देउवा-मोदी भेट, पञ्चेश्वरलाई तीव्र गतिमा अगाडि बढाउन सहमति
काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने सहमति भएको बताएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता भएको थियो। लगतै प्रतिनिधिमण्डल स्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ।
लगत्तै संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले नेपालका प्रधानमन्त्री देउवा र आफ्नो बीचमा सबै विषयमा कुराकानी भएको बताए। आपसी सहयोग, विकास परियोजनाहरुको अहिलेसम्मको समीक्षा र भविष्यको रुपरेखाबारे पनि छलफल भएको उनले बताए। उनले अघि भने, ‘पावर सेक्टरमा सहयोगको अवसरको लाभ लिनुपर्छ भन्नेमा हामी सहमत भएका छौं। पञ्चेश्वर तीव्र गतिमा अगाडि बढाउन जोड दियौं। यो क्षेत्रको विकासका लागि गेम चेन्जर परियोजना हुनेछ।’
उनका अनुसार नेपालको जलविद्युत क्षेत्रमा भारतीय कम्पनीको अधिक सहभागिताका लागि सहमति भएको छ। अहिले पनि नेपालले भारतमा विद्युत निर्यात गरिरहेको भन्दै उनले भने, ‘नेपालबाट पावर ल्याउने अरु प्रोग्रामलाई स्वीकार गर्दैछौं।’प्रधानमन्त्री देउवा र आफूले व्यापार र सबै प्रकारका क्रस बोर्ड कनेक्टिभिटीलाई प्रथमिकता दिने सहमति गरेको उनले बताए। नेपाल पुलिस एकेडेमी, नेपालञ्जमा एकीकृत भन्सार जाँच चौकी, रामायण सर्किट आदिले यसलाई सघाउने भन्दै उनले भने, ‘ओपन बोर्डरको दुरुपयोग नहोस् भनेर छलफल गरौं। सुरक्षा सहयोगमा जोड दिएका छौं।’