कांग्रेसमा अन्तर्घातः ‘पार्टी भित्रकै असहयोगले ५० सिट घट्यो’

June 02, 7:52

काठमाडौं १९ जेठ। नेपाली कांग्रेसमा चुनावमा अन्तर्घात गर्ने पुरानो रोग हो । उक्त रोग यसपटकको स्थानीय तह निर्वाचनमा पनि कायम रहेको केन्द्रदेखि प्रदेशसम्मका नेताहरु स्विकार्छन् । पार्टी प्रवक्ता डा. प्रकाशरण महत र प्रदेश सभापतिहरुको धारणा सुन्दा अन्तर्घात यसपटक झनै बढेको छ ।
आन्तरिक एकता मजबुत हुन नसक्दा जित्नैपर्ने स्थानमा समेत कांग्रेस पराजित भएको उनीहरुको दाबी छ । अघिल्लोपटक एक्लै विजयी भएका कतिपय स्थानमा पराजय भोग्नुमा आन्तरिक कारण प्रमुख रहेको नेताहरु बताउँछन् । ‘अन्तर्घात त व्यापक भएको छ । अन्तर्घात नभएको भए अरु ५० सिट कांग्रेसको थपिने थियो,’ प्रवक्ता महतले भने । कांग्रेसले पालिकामा प्रमुख र अध्यक्ष गरी ३२९ स्थानमा जित निकालेको छ ।
निर्वाचन भर्खर सकिएकाले आन्तरिक अध्ययनकै क्रममा कांग्रेस छ । मौखिक रुपमा जिल्ला-जिल्लाबाट अन्तर्घात भएको रिपोर्ट आइरहेको महतले जानकारी दिए । गण्डकीमा प्रदेश समितिले सबै जिल्लामा गोप्य रुपमा अध्ययन गर्न टोली नै खटाएको त्यहाँका सभापति शुक्रराज शर्माले जानकारी दिए ।
मधेसमा सर्वाधिक अन्तर्घात भएको नेताहरुको बुझाइ छ । मधेस प्रदेशका सभापति कृष्ण यादवले आठै जिल्लामा अन्तर्घात भएको सुनाए ।
निर्वाचनमा अन्तर्घात भएको ठहर भयो भने पनि कारबाही गर्ने निकाय भने केन्द्रमा बनिसकेको छैन । अनुशासन नयाँ समिति बनाउने बारेमा छलफल चले पनि निर्णयमा पुगि नसकेको सहमहामन्त्री भीष्मराज आङदेम्बेले जानकारी दिए । आङदेम्बे १४ औं महाधिवेशन अघि अनुशासन समितिका संयोजक थिए । अनुशासन समितिमा उपसभापति वा महामन्त्री मध्येबाट एक जनालाई संयोजक बनाउन सकिने बारेमा पनि छलफल चलेपनि निष्कर्षमा पुगि नसकेको उनले बताए ।
आङ्देम्बेका अनुसार अनुसार उपसभापति वा महामन्त्री अनुशासन समितिको संयोजक नबनेको अवस्थामा केन्द्रीय सदस्य मध्येबाट एक जनाले संयोजन गर्ने गरी निर्णय हुनेछ । अनुशासनको कारबाही गर्दा विवादित हुने डरमा नेताहरु सकेसम्म अनुशासन समितिको संयोजक हुन चाहँदैनन् ।
केन्द्रीय समितिको बैठकले पार्टीभित्र भएको अन्तर्घातको समीक्षा गर्ने प्रवक्ता महतले बताए । अन्तर्घातको रिपोर्ट आउने क्रम जारी रहेको बताउँदै प्रवक्ता महतले केन्द्रीय समितिको बैठकमा अनुशासन समिति गठनबारे छलफल हुने जानकारी दिए । केन्द्रीय समितिको बैठक भने हालसम्म आह्वान गरिसकिएको छैन ।
पाँच प्रदेशका सभापतिहरुसँग अनलाइनखबरले संवाद गर्दा सबैले अन्तर्घात भएको बताएका छन् । पार्टी भित्रकै समस्याका कारण जित्न सकिने स्थानमा पनि पराजय भोग्न परेको उनीहरुको बुझाइ छ । प्रदेश सभापतिहरुमा प्रदेश १ का उद्धव थापा, मधेस प्रदेशका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायरले अन्तर्घात सामान्य रुपमा नरहेकोे बताए ।
प्रस्तुत छ, अन्तर्घातको सन्दर्भमा नेपाली कांग्रेसका पाँच जना प्रदेश सभापतिहरुसँग गरिएको कुराकानी उनीहरुकै बोलीमा ।
मोरङमा अन्तर्घात बढीः उद्धव थापा (प्रदेश १ सभापति)
प्रदेश १ को चुनावी समीक्षाकै क्रममा छौं । कार्यपालिकाको निर्वाचन सकेर जिल्ला समन्वय समिति गठनकोे तयारीमा लागेका छौं ।
प्रदेश १ मा कांग्रेसले सोंचे भन्दा राम्रो आएको छ । गठबन्धन र पार्टी भित्र आन्तरिक व्यवस्थापन थप गर्न सकेको भए अरु स्थानमा पनि जित्ने थियौं । अघिल्लोपटक जितेका केही ठाउँ पनि यसपटक गुमायौं । पार्टीभित्रको समस्या नै पुनः नजित्नुमा कारण रह्यो । अन्तर्घात त कांग्रेसको परम्परा र विशेषता नै हो । पार्टी भित्र यो हुँदै आएको छ ।
अन्तर्घात भएका ठाउँमा के गर्ने भन्ने केन्द्रले निर्णय गर्ला । केन्द्रको निर्देशन अनुसार हामीले प्रक्रिया अघि बढाउँछौं । पार्टीभित्रको अन्तर्घात बढी मोरङमा देखियो । गठबन्धन पनि राम्रोसँग गर्न साथीहरुको रुचि भएन । आफ्ना उम्मेदवारलाई पार्टी भित्रकै साथीहरुले असहयोग गरे । अरुमा समग्रमा राम्रो देखिए पनि अन्तर्घातको बढी समस्या मोरङमा देखियो ।
आठै जिल्लामा अन्तर्घातः कृष्ण यादव, मधेस प्रदेश सभापति
पहिले भन्दा त मधेस प्रदेशमा कांग्रेसको सिट बढेको छ । योभन्दा बढी ठाउँमा जित्न सकिने थियो । मधेशमा हामी पहिलो पार्टी बन्न सफल भएका छौं ।
कांग्रेसप्रति जनताको रुझान पनि ठिक छ । पार्टी भित्रकै कुरा बाहिर के भन्नु । पार्टी भित्रकै कारणले मधेसमा केही ठाउँ हार्यौं । आफ्नैलाई हराउन मधेसमा सबैतिर प्रयास गर्छन् । अट्याकलाई प्रतिरोध गर्न जसले सक्यो, उसले जित्यो । जसले सकेन, ऊ हार्छ । पार्टी भित्रैबाट कुनै जिल्लामा कहिँ अलि दह्रो प्रहार भएको छ । कहिं अलि कमजोर प्रहार भएको छ । मधेश प्रदेशका आठै जिल्लामा पार्टी भित्रैबाट प्रहार भएको छ ।
सबै कांग्रेस एक भएको भए पर्सा, सिराहा, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, रौतहट, बारामा अझै धेरै जितिने थियो । आन्तरिक कलहले नै जित्न सकिने ठाउँमा पनि हारियो । आफ्नै पार्टीको एकअर्का लागेर कांग्रेसकै उम्मेदवार हराउन लागे । यो त हाम्रो पार्टीकै दुर्भाग्य हो । जिल्लाका नेताहरुको छलफलकै आधारमा टिकट दिएका थियौं । तैपनि कांग्रेस मिल्न सकेनन् । खुल्ला रुपमा आफ्नैलाई हराउन लागेका छन् । अन्तर्घात मधेश प्रदेशमा नभएको भए हामीले आरामले १०० पालिका जित्ने थियौं ।
अन्तर्घातको अध्ययन गर्न टोली गठन गरेका छौंः शुक्रराज शर्मा, गण्डकी प्रदेश सभापति
गण्डकीमा सन्तोषजनक नै छ । प्रदेशभरि नै गठबन्धन राम्रो हुन पनि सकेन । गठबन्धन भएका ठाउँमा पनि कार्यान्वयन गर्न अप्ठ्यारो पर्‍यो ।
अघिल्लोपटक जितेका केही ठाउँमा कांग्रेसले जित्न सकेन । तालमेलको मर्म बुझाउन सकेनौं । आन्तरिक कारणले पनि केही ठाउँमा हार्यौं । हामीले आन्तरिक व्यवस्थापन मिलाउन नसकेर नै पोखरा महानगरमा उपमेयर जित्न सकेनौं । महानगरमा हामी अल्पमतमा छौं ।
आन्तरिक समस्या पनि भए । कतिपय ठाउँमा गठबन्धन मिलाउन सकेनौं । माओवादीलाई कास्कीका पालिकामा उपप्रमुख वा उपमेयर नदिँदा उनीहरु हामीलाई नै मत दिन बाध्य भएनन् ।
कांग्रेसले कांग्रेस हराउने हाम्रो पार्टीमा परम्परा छ । हामीले जित्न सकिने ठाउँमा हार्नु ७० प्रतिशत भन्दा बढी आन्तरिक कारण हो । कहाँ-कहाँ, के-के समस्या देखिए त्यसको अध्ययन गर्न प्रदेशभरि साथीहरु खटाएका छौं । कहाँ आन्तरिक र कहाँ बाह्य कारणले हार्यौं भन्नेबारे साथीहरुले रिपोर्ट दिनुहुन्छ । केहीमा घमण्ड, केहीमा अहंकार, केहीमा व्यवस्थापन गर्न नसकेका कारणले हारेका छौं । ९० प्रतिशतभन्दा बढी सिट गठबन्धनको पक्षमा गण्डकीमा आउने थियो । त्यसबाट चुकेका छौं ।
अन्तर्घात गर्ने नादानी हुन्ः ललितजंग शाही, कर्णाली प्रदेश सभापति
कर्णालीमा नेपाली कांग्रेस पहिलो दल हुन्छ भनेर मैले निर्वाचन अघि नै भनेको थिएँ । मैले भनेको प्रमाणित नै भयो । कर्णालीमा स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउँछु भनेको थिएँ ।
यसभन्दा पनि बढी ठाउँमा जित्ने आशा थियो । २/४ ठाउँमा पार्टीकै साथीहरुले अन्तर्घात गरे । साथीहरुको त्यो कामलाई म नादानी भन्छु । पार्टीकै साथीहरुको असहयोगले गर्दा कतिपय ठाउँमा थोरै मतले हामी हार्यौं । मेरो गृह जिल्ला जुम्लाका नगरपालिकाको एक ठाउँमा ६२ मत हारियो । एक ठाउँमा २१ मतले हारियो । अर्को ठाउँमा १०४ मतले हार्यौं । यसलाई प्राविधिक हार मानेका छौं । विशुद्ध पार्टी भित्रको कारणले हामी हारेका हौं ।
पार्टी भित्रको गुटका कारणले केही ठाउँमा हारेका छौं । आफूले टिकट नपाएपछि पार्टीकै साथीहरुलाई हराउन लागे । आफूले टिकट नपाए पार्टीभित्रका अरु साथीलाई पनि जित्न नदिने प्रवृत्ति देखियो । यो दरिद्र मानसिकताका कारण सजिलोसँग जित्न सकिने स्थानमा पराजित भयौं । पार्टी भित्रबाट अन्तर्घात नभएको भए कर्णालीमा हामी अझै धेरै स्थान जित्ने थियौं ।
कर्णालीमा ५० प्रतिशत बढी प्रगति हामीले गर्न सकिने अवस्था थियो । पार्टी भित्रबाटै अन्तर्घात हुँदा ४३.९ प्रतिशत सुधार गर्न सफल भयौं । पहिलेको तुलनामा धेरै सुधार गरी पहिलो पार्टी कर्णालीमा भयौं ।
अन्तर्घात गरेको प्रमाणित हुनेहरुलाई जिल्ला अनुशासन समितिले नसियत दिने वा स्पष्टीकरण सोध्ने काम गर्दछ । निलम्बन र निष्काशनसम्म अनुशासन समितिले गर्छ । भर्खर निर्वाचन सकिएकाले अध्ययन गर्दैछौं, त्यसपछि अन्तर्घात गर्ने माथि छानविनको क्रम हुन्छ । पार्टी विधानले दिएको अधिकार अनुसार कारबाही गर्ने निकायले गर्छ ।
पार्टी भित्रैबाट असहयोग भयोः वीर बहादुर बलायर, सुदू्पश्चिम प्रदेश सभापति
सुदूरपश्चिममा अलि बढी सिट आउने सोंचेका थियौं । सोंचे अनुसारको सिट आएन । कांग्रेसले जित्न सक्ने स्थानमा पराजित हुनुमा आन्तरिक तथा तालमेल दुवै कारण छन् ।
विशेष गरी कैलालीमा आन्तरिक कारणले नै कांग्रेसले जित्नुपर्ने ठाउँमा जित्न सकेन । बझाङ र दार्चुलामा पनि सन्तोषजनक जित निकाल्न सकेनौं । दार्चुलामा त एउटा पालिका पनि जितिएन । पार्टी भित्रकै कारणले त्यहाँ हारिएको हो । अन्तर्घात भयो । टिकटमा पनि तल-माथि भयो । त्यहाँका नेताहरु पनि त्यति जिम्मेवार रुपमा प्रस्तुत हुनु भएन ।
पार्टी भित्र असहयोग नभएको भए अझै धेरै जितिने थियो । कार्यपालिका र समन्वय समितिको निर्वाचन हुँदैछ । एउटा पालिकामा चुनाव हुनै बाँकी छ । अहिले अध्ययन हुँदैछ । जिल्लामा समीक्षा हुन्छ, त्यहाँबाट रिपोर्ट आएपछि प्रदेशले के गर्नुपर्ने हो, गर्छ । अनलाईन खबर बाट साभार 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा