । आपराधिक समूहमा क्रियाशील व्यक्तिले टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक उनको हत्या गरे ।

घटनामा संलग्न रहेको आरोपमा नौ जना व्यक्ति पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् भने नौ जना फरार छन् । भूपेन्द्रको हत्या हुनु एक हप्ता अगाडिमात्रै टीकापुर नगरपालिका–८ कालिमाटीका १८ वर्षीय अनुप साउँदको हत्या गरेका भएको थियो । भजनी नगरपालिका–३ थेकीपुरका १८ वर्षीय किरण साउँदले हत्या गरेका थिए । कालिमाटीमा दुवै जनाबीच झगडा हुँदा किरणले अनुपलाई चक्कु प्रहार गरेका थिए । हत्या गर्ने व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो ।

सो घटनाको एक हप्तापछि भूपेन्द्रको हत्या भएको थियो । भूपेन्द्र बडुवाल हत्या काण्ड सेलाउन नपाउँदै जिल्लाको पूर्वी क्षेत्रमै फेरि अर्को विभत्स हत्या भएको छ । जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको विभत्स हत्या गरिएको हो । जिल्लाको पूर्वी क्षेत्रमा श्रृङ्खलावद्ध रुपमा हत्या भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार दासको हत्या जानकी गाउँपालिका वडा नम्बर ९ स्थित अमरावती सामुदायिक वनमा करिब १ किलोमिटरभित्र घाँटी रेटेर टाउको छिनालिएको अवस्थामा भेटिएको छ ।

उनले भने, ‘रुखमा बाँधिएर नग्न बनाइएको छ । दुईवटै हात समेत पछाडि पारेर बाँधिएको छ । पछि घाँटी रेटेर टाउको छिनालिएको देखिन्छ ।’ सामान्य परिवारका दास पुस २ गते साँझ घरबाट निस्केका थिए । राति घर नफर्केका दास पुस ३ गते दिउँसो स्थानीय घाँस काट्ने महिलाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली अनुसन्धानमा जुटेको छ ।

कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीसहित प्रहरी टोली अनुसन्धानको लागि पुस ३ गते बेलुकी नै तालिम प्राप्त कुकुरसहित घटना स्थल पुगेर फिर्ता भएको छ । त्यस्तै, प्रहरीले मृतकका परिवारजनबाट अडियो रेकर्ड फेला पारेको हो । सो अडियो रेकर्डबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । ‘हामी अनुसन्धानमै छौ । डग स्निफिङ गरायौँ । अडियो रेकर्डसहित केही क्लु फेला परेको छ । हामी शंकास्पद व्यक्ति उप्पर अनुसन्धान बढाएका छौँ ।’ 

स्थानीयका अनुसार मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् । उनी पनि भारत आउने जाने गर्दै आएका थिए । करिब ३ हप्ता अगाडि उनी भारतबाट फर्किएका थिए । यहाँ उनका श्रीमती, छोरी र भाउजुसहित रहेका थिए ।
दुई जनाबीचको सम्वादमा हत्या स्वीकार
अर्जुन दासको विभत्स हत्यासंग सम्बन्धित प्रहरीलाई मिलेको अडियोमा दुई व्यक्तिबीच सम्वाद भएको छ । जुन, सम्वाद युवकको हत्यापछि फोनमा गरिएको हो । अडियो रेकर्डमा आफूलाई मनोज नामले चिनाएका युवकले अर्का व्यक्तिसंग घटनाको बारेमा कुरा गरेका छन् । उनले घाँटी र शरीर अलग पारेको भन्दै भनेका छन्–‘दाई उसको घाँटी अलग छ । शरीर अलग छ । एक/दुई दिनभित्र थाहा पाइहाल्नु हुन्छ ।’ 

उनले हत्या गरेर आफू रुपैडिया हुँदै भारतको बेङ्गलोरका लागि हिडेका सम्वादको क्रममा बताएका छन् । प्रहरीले सो अडियो रेकर्ड मनोजको श्रीमतीको साथबाट फेला पारेको हो । उनको श्रीमतीलाई मेसेन्जरमा पठाइएको जनाइएको छ । प्रहरीका अनुसार आफूलाई मनोज भनेर चिनाउने व्यक्ति मृतककै छिमेकी मनोज भण्डारी हुन । उनी फरार रहेको प्रहरीले जनाएको छ ।

घटनामा ४/५ जनाको संलग्नता रहेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जनाए । उनले शङ्कास्पद् एक व्यक्ति पक्राउ परेको र अरुको खोजी भइरहेको जानकारी दिए । 

यसैबीच, मृतकका आफन्त र छिमेकीले दोषी पक्राउको माग गर्दै शव उठाउन दिएका छैनन् । उनीहरुले दोषीलाई पक्राउ गरेर कडा कारबाही गर्न माग गरेका छन् । पुस २ गतेदेखि सम्पर्कमा नरहेका दासको शनिबार विभत्स रुपमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । केही हप्ता अगाडिमात्रै कैलालीको मोहन्यालमा घोडाघोडी नगरपालिका–१ जनकपुरका एक व्यापारीको हत्या भएको थियो । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा