डोटीमा आजदेखि रोटा खोप सुरु
साउन ९ , २०७७
मोहन पनेरु
आजबाट डोटीमा रोटा खोप अभियान सुरु गरिएको छ । झाडापखाला लाग्ने कारण मध्य ३० प्रतिशत असर पार्ने रोटा भाइरसलाई निर्मुल गर्न खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय डोटीका सुर्य बिष्टले जानकारी दिएका छन् ।
दिपायल सिलगढी नगरपालिकाकी नगरप्रमुख मञ्जु मलासी र प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईको संयुक्त उपस्थितीमा आजबाट दिपायल नगरस्वास्थ्य केन्द्रबाट अभियान सुरुवात गरिएको हो । बिष्टका अनुसार डोटीका ९ वटै स्थानिय तहहरुमा शुक्रबारबाट खोप लगाउन थालिएको छ । रोटा खोप २ पटक लगाइने उनले बताए । पहिलो चरणमा ६ हप्ता पुगेका शिशुलाई र दोस्रो चरणमा १० हप्ता पुगेका शिशुलाई खोप लगाइन्छ ।
खोप संगै झाडापखालाबाट बचाउन स्वास्थ्य प्रबर्द्धन कार्यक्रमपनि बिस्तार गरिएको छ । सो कार्यक्रम अन्तरगत घरवरपर सरसफाई गर्ने, चर्पीमा दिशा पीशाव गर्ने, बच्चालाई नियमीत दुध चुसाउने जस्ता ब्यवहारमा परिवर्तन गर्ने कुराहरु सम्झाई बुझाई गर्ने गरिएको छ । रोटा खोप लगाएका बालबालिकामा झाडापखालाको समस्या न्युन मात्रामा देखिने दाबि गरिएको छ ।
रोटा खोप अभियानका लागि स्वास्थ्य कार्यालय डोटीले गत असार महिनामा स्वास्थ्यकर्मीहरुलाई तालिम दिइसकेको छ ।