दार्चुलामा महाकालीको बहाव जबर्जस्ती नेपालतर्फ फर्काउँदै भारत

नदीको बहाव नेपालतर्फ फर्काउन भारतले महाकालीमा एक साताअघिदेखि चलाइरहेको एक्स्काभेटर
नदीको बहाव नेपालतर्फ फर्काउन भारतले महाकालीमा एक साताअघिदेखि चलाइरहेको एक्स्काभेटर
March 09, 10:08

धनगढी,२५ फागुन / बर्खामा महाकालीको भेल दार्चुला सदरमुकाम खलंगातिर उर्लिने गरी भारतले नदीको धार नै परिवर्तन गरेको छ । तटबन्ध निर्माणका नाममा नेपालतर्फ रहेका ढुंगा आफ्नोतर्फ लगेर पानीको बहाव खलंगातर्फ एकोहोर्‍याएको हो । 

सीमा नदीमा नेपालको प्रशासनसँग समन्वय नै नगरी महाकाली नगरपालिका– ४ क्षेत्रमा एकतर्फी एक्स्काभेटर लगाएपछि मंगलबार विरोधमा उत्रिएका स्थानीय नेपालीमाथि भारतीयबाटै ढुंगा प्रहारसमेत भएको छ । त्यसपछि नेपालीले पनि ढुंगा प्रहार गरी प्रतिकार गरेका छन् । दुई देशका स्थानीयबीच एक घन्टासम्म ढुंगा हानाहान भएको प्रत्यक्षदर्शीले बताए । 

‘नेपालतर्फ एक्स्काभेटर नल्याउन हामीले पटक–पटक आग्रह गर्‍यौँ । तर, हामीमाथि नै दमनको प्रयास भयो । जबर्जस्ती एक्स्काभेटर ल्याएर ढुंगा लैजान थालेपछि प्रतिकार गरेका हौँ,’ एक स्थानीयले भने, ‘अहिले ढुंगा लैजाने र पानी नेपालतर्फ फर्काउने काम नरोके वर्षात्मा नेपालतर्फ निर्माण गरिएको तटबन्धलाई खतरा हुन्छ ।’ भारतले एक सातादेखि नदीमा डोजर लगाएर ढुंगा निकाल्ने काम गरिरहेको छ । 

एक्स्काभेटर रोक्ने विषयमा दुवैतर्फका नागरिकबीच ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर माधव विश्वकर्माले बताए । ‘महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरी भारतीय पक्षले तटबन्ध निर्माणको काम गरेको भन्दै स्थानीयले रोक्न खोजेका हुन् । एक्स्काभेटर रोक्ने क्रममा दुवैतर्फबाट ढुंगा हानिएको रहेछ,’ उनले भने, ‘सुरक्षाकर्मी पुगेपछि विवाद रोकियो । सीमा नदीमा केही गर्दा भारतले नेपालको प्रशासनलाई जानकारी गराउनुपर्ने थियो ।’ 

भारतीय पक्षले नेपालको प्रशासनलाई जानकारी नगराई काम गरेका कारण ढुंगा हानाहानको स्थिति बनेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । ‘नेपालतिर आएर ढुंगा लैजान थालेपछि स्थानीयले रोक्न खोजेका रहेछन् । त्यसै क्रममा ढुंगा हानाहान भएको रहेछ । सुरक्षाकर्मी पठाएपछि रोकिएको हो,’ प्रजिअ उपाध्यायले भने, ‘उनीहरूले एक्स्काभेटर फिर्ता लगेका छन् । पछि भारतीय एसडिएम कार्यालयबाट फोन आएको थियो । मैले अबका दिनमा प्रशासनसँग समन्वय गरेर मात्रै काम गर्नुस् भनेको छु ।’

भारतीय पक्षले पुरानो तटबन्धसँगै महाकालीमा नेपालतर्फ आठदेखि दश मिटर चौडाइ र १० मिटर उचाइको तटबन्ध निर्माणको काम सुरु गरेको छ । तटबन्ध निर्माणसँगै झोलुङे पुल क्षेत्र, बंगाबगड र डुमपानी क्षेत्रमा नदीको भाग साँघुरो हुने र महाकाली फर्किने खतरा बढेको स्थानीय बताउँछन् ।

भारतले समन्वयमा कन्ज्युस्याइँ गर्दा वेलावेलामा सीमा क्षेत्रमा विवाद हुने गरेको छ । अहिले भारतले आफ्नोतर्फबाट पक्की तटबन्ध निर्माणको काम अघि बढाएको छ । सीमा क्षेत्रमा ठूला पक्की संरचना निर्माण गर्दा दुवै देशको सहमति आवश्यक भए पनि भारतले बेवास्ता गरेको प्रशासनको भनाइ छ । अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एक–अर्काको सहमतिविना भौतिक संरचना निर्माण गर्न पाइँदैन । 

गत माघमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपाल भारतका अधिकारीहरूको बैठकमा तटबन्धको विषयमा भारतीय पक्षलाई जानकारी दिन ध्यानाकर्षण गराएका थिए । बैठकमा तटबन्धले नेपाली भूभागतिर केही असर नगर्ने प्रतिबद्धता जनाउँदै भारतीय पक्षले केही समयभित्रै तटबन्धबारे विस्तृत जानकारी दिने भनेको थियो । बैठक सम्पन्न भएको एक महिना बितिसक्दा पनि अझै पनि भारतीय पक्षले तटबन्धबारे कुनै जानकारी नदिएको छैन । नेपालले साढे चार किलोमिटर पक्की तटबन्ध निर्माण गर्दा भारतीय पक्षसँग समन्वय गरेको थियो । त्यति गर्दा पनि भारतले भने तटबन्ध निर्माणमा अवरोध गरेको थियो । नयाँ पत्रिका बाट 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा