चार दिनमा बझाङ केन्द्रबिन्दु भएर १५ पटक भूकम्प

October 07, 2:20

काठमाडौं  । बझाङ केन्द्रबिन्दु भएर आज (शनिबार) दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ ।

आजको भूकम्प गत मङ्गलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर गएको छ दशमलव तीन म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रबिन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन् । वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठुलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ । आजको भूकम्प मङ्गलबार गएको भूकम्पको पराकम्प रहेको उहाँको भनाइ छ ।

“सन् १५०५ यता त्यहाँ ठुलो भूकम्प गएको छैन । त्यसैले त्यस क्षेत्रमा ठुलो शक्ति सञ्चित भएको छ । दुईवटा प्लेट जुधेर सञ्चित भएको शक्ति निकास हुने भनेकै भूकम्पबाटै हो”, वरिष्ठ भूकम्पविद् कोइरालाले भन्नुभयो, “मङ्गलबार मझौला खालको भूकम्प गएकामा त्यसका पराकम्प अझै आइरहेका छन् । अझै केही दिन यस्ता पराकम्प आउन सक्छन् ।”

सुदूरपश्चिम क्षेत्रमा सञ्चित भएर बसेको शक्ति निकासका लागि कुनै समय ठुलै भूकम्प जानसक्ने अनुमान गरिएको छ । स–साना कम्पनबाट त्यस्तो शक्ति निकास भएमा ठुलो कम्पनको सङ्कट टर्ने कोइराला बताउनुहुन्छ । भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रबिन्दु भएर यही असोज १६ गते दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस भएको थियो । पाँच दशमलव तीन म्याग्निच्युडको उक्त कम्पनको २५ मिनेटपछि बझाङलाई नै केन्द्रबिन्दु बनाएर छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस्तै, असोज १६ गते दिउँसो ३ बजेर १३ मिनेटमा तेस्रो, ३ बजेर ४५ मिनेटमा चौथो, ४ बजेर २८ मिनेटमा पाँचौँ, ४ बजेर ३१ मिनेटमा छैटौँ, पाँच बजेर १९ मिनेटमा सातौँ, पाँच बजेर ३८ मिनेटमा आठौँ पटक धक्का महसुस भएको थियो । असोज १७ गते राति १२ बजेर १६, १२ बजेर ५०, बिहान ४ बजेर २७ र ५ बजेर ४३ मिनेटमा भूकम्प गएको थियो । बिहीबार राती १० बजेर ५१ मिनेटमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।-रासस

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा