गाईबस्तु बाँध्ने गोठमा रग्ताम्य अवस्थामा वडाध्यक्षको शव, अनुसन्धानका लागि तालीमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा

Death
Death
February 04, 7:37

धनगढी, २१  माघ – मङ्गलवार बिहान मृत फेला परेका अछामको पञ्च देवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको घटना अनुसन्धान गर्न सङ्घीय प्रहरी इकाई कार्यालयका धनगढीबाट तालीमप्राप्त कुकुरसहितको टोली घटना स्थल पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक दीपक भारतीले तालीमप्राप्त कुकुरसहितको टोली पुगेको बताए । ‘हामी घटना स्थलमा पुगिसकेका छौँ’ उनले भने, ‘धनगढीबाट तालीमप्राप्त कुकुरसहितको टोली पनि पुगेको छ ।’
वडा अध्यक्ष धामीको शव मङ्गलवार बिहान विनायक बजारबाट ३० मिनेटको दुरीमा रहेको गैरी गाउँको गोठमा भेटिएको थियो। उनको अनुहारमा चोटहरू रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा प्रहरीलाई आज बिहान साढे ६ बजे जानकारी प्राप्त भएको थियो
सङ्घीय प्रहरी इकाई कार्यालयका धनगढीका प्रमुख तथा सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक देवबहादुर बोगटीले घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर सहितको टोली पठाइएको  बताए।
‘धनगढीबाट सात जनाको टोली त्यसतर्फ गइसकेको छ’ उनले भने, ‘कुकुर सहितको टोली पुगेपछि घटनाबारे थप तथ्य बाहिर आउने अपेक्षा गरेका छौँ ।’
मृत फेला परेका वडा अध्यक्ष धामीको हत्या गरिएको पञ्च देवल विनायक नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले बताइन् । उपमेयर  चलाउनेले बर्बर ढङ्गले हत्या गरिएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही हुनुपर्ने बताइन् । 
‘गाईबस्तु बाँध्ने गोठमा रग्ताम्य अवस्थामा शव फालिएको छ’ उनले भनिन्, ‘अन्यत्रै हत्या गरेर यहाँ फालिएको हामीले अनुमान गरेका छौँ । यसमा जो सुकै संलग्न भएपछि तत्काल पक्राउ गरी कडा कारबाही हुनुपर्छ ।’
उपमेयर चलाउनेले एक कुशल व्यक्तिको हत्या गरिएको बताइन् । ‘आँखामा राख्दा पनि नबिझाउने व्यक्तिको बीभत्स हत्या गरियो’ उनले भनिन्, ‘उहाँको कसैसँग कुनै झगडा, रिसिबि बा विवाद थिएन ।’
शिक्षक पेसाबाट राजीनामा गरी नेपाली काँग्रेसका तर्फबाट  वडा अध्यक्षमा निर्वा्चित भएका धामीको घटना छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीलाई समेत ल्याउन पहल भइरहेको उनले जानकारी दिइन् । 
घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको हुँदा अहिले नै केही भन्न नमिल्ने अछामका प्रहरी प्रमुख भारती बताउँछन् । पञ्च देवल विनायक नगरपालिकाले एक बिज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानबिनको माग गरेको छ । वडा अध्यक्ष हत्या गरिएको भन्दै कारबाहीको माग समेत बिज्ञप्तिमा गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा