जनगणनाको तथ्यांकले पालिकामा अन्योल

एक
एक
February 07, 1:25

अछाम,२४ माघ / राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार अछामका १० वटै स्थानीय तहमा जनसंख्या घटेको छ । जनगणनाको तथ्यांकमा जनसंख्या कम हुँदा संघीय सरकारबाट आउने बजेट घट्ने, अन्य सेवा सुविधा पनि घट्न सक्ने चुनौती देखिएकाले स्थानीय तह आफैं जनगणना गर्न अग्रसर हुन थालेका छन् ।

सदरमुकामसमेत रहेको मंगलसेन नगरपालिकामा १० हजारभन्दा बढी जनसंख्या घटेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए । उनका अनुसार २०६८ सालको जनगणनाअनुसार मंगलसेन नगरपालिकाको जनसंख्या ३७ हजार ४ सय ९६ थियो । अहिलेको प्रारम्भिक नतिजाअनुसार घटेर २६ हजार ८ सय ४३ पुगेको छ । १० हजारभन्दा बढी जनसंख्या घट्नु अस्वाभाविक भएको भन्दै नगरपालिकाले आफैं पुनः जनगणना गर्न सक्ने उनले बताए ।

‘मंगलसेन नगरपालिकाको त करिब एक तिहाइ जनसंख्या घटेको देखियो । ३७ हजारबाट २६ हजारमा झर्‍यो । अन्यत्र बसोबास गर्ने जनसंख्याको संख्याले प्रभाव के कति पारेको हो त्यसको विश्लेषण गर्छौं,’ उनले भने ।

कमलबजार नगरपालिकाले सर्वेक्षण गरेको जनसंख्या ३० हजारभन्दा बढी छ भने जनगणनाको प्रारम्भिक तथ्यांकले २० हजार ९ सय ४७ देखाएको छ । १० हजारभन्दा बढी जनसंख्या घटेकाले नगरपालिकालाई चुनौती थपिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक विष्टले बताए । उनका अनुसार २०६८ सालको जनगणनाअनुसार कमलबजार नगरपालिकाको जनसंख्या २३ हजार ७ सय ३८ थियो ।

‘विभिन्न कामको सिलसिलामा पालिकाभन्दा बाहिर ठूलो संख्या गएको छ । पढ्न, रोजगारी गएकाहरूको गणना भएको देखिएन कि भन्ने शंका छ,’ विष्टले भने, ‘जनगणनाको अन्तिमसम्मको नतिजा कुर्छौं, फेरि पनि यस्तै तथ्यांक आयो भने गणना गर्नुपर्ने हुन सक्छ ।’ उनका अनुसार जनसंख्या घट्यो भने आउने बजेट पनि घट्छ । पालिकालाई थप चुनौती थपिन्छ । स्थानीय तहले गरेको जनगणनालाई केन्द्र सरकारले आधिकारिक नमान्दा पनि समस्या भएको देखिन्छ ।’

अहिलेको प्रारम्भिक नतिजा मात्रै भएकाले अन्तिम नतिजामा जिल्लाको जनसंख्या केही फेरबदल हुन सक्ने जिल्ला जनगणना अधिकारी प्रकाश विष्टले बताए । ‘जोड्दा केही तलमाथि पनि भएको हुन सक्छ । अहिले आएको नतिजा जहिले पनि अछाममा भइराख्ने स्थिर जनसंख्या हो,’ उनले भने, ‘अनुपस्थित विदेश गएकाहरूको संख्या र अनुपस्थित स्वदेश संख्या भनेर पनि गणना भएको छ । अछाममा विदेश गएकाहरूको संख्या ४४ हजार देखिन्छ । त्यो यसमा जोडिएको छैन ।’ उनले अछाम स्थायी घर भएका र देशका अन्य भागमा बसेकाहरूको संख्या पनि यसमा समावेश नभएको बताए । अछामको जनसंख्या यस पटक २०६८ सालको भन्दा २८ हजार ५ सय ७० ले घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार अछामको जनसंख्या २ लाख २८ हजार ९ सय ७ छ । २०६८ सालको राष्ट्रिय जनगणनामा अछामको जनसंख्या २ लाख ५७ हजार ४ सय ७७ थियो ।

जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार जिल्लामा सबैभन्दा बढी जनसंख्या मंगलसेन नगरपालिकाको र सबैभन्दा कम बान्निगढी जयगढ गाउँपालिकाको छ । मंगलसेन नगरपालिकामा २६ हजार ८ सय ४३ छ । बान्निगढी जयगढ गाउँपालिकाको जनसंख्या १३ हजार ६ सय ३९ जनसंख्या छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा