डोटीमा कांग्रेस र एमालेको टक्कर, माओवादी केन्द्र–नेकपा एसको तालमेल पछिपछि

May 10, 3:58

डोटी २७ बैशाख  /  नेपाली कांग्रेसको परम्परागत गढ मानिने डोटी जिल्लामा २०७४ को स्थानीय तह निर्वाचनमा अप्रत्यासित नतिजा निस्कियो । नेकपा एमालेले जिल्लाका नौ मध्ये ५ पालिकामा जीत निकाल्दा कांग्रेस तीन पालिकामैं सीमित हुनपुग्यो । एकमा माओवादी केन्द्र विजयी भयो ।

कांग्रेसको अप्रत्यासित हारमा एमालेको लोकप्रियताभन्दा बढी कांग्रेसभित्रको आन्तरिक ‘कलह’ र ‘अन्तर्घात’ कारण थियो ।एमालेले तुलनात्मक रूपमा कांग्रेस बलियो ठानिएका दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका र सायल गाउँपालिका सहित जोरायल र आदर्श गाउँपालिका जितेको थियो ।

कांग्रेस शिखर नगरपालिका, केआईसिँह गाउँपालिका र बडीकेदार गाउँपालिका जितेर चित्त बुझाउन बाध्य हुँदा एमाले बलियो ठानिएको बोगटान गाउँपालिकामा एमालेभित्रको कलहको फाइदा माओवादी केन्द्रले उठायो । जिल्लाका ६५ वडामध्ये एमालेले ३२ वटा वडा जित्दा कांग्रेसले २९ र माओवादी केन्द्रले ४ वटा वडा जितेको थियो ।

यसपटक जिल्लामा एक्लै चुनाव लडेर कांग्रेस पुरानो साख फर्काउने ध्याउन्नमा लागेको छ । उता एमाले अघिल्लो पटकको नतिजा दोहो¥याउन चाहन्छ । कांग्रेसलाई एमाले फुटेको फाइदा उठाउनु छ, एमालेलाई कांग्रेसभित्रको अन्तद्वन्द्वकै फाइदा पुनः एकपटक बटुल्नु छ ।
दुबै पार्टीका यीअभिष्टमा चुनौती अर्को थपिएको छ । त्यो हो–माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ९नेकपा एस०को तालमेल १

अघिल्लो पटक एक्लै ‘निरीह’ देखिएको माओवादी केन्द्र यसपटक नेकपा एससँग गठजोड गरेर शक्ति आर्जन गर्दै कांग्रेस–एमालेलाई चुनौती दिन उभिएको छ ।

माओवादी केन्द्र र नेकपा एसबीच गठबन्धन हुनुअघि सत्तारूढ दलहरूको प्रमुख घटक कांग्रेससँग पनि तालमेलको प्रयास भएको थियो । यसका लागि नेकपा एसका नेता संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र माओवादी केन्द्रका नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट दिपायल पुगेर अन्तिमसम्म प्रयास गरेका थिए । त्यसका लागि कांग्रेसका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट पनि डोटी कांग्रेसलाई दवाव बढाएका थिए । तर अन्तिममा कांग्रेसले गठबन्धन दलको प्रस्ताव अस्वीकार गरेर एक्लै निर्वाचन लड्ने घोषणा ग¥यो ।
त्यसपछि माओवादी केन्द्र, नेकपा एसबीच जिल्लाभरी र एउटा पालिकामा राष्ट्रिय जनमोर्चा पनि थपिएर गठबन्धन गरेका थिए । यो एकीकृत शक्तिले कांग्रेस–एमालेलाई कति चुनौती दिन्छ रु त्यो भने हेर्न बाँकी छ ।

यता आफ्नो गठजोडको शक्तिले पुरै जिल्लाभरि प्रभाव पार्ने माओवादी केन्द्रले दाबी गर्दा नेकपा एसले भने दुईवटा पालिकामा मात्रै जित्ने अनुमान लगाएको छ । कांग्रेस र एमालेले भने जिल्लाभरि नै आफ्नो जीत निश्चित भएको दाबी गरेको छ ।

दिपायल सिलगढीमा कांग्रेस–एमाले टक्कर

जिल्ला सदरमूकामको यो नगरमा अघिल्लो पटक कांग्रेस अन्तर्घातले हारेको चर्चा हुन्छ । कांग्रेसले त्यतिबेला तत्कालीन क्षेत्रीय सभापति बाजीसिँह खड्का (विजय)लाई उम्मेदवार बनाएको थियो ।
उनको विरुद्धमा एमालेले महिला उम्मेदवार मञ्जु मलासीलाई उठाएको थियो । उनी कांग्रेसको विवादको फाइदा उठाउन सफल भइन् र २ सय७६ मतको अन्तरले विजयी भइन् । मलासीले ४ हजार ४२८ मत पाउँदा कांग्रेसका खड्काले ४ हजार १५२ मत पाएका थिए । मेयरमैं माओवादी केन्द्रका प्रेमबहादुर नेपालीले ७३७, राप्रपाका कर्ण द्वारियाले १४८ मत पाएका थिए ।

यसपटक यहाँ मेयरमा कांग्रेसबाट खड्का नै दोहोरिएका छन् । एमालेले लक्ष्मण मलासीलाई उठाएको छ । उनीहरूबीचमा तीब्र प्रतिस्पर्धा देखिएको छ । कांग्रेसका खड्का अघिल्लो पटकको हारको सहानुभति बटुल्ने र एमाले विभाजनको फाइदा उठाउने रणनीतिमा छन् भने, एमाले उम्मेदवार मलासी एमालेको अघिल्लो पटक जितेको विरासत जोगाउन प्रयासरत छन् ।
दुबैलाई माओवादी केन्द्र र नेकपा एसको गठबन्धनका उम्मेदवार खगेन्द्र साउँद९केबी०ले चुनौती दिइरहेका छन् । त्यसका लागि उनले साउँद समुदायको जातीय मत र सामाजसेवामार्फत आफूले कमाएको साखलाई हतियार बनाएका छन् ।

उपमेयरमा कांग्रेसले कलावत महर साउँद, एमालेले विद्यार्थी नेतृ रुपा कठायत र माओवादीसँगको गठबन्धनमा नेकपा एसले ऐश्वर्या विष्ट भण्डारीलाई उम्मेदवार बनाएको छ ।  अहिले यो नगरमा अघिल्लो निर्वाचनकोभन्दा तीन हजार ७ सय ६ मत थपिएर कुल मतदाता संख्या १८ हजार ८ सय ११ पुगेको छ ।

शिखरमा कांग्रेस विरूद्ध पूर्व कांग्रेस नेता

अघिल्लो पटक शिखर नगरपालिकामा सुरक्षित र फराकिलो जीत निकालेको कांग्रेसले यसपटक दीर्घ बलायरलाई उम्मेदवार बनाएको छ । उनलाई पूर्व कांग्रेस नेता भीम बलायरले चुनौती दिइरहेका छन् । भीम दुईवर्षअघि कांग्रेस छाडेर तत्कालीन नेकपामा प्रवेश गरेका थिए । नेकपा विभाजन हुँदा उनी एमालेतर्फ लागेका थिए । एमालेले उनैलाई यसपटक उम्मेदवारका रूपमा अघि सारेको छ । यसपटक दुबै बलायरकै बीचमा प्रतिस्पर्धा देखिएको छ । मेयरमै माओवादी केन्द्रसँगको तालमेलमा नेकपा एसका सागरप्रसाद भट्टलाई उम्मेदवार बनाएको छ ।

अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसका सीताराम जोशी ५ हजार ३५३ मत ल्याएर विजयी बन्दा एमालेका शेरबहादुर मल्लले ४ हजार ४३७ मत ल्याएका थिए । दुबैको अन्तर ९ सय १६ रहेको हुन्छ । माओवादी केन्द्रका रमेशप्रसाद जोशीले ९ सय २९ मतमात्रै पाएका थिए ।

उपमेयर तर्फ कांग्रेसले नेपाल पत्रकार महासंघ डोटीकी उपाध्यक्ष सुनिता रावल, एमालेले लक्ष्मीदेवी मल्ल र नेकपा एससँगको तालमेलमा माओवादी केन्द्रले रमेशप्रसाद जोशीलाई उम्मेदवार बनाएको छ ।

आदर्शमा एमाले विभाजनको फाइदा उठाउने कांग्रेसको दाउ

अघिल्लो पटक एमालेसँग कांगे्रसले जिल्लामै सबैभन्दा फराकिलो हार आदर्श गाउँपालिकामा व्यहोरेको थियो । एमालेका अध्यक्षका उम्मेदवार टेकबहादुर रोकायाले कांग्रेसका लक्ष्मणबहादुर सिंहलाई ८ सय २९ मतको अन्तरले जितेका थिए ।

रोकायाले ३ हजार ५३५ मत ल्याएर विजयी हुँदा सिंहले २ हजार ७०६ मत मात्रै बटुलेका थिए । माओवादी केन्द्रका भरतबहादुर बोहराले ८ सय ३४ मतमात्रै थियो ।

यसपटक दुबै पार्टीले अध्यक्षमा उम्मेदवार बदलेका छन् । एमालेले डम्बरबहादुर ओलीलाई अगाडि सार्दा, कांग्रेसले जिल्ला सचिव गणेशबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । नेकपा एससँगको तालमेलमा माओवादी केन्द्रले योगेन्द्रबहादुर खड्कालाई उम्मेदवार बनाएको छ ।

उपाध्यक्षमा कांग्रेसले लक्ष्मी धामी रोकाया, एमालेले जानकी शाही खड्का र माओवादीसँगको तालमेलमा नेकपा एसले रमेशबहादुर विष्टलाई उम्मेदवार बनाएका छन् ।

यसपटक यहाँ एमाले आफ्नो विरासत थाम्ने दाउमा हुँदा कांग्रेस एमाले विभाजनको फाइदा उठाउन चाहन्छ । एमाले विभाजनको असर यहाँ ठूलै छ । संविधानसभा सदस्य हर्कबहादुर सिंहलगायतका नेताकार्यकर्ता नेकपा एसतिर लागेका छन् ।

उता माओवादी केन्द्र र नेकपा एस आफ्नो शक्ति समीकरण बढाउनेमा केन्द्रीत छन् । नेकपा एसले एमालेबाट जति धेरै मत तान्नसक्यो उति आफ्नो गणित राम्रो बन्ने र त्यसले जीत पनि हासिल हुनसक्ने उनीहरूको अनुमान छ । तर नेकपा एसको जिल्ला नेतृत्व भने खास्सै आशावादी देखिएको छैन् ।

बडीकेदारमा नेकपा एसको शक्ति केन्द्रीत

अघिल्लो पटक नेपाली कांग्रेसले जितेको यो गाउँपालिका नेकपा एसले आफ्नो प्रतिष्ठाको विषय बनाएको थियो । यसका लागि अघिल्लो पटक एमालेबाट पूर्विचौकी गाउँपालिका जितेका नेकपा एसका जिल्ला अध्यक्ष दीर्घ बोगटीले आफ्नै पालिका छाड्न तयार भएका थिए ।

कारण थियो–पर्यटनमन्त्री आलेको स्वकीय सचिव भक्तबहादुर साउँदलाई बडीकेदारको अध्यक्ष बनाउने चाहना । उनी अघिल्लो पटक एमालेबाट उम्मेदवार रहेर कांग्रेसका कृष्णबहादुर चन्दसँग हारेका थिए । कांग्रेसले आफूले जितेको पालिका छाड्न चाहन् । जसका कारण कांग्रेससँग जिल्लाभरमै तालमेल हुनसकेन् ।

अघिल्लो पटक यहाँ चन्दले २ हजार ३२१ मत ल्याएर विजयी हुँदा साउँदले एकहजार ९९८ मत ल्याएका थिए । माओवादी केन्द्रका जंगबहादुर बिकले ७ सय ९२ मतमात्रै पाएका थिए । अहिले यहाँ अध्यक्षमा कांग्रेसले भैरवबहादुर साउँदलाई उम्मेदवार बनाउँदा, एमालेले चक्रबहादुर घर्तीलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रसँगको तालमेलमा नेकपा एसले पर्यटनमन्त्री आलेका स्वकीय सचिव साउँदलाई नै अघि सारेको छ ।

उपाध्यक्षमा कांग्रेसका डम्मरी विष्ट कलेल, एमालेले सपना सिराडी र नेकपा एससँगको तालमेलमा माओवादी केन्द्रले देवीसरा घर्तीमगरलाई उम्मेदवार बनाएको छ । यहाँ यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस र एमालेको प्रतिस्पर्धामा माओवादी र नेकपा एसको सहकार्य भएपछि यहाँ त्रिपक्षीय प्रतिस्पर्धा देखिएको हो ।  यहाँ हाल ९ हजार ३ सय ५५ मतदाता कायम छन् ।

बोगटानमा त्रिपक्षीय प्रतिस्पर्धा

अघिल्लो पटक बोगटान फुड्सिल गाउँपालिकामा एमालेभित्रको विवादको फाइदा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार कमल गड्सिलाले उठाएका थिए । गडसिलाले २ हजार ८९ मत ल्याएर विजयी हुँदा एमालेका उम्मेदवार टेकबहादुुर बम एकहजार ८०८ मतसहित दोस्रो र कांग्रेसका उम्मेदवार दिलबहादुर बम एकहजार ७१४ मतका साथ तेस्रो भएका थिए ।

यसपटक यहाँ तीनवटै दलबीचमा तीब्र प्रतिस्पर्धा देखिएको छ । माओवादी केन्द्रले गड्सिला र कांग्रेसले बमलाई नै पुनः उम्मेवार बनाएको छ भने, एमालेले हस्तबहादुर बुढालाई अगाडि सारेको छ ।

उपाध्यक्षमा माओवादी केन्द्रकी कलावती कुमार चिमाला, कांग्रेसकी विष्ना देउवा बम र एमालेले ज्ञानुकुमारी मल्ल बमलाई अगाडि सारेको छ । जिल्लाको सहमतीअनुसार माओवादी केन्द्रले यहाँ उपाध्यक्षमा नेकपा एसलाई नछाडेपछि उक्त पार्टी यहाँ रुष्ट छ ।

अहिले यहाँ अघिल्लो पटकजस्तै त्रिपक्षीय प्रतिस्पर्धा छ । एमाले आफ्नो पुरानो संगठन मत फर्काएर जित्ने दाउमा रहँदा माओवादी केन्द्रले पहिला जितेका कारण प्रतिष्ठाको विषय बनाएको छ । कांग्रेस संगठन सुधार गरेर सुधार गरेको छ ।  यसपटक यहाँ १० हजार ७९ मतदाता संख्या पुगेको छ ।

सायलमा अन्तर्घात बिर्साउँदै जीत निकाल्न कांग्रेसको प्रयास

सायल गाउँपालिकामा पार्टी संगठनका हिसाबले बलियो देखिएका कांग्रेस अन्तर्घातका कारण हारेको दाबी गर्दैआएको छ । टिकटका बेला बढेको किचलो अन्तर्घातसम्म पुगेको थियो । यसपटक त्यो सबै बिर्साउनेगरी कांग्रेसले अभ्यास गरेको छ भने टिकट अघिल्लो पटककै उम्मेदवार धर्मराज जोशीलाई गाउँमै टुंग्याएर पठाएको थियो ।

अघिल्लो पटक कांग्रेस उम्मेदवार जोशी एमालेका तेजबहादुर डुम्रेलसँग ३ सय ७३ मतको अन्तरले पराजित भएका थिए । डुम्रेलले २ हजार ६३१ मत पाउँदा जोशीले २ हजार २५८ मत प्राप्त गरेका थिए । नेकपा माओवादी केन्द्रका उम्मेदवार बलबहादुर ओलीले ५ सय ६९ मत पाएका थिए ।
यसपटक कांग्रेस र एमालेले जोशी र डुम्रेललाई नै दोहो¥याउँदा नेकपा एससँगको तालमेलमा माओवादी केन्द्रले डबलबहादुर साउँदलाई अगाडि सारेको छ ।  उपाध्यक्षमा एमालेले अघिल्लै पटक विजयी उपाध्यक्ष विष्ना सिंह, कांग्रेसले निर्मला बोहरा ओली र माओवादीसँगको तालमेलमा नेकपा एसले टिका सिंहलाई उम्मेदवार बनाएको छ ।

पूर्विचौकीमा साख फर्काउने कांग्रेसको दाउ

अघिल्लो पटक सातमध्ये पाँच वडा जित्दा पनि अन्तर्घातका कारण गाउँपालिका अध्यक्ष उपाध्यक्षमा कांग्रेस हारेको थियो । उतीबेला एमालेका उम्मेदवार दीर्घराज बोगटीले ३ हजार ६१५ मत ल्याएर विजयी हुँदा कांग्रेसका रामप्रसाद उपाध्यायले ३ हजार ५६८ मतमात्रै पाएर ४७ मतको झिनो हार व्यहोरेका थिए । माओवादी केन्द्रका यज्ञराज गिरीले २ सय २६ मत मात्रै प्राप्त गरेका थिए ।

पूर्विचौकी गाउँपालिका गत निर्वाचनमा पराजित भएपनि कांग्रेसको परम्परागत गढ नै हो । यसपटक पनि कांग्रेस नै यहाँ बलियो छ । त्यसमा पनि एमालेको बिभाजनले कांग्रेसलाई निकै फाइदा पुग्ने देखिन्छ । यहाँ एमालेबाट गाउँपालिका अध्यक्ष जितेका बोगटी अहिले एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छन् । अन्य ठूलो नेताकार्यकर्ताको पङ्ती एमालेतिर छ ।

अहिले कांग्रेसले पुनः उपाध्यायलाई नै उम्मेदवार बनाएको छ भने, एमालेबाट कृष्णकुमार खड्का र माओवादी केन्द्रसँगको तालमेलमा नेकपा एसका देवबहादुर खड्का उम्मेदवार छन् ।

उपाध्यक्षमा कांग्रेसले पशुपति खड्का, एमालेले शारदा कुमारी साउँद र नेकपा एससँगको तालमेलमा माओवादी केन्द्रले हरिश कुँवरलाई उम्मेदवार बनाएको छ ।

जोरायलमा पुरानै प्रतिस्पर्धी

जोरायल गाउँपालिकामा पुरानै किसिमले कांग्रेस र एमालेकैबीचमा प्रतिस्पर्धा मात्र छैन पुरानै प्रतिस्पर्धी पनि देखिएका छन् । अघिल्लो पटक एमाले उम्मेदवार दुर्गा ओझाले ३ हजार ८७४ मत ल्याएर ३ हजार २२८ मत पाएका कांग्रेसका दीपकबहादुर विष्टलाई हराएका थिए । माओवादी केन्द्रका छवीलाल ओलीले जम्मा ६ सय ९८ मतमात्रै ल्याएका थिए ।

अहिले एमालेका ओझा र कांग्रेसका विष्ट नै दोहोरिएका छन् । उनीहरूलाई माओवादी केन्द्रसँगको तालमेलमा नेकपा एसका किरण मल्लले चुनौती दिइरहेका छन् । मल्लले जति मत तान्छन त्यति नै कांग्रेसलाई फाइदा पुग्ने देखिएको छ । यसबाहेक ओझाले विवादित छवी पनि बनाएका छन् ।

अहिले उपाध्यक्षमा एमालेले पुरानै उपाध्यक्ष जमुना बोहरालाई दोहो¥याउँदा कांग्रेसबाट चन्द्राकुमार साउँद र नेकपा एससँगको तालमेलमा माओवादी केन्द्रले प्रेमाकुमारी ओलीलाई उम्मेदवार बनाएको छ ।

केआइसिंहमा कांग्रेसको किल्ला फुटाउने अरुको दाउ

२०७४ सालको निर्वाचनमा ७ वटै वडाका सदस्यदेखि गाउँपालिकाको नेतृत्वसम्म सबै कांग्रेसले जितेको थियो । कांग्रेसअघि सबैजसो वडामा विपक्षी पार्टीहरू निरीह देखिएका थिए । कांग्रेसका अध्यक्षका उम्मेदवार लोकेन्द्रबहादुर शाहीले ३ हजार १८८ मत ल्याउदै जीत हासिल गर्दा एमालेका यज्ञराज जोशी एक हजार ५६३, माओवादी केन्द्रका सिद्धराज भाटले ९४८, राष्ट्रिय जनमोर्चाका मीनबहादुर मलासीले ८४० र राप्रपाका टेकबहादुर रावलले २८६ मत ल्याएका थिए ।

यसपटक राप्रपा उम्मेदवार कांग्रेसमा प्रवेश गरेका छन् । एमालेका उम्मेदवार नेकपा एसतिर लागेका छन् । एमाले विभाजन भएर यहाँ नेकपा एस बलियो देखिएको छ ।

यस्तो अवस्थामा अहिले कांग्रेसको किल्ला भत्काउन एमाले एक्लै रहेपनि नेकपा एस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा एकठाउँमा आएर चुनौती दिन खोजिरहेका छन् ।

अहिले यहाँ कांग्रेसले पुरानै अध्यक्ष शाही र उपाध्यक्ष मीनादेवी विष्टलाई दोहो¥याएको छ भने, एमालेले तेजबहादुर माझी र उपाध्यक्षमा धनादेवी कुँवरलाई उम्मेदवार बनाएको छ ।

नेकपा एस, माओवादी केन्द्र र जनमोर्चाको गठबन्धनले माओवादी केन्द्रका केशवनाथ योगीलाई अध्यक्षमा उठाउँदा उपाध्यक्षमा नेकपा एसकी निर्मला अवस्थीलाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा