शाखा अधिकृतमा दिदीबहिनीले सँगै निकाले नाम, यसरी पढ्दा मिल्यो सफलता

news
news
February 03, 11:09

धनगढी,२० माघ कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का दुई दिदीबहिनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिहीवार शाखा अधिकृतको नियुक्ति पत्र पाउँदा निकै खुशी थिए ।पहिलो प्रयासमै नाम निकाल्न सफल भएका २६ वर्षीया पार्वती भट्ट र २५ वर्षिया वसन्ती भट्टले एकसाथ नियुक्ति र पदस्थापनको पत्र पाएका छन् ।

दुवै दिदीबहिनीले आ(आफ्नो हातमा नियुक्ति पत्र र पदस्थापनको पत्र पाएपछि एकअर्कालाई अँगालो हाल्दै खुशी साटासाट गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सामान्य प्रशासन समूहमा अतिरिक्ततर्फ उनीहरूको पदस्थापन गरिएको छ । मन्त्रालयले दिने तालिम सकिएपछि अर्को ठाउँमा पदस्थापन हुनेछ ।

दिदी पार्वती १९ वर्षको उमेर हुँदा नै लोकसेवा आयोगको जाँचमा पास भएर खरिदार बनेकी थिइन् । २०७२ सालको माघ ११ गते विविध सेवाअन्तर्गत खरिदारमा नाम निकालेकी थिइन् ।
चौथो तहको महिला विकास निरीक्षक पदमा काम गरिरहेकी उनी २०७४ सालमा समायोजन भएर स्थानीय तहमा गएपछि पाँचौं तह नायब सुब्बामा महिला विकास निरीक्षकमा बढुवा भएकी थिइन् ।

२०७६र०७७ सालमा शाखा अधिकृत पदका लागि लोकसेवा आयोगले विज्ञापन गरेपछि उनले फेरि पनि जाँच दिइन् र नाम निकाल्न सफल भइन् । अर्कातर्फ बहिनी वसन्तीले पनि २३ वर्षको उमेरमा २०७६ सालमा स्थानीय तहमा पाँचौं तहको महिला विकास निरीक्षक पदमा नाम निकालेकी थिइन् । त्यसपछि दुवै दिदीबहिनीको पदस्थापन कञ्चनपुरको बेलौरी नगरपालिकाको कार्यालयमा भएको थियो ।शाखा अधिकृतका लागि दुवै जनाले सँगसँगै तयारी गरेको उनीहरूले बताए । स्कूल पढ्दा पनि उनीहरूबीच एक कक्षाको मात्र ग्याप थियो । भिमदत्त नगरपालिकाको शान्ति निकेतन उच्च माध्यमिक विद्यालयमा पढेका उनीहरू विद्यालयमा हुने हाजिरी जवाफ प्रतियोगितामा दिदी प्रथम र बहिनी द्वितीय हुन्थे ।

‘जतिवटा समूह बनेपनि विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता हुँदा अन्तिममा हामी दुईजना दिदीबहिनी रहेको समूहबीच मात्र प्रतिस्पर्धा हुन्थ्यो,’ दिदी पार्वतीले भनिन्, ‘स्कूल पढ्दा पनि हामी दुईबीच आफैंमा प्रतिस्पर्धा हुन्थ्यो । सरकारी जागिर खाने बेला मैले पहिले नाम निकाल्न सफल भए पनि अहिले आएर दुवै जनाले एक साथ एकै दिन शाखा अधिकृतको नियुक्ति लिन पाउँदा दुवै बराबर भएका छौं ।’

बहिनी वसन्तीले दिदी पार्वतीको विषयगत ज्ञान र सरकारी जागिरको अनुभवको आफूलाई फाइदा पुगेको बताइन् । ‘हामी सँगै बसेर डिस्कसन गर्थ्यौं, समान शैक्षिक मेटेरियल पढ्थ्यौं,’ वसन्तीले लोकान्तरसँग भनिन्, ‘सँगै पढ्ने, सँगै ड्युटी जाने, सँगै डिस्कसन गर्ने गरेको हुनाले पनि दिदीसँग भएको विषयगत ज्ञान र अनुभव समेतको फाइदा मैले पाएँ ।’

बिहान बेलुका नियमित पढ्ने गरेका उनीहरूले परीक्षाअघि २५ दिन बिदा लिएर अध्ययन गरेका थिए । उनीहरू साधारण कृषक परिवारका हुन् । बुवा महादेव भट्ट र आमा जयमतीदेवी भट्ट साधारण किसान हुन् । दुई दाजु र चार दिदीबहिनी छन् । जेठो दाइ जीवन भट्ट अपाङ्गता अधिकारकर्मी हुन् भने अर्का दाजु पुष्पराज भट्ट डिभी लटरी परेर अमेरिकामा छन् ।जेठी दिदी जयन्ती भट्ट माध्यमिक तहको शिक्षक सेवा आयोगको जाँच पास गरेर शिक्षिका छिन् भने माइली दिदी विष्णा भट्ट नेपाली विषय लिएर स्नातकोत्तर अध्ययनरत छिन् । साँहिली पार्वती र कान्छी वसन्ती शाखा अधिकृत बनेका छन् ।

गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर ५ की ३१ वर्षीया सुशीला मरासिनीले दोस्रो पटकको प्रयासमा शाखा अधिकृतमा नाम निकालिन् । मन्त्रालयमा नियुक्ति पत्र र पदस्थापनको पत्र पाएपछि उनको खुशीको कुनै सीमा नै थिएन । यसअघि स्वास्थ्य सेवा विभागमा स्टाफ नर्सको रूपमा कार्यरत रहेकी उनी अब प्रशासन समूहतर्फ शाखा अधिकृत बनेकी छन् ।

२०७३ सालमा पनि उनले शाखा अधिकृतको जाँच दिएकी थिइन्, तर पहिलो पेपरमै अनुत्तीर्ण भइन् । त्यसपछि उनी स्टाफ नर्समा नाम निकालेर स्वास्थ्य सेवा विभागअन्तर्गत कान्ति बाल अस्पतालमा कार्यरत थिइन् ।

बिहीवार सामान्य प्रशासन मन्त्रालयमा भेटिएकी उनले लोकान्तरसँग भनिन्, ‘पहिलो प्रयासमा फेल भएको हुनाले पनि दोस्रो पटकको जाँच दिने बेला जाँचको २ महिना अघिसम्म २४ घण्टामध्ये ३ घण्टा मात्र सुत्ने गरेको थिएँ, २१ घण्टा जति निरन्तर फोकस भएर पढेकी हुँ ।’ अस्पतालमा काम गर्दा पनि ड्युटी समय मिलाएर पढ्नुका साथै २० प्रतिशत जति कोचिङको सिकाइले काम गरेको उनले बताइन् । ८० प्रतिशत भने आफ्नै मेहनत काम आएको उनको भनाइ छ ।

पर्वतको फलेबास नगरपालिका वडा नम्बर ३ की २५ वर्षीया गृष्मा शर्माले यसअघि पनि स्थानीय तहमा अधिकृतमा नाम निकालेर जागिर गरिरहेकी थिइन् । अहिले उनले संघमा शाखा अधिकृतमा नाम निकालेर बिहीवार नियुक्ति पत्र लिएकी छिन् । २०७६ सालमा नै शाखा अधिकृतमा नाम निकालेकी उनको शुरूमा चितवनको रत्ननगर नगरपालिकामा पदस्थापन भएको थियो। अन्ततः संघमै नाम निकाल्न पाएकोमा उनी निकै खुशी छिन् । पहिले पनि स्थानीय तहमा अधिकृत नै थिएँ, तर त्यहाँ स्थानीय तहमा मात्रै काम गर्नुपर्ने हुन्थ्यो, गाउँपालिकाको हाकिम पनि बन्न सकिन्नथ्यो,’ सिंहदरवारमा नियुक्ति पत्र लिएपछि उनले लोकान्तरसँग भनिन्, ‘अब त स्थानीय तहबाहेक अन्य जुनसुकै ठाउँमा पनि काम गर्न पाइने भयो । गाउँपालिकामा नै पोस्टिङ भयो भने त्यहाँ हाकिम समेत बन्न पाइने भयो ।’

स्नातक पास गरेदेखि नै तयारी शुरू गरेकी उनले भने ड्युटीबाहेकको समयमा १र२ घण्टा पढ्ने गरेको बताइन्। ‘जाँच आउनुअघि ४ देखि ५ महिनासम्म चाहिँ फोकस भएर १५ देखि १६ घण्टासम्म नै पढियो, परिणामस्वरूप नाम निस्कियो,’ शर्माले लोकान्तरसँग भनिन्।

सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर ९ की २६ वर्षीया तारा पोखरेल पनि राजश्व समूह अन्तर्गतको शाखा अधिकृत हुन पाएकोमा असाध्यै खुशी देखिएकी थिइन् । दोस्रोपटकको प्रयासमा उनले शाखा अधिकृतको जाँच पास गरेकी हुन् । ‘२०७४ सालमा पनि शाखा अधिकृत पदमा जाँच दिएकी थिएँ, तर नाम निस्किएन,’ उनले लोकान्तरसँग भनिन्, ‘तर अहिले दोस्रो प्रयासमा नाम निस्किएपछि बल्ल सपना पूरा भयो ।’

यसअघि २०७५ सालमा लोक सेवा आयोगको जाँच दिएर नायब सुब्बामा नाम निकालेपछि उनी मध्यपुर थिमी नगरपालिकाको वडा प्रशासकीय अधिकृतको रूपमा कार्यरत थिइन्। ‘अब शाखा अधिकृत भएपछि राजश्व अधिकृतको रूपमा काम गर्ने मौका पाउनु मेरो करियरका लागि पनि ठूलो कुरा हो,’ उनले लोकान्तरसँग भनिन्, ‘लकडाउनका बेला कार्यालयमा समेत बिदा भएका कारण त्यसको फाइदा उठाउँदै दिनरात नभनी तयारी गरियो, अन्ततः नाम निकाल्न सफल भइयो ।’कञ्चनपुरको बेलडाँडी गाउँपालिका – २ का २७ वर्षीय राजेन्द्रबहादुर विश्वकर्मा पनि शाखा अधिकृतको नियुक्ति पत्र लिएका बेला अत्यधिक खुशी देखिएका थिए । पहिलो प्रयासमै नाम निकाल्दा उनको खुशीको सीमा नै थिएन । यसअघि काठमाडौंकै कीर्तिपुरस्थित सिटिजन बैंकको शाखामा महिनाको ३० हजार रुपैयाँ तलब खाइरहेका उनले जसरी पनि लोकसेवा आयोगको जाँच पास गर्नुपर्छ भनेर जागिर छाडेका थिए ।

‘म पूर्णरूपमा बेरोजगार नै त थिइनँ, तर प्राइभेट जागिर गर्नुभन्दा पनि सरकारी जागिर गर्दा करियर सुनिश्चित हुन्छ भनेर जागिर छाडेर लोकसेवाको तयारी गरेको थिएँ,’ उनले लोकान्तरसँग भने, ‘२ वर्षदेखि तयारी गरेको हो, कोचिङ क्लासमा सरहरूले दिनुभएको लजिकल ट्रिक र अध्ययनका कारण नाम निकाल्न सफल भएको हुँ ।’

बिहीवार सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायअगाडि हातहातमा नियुक्ति पत्र र पदस्थापनको पत्र लिएर फोटो खिचाउने, सेल्फी लिने, एक अर्कासँग परिचय गर्दै खुशी साटासाट गर्नेहरूको घुइँचो नै थियो । सबै जनाको अनुहारमा गजबको मुस्कान देखिएको थियो। लोकसेवाको परीक्षा उत्तीर्ण भएर शाखा अधिकृतमा सिफारिश भएका ४ सय ४४ जनालाई बिहीवार नियुक्ति पत्र र पदस्थापन पत्र वितरण गरिएको छ ।

साभार  : लोकान्तर  डट कम

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा