डडेल्धुरामा मेडिकल ल्याब टेक्नोलोजीको पढाइ सञ्चालन

September 27, 12:09

डडेल्धुरा । डडेल्धुरा मेडिकल कलेजले मेडिकल ल्याब टेक्नोलोजीको पढाइ सुरु गर्ने भएको छ । स्थापना भइरहेको डडेल्धुरा मेडिकल कलेजलाई चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको छ । 

सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढेकोमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको हो । डडेलधुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकरण ओझाका अनुसार ब्यचलर इन मेडिकल ल्याब टेक्नोलोजीको कक्षा सञ्चालनको अनुमति पाइएको हो ।

त्यसका लागि चिकित्सा शिक्षा आयोगले १० जनाको कोटा पनि निर्धारण गरेको ओझाले जानकारी दिनुभएको । अब आयोगले आउँदो कार्तिक १८ गते प्रवेश परीक्षा लिने र त्यसपछि विद्यार्थी पढाउने जानकारी प्राप्त भएको ओझाले बताउनुभयो । माघदेखि कक्षा सञ्चालनको तयारी छ ।

आयोगले यसअघि डडेलधुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमन गरेको थियो । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार डडेल्धुरा मेडिकल कलेजमार्फत पाँच वटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएको थियो ।

‘ब्यचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौँ,’ डडेल्धुरा मेडिकल कलेजका डिन हेमनाथ जोशीले भन्नुभयो, ‘ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको थियो । पाउनुपर्ने तीन वटा थियो । तर अहिले एउटा पाइएको छ । यो पनि उपलब्धि हो ।’ 

मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेलधुराको अमरगढी नगरपालिका–८ स्थित कीर्तिपुर नजिक ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । हाल त्यहाँ मेडिकल कलेज भवन निर्माणको बोर्ड लगाइएको छ । यस्तै डडेल्धुरा अस्पतालका नाममा १५३ रोपनी जमिन छ भने अस्पतालसँगै जोडिएको १९१ रोपनी जमिन कलेज सञ्चालन गर्न भोगाधिकार प्राप्त भएको छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डिनको कार्यालय स्थापना गरिसकेको छ । भौतिक संरचना निर्माणका लागि डिपिआर निर्माणको काम पनि भइरहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा