२०८४ को चुनावमा एक सिट पनि दिन्नौँ : रवि लामिछाने
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा अन्य पार्टीलाई एक सिट पनि नदिने बताएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दिनदहाडै हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई चुनौती दिएको भन्दै उनले सबै नेता र दललाई २०८४ मा एकै पटक बाई बाइ गर्ने बताएका छन् ।
‘अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने । एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला । एक दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाईं थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ? नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ ?,’ उनले भने । सभापति लामिछानेले नेपालीहरूको सुनौलो भविष्य भन्ने दल र नेताहरूले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताए ।