सुदूरपश्चिममा परीक्षण गराउने कम हुँदा सङ्क्रमण घट्यो

news
news
August 03, 6:56

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराउनेक्रम घट्दै जाँदा यो रोगको सङ्क्रमण हुने दरसमेत कम देखिएको छ। स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले नमूना परीक्षण गराउने घट्दै जाँदा सङ्क्रमण हुने दर पनि घटेको देखिएको बताए।

उनले भने, ‘‘प्रदेशमा हाल कोरोना सङ्क्रमणको अवस्था बढेको पनि छैन, घटेको पनि छैन। सङ्क्रमण थप फैलिने जोखिम यथावत् छ।’’ प्रदेशमा पछिल्लो पन्ध्र दिनमा लक्षण देखिएका शङ्कास्पद नौ हजार ३४९जनाले मात्र नमूना परीक्षण गराएका छन् । यीमध्ये ६१७ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ। 

सो अवधिमा ४७६ सङ्क्रमित उपचार व्यवस्थापनपछि घर फर्किनुभएको छ। दुई जनाको मृत्यू भएको छ।  सक्रिय सङ्क्रमित बिरामी घटेका छन्। पन्ध्र दिनअघि ५३६ सक्रिय सङ्क्रमित रहेकोमा आज ४३८ जना पुगेका छन् । गएको जेठ महीनासम्म उच्च रहेको कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दर असार महीना शुरु भएसँगै घटेको देखिएको छ।

कोरोना भाइरस फैलिएयता प्रदेशमा आजसम्म नमूना परीक्षण गरिएका जम्मा दुई लाख ८८ हजार ३३३ जनामध्ये ४५ हजार १३३ मा सङ्क्रमण देखिएको छ। नमूना परीक्षण गरिएको सङ्ख्या प्रदेशको कूल जनसङ्ख्याको झण्डै ११प्रतिशत हो।  पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित हुनेमध्ये ३५ हजार ७८४जना उपचारपछि घर फर्किएृका छन्। निको हुने यो दर झण्डै ७९ प्रतिशत हो। एन्टिजेन पद्धतिबाट सङ्क्रमण पत्ता लागेर उपचार व्यवस्थापनपछि घर फर्किएकाको विवरण भने निर्देशनालयसँग छैन।

नमूना परीक्षण गराउने बढ्दा सङ्क्रमण पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ। ‘‘तेस्रो लहरको कारोना आएमा त्यसले बालबालिकालाई बढी असर पुर्‍याउने भन्ने छ’’, डा अवस्थीले भने,‘‘यसको पूर्व तयारीस्वरुप उपचार व्यवस्थापनका लागि चाहिने सबै सामग्री स्वास्थ्य संस्थामा जुटाउने काम भइरहेको छ।’’

खोपको व्यवस्थापनः

हाल कोरोना भाइरस विरुद्धको खोप दिने कार्य भइरहेको छ। तराईका खोप केन्द्रमा खोप लगाउन आउनेको थामि नसक्नु भीड देखिँदा स्वास्थ्यकर्मीलाई खोप लगाउन सकस भइरहेको छ।  निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा साउन १८गते सम्म ‘कोभिसिल्ड’ खोप दुई लाख ४९ हजार मात्रा प्राप्त भएकोमा ३७ हजार ९०० जनाले दुवै मात्रा र एक लाख ६७ हजार २०० जनाले एक मात्रा खोप पाएका छन्। 

भेरोसेल खोप दुई लाख ८७ हजार २०० मात्रा प्राप्त भएकोमा ४० हजारले दुवै मात्रा र एक लाख ७२ हजार २०० जनाले एक मात्रा पाएका छन्। यो खोपको मौज्दात रहेकोले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने तयारी भइरहेको छ। कोभिसिल्ड र भेरोसिल खोप दुई मात्रा लगाउनुपर्छ। एक मात्रा लगाए पुग्ने जेन्सन खोप प्रदेशमा एक लाख ३६ हजार ८०० मात्रा आइपुगेको छ। कैलाली र कञ्चनपुर जिल्लामा जेन्सन खोप साउन १७ बाट शुरु भइसकेको छ।

कोभिसिल्डको एक मात्रा लगाएका धेरै व्यक्तिले खोपको अभावका कारण दोस्रो मात्रा लगाउन पाएका छैनन्। पछिल्लो हप्तामा तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्डपालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले कोरोना भाइरस सङ्क्रमण थप बढ्नसक्ने जोखिम देखिएको छ।
 
कोरोना भाइरस रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नहुँदा सङ्क्रमण बढ्ने जोखिम बढेको हो। खास गरी शहरी क्षेत्रमा बढ्ने गरेको मानिसको भीडभाडमा आपसमा भौतिक दूरी कायम नगर्ने र मास्क पनि प्रयोग नगर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ।  

‘‘मालपोत र यातायात व्यवस्था कार्यालयमा दैनिक सेवाग्राहीको थामि नसक्नु भीड देखिन्छ’’, धनगढीका यज्ञराज भट्टले भने,‘‘जताततै बढेको भीडभाड र मास्क प्रयोग नगर्ने बानीले थप जोखिम निम्तिने खतरा छ।’’ धेरै व्यक्तिले पछिल्ला दिनमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने बानीसमेत छाड्न लागेको देखिएको उनले बताए। 

जनस्वास्थ्यका मापदण्ड पालना गर्न, भीडभाड नगर्न र आपसमा सामाजिक दूरी कायम गर्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचनामार्फत् आग्रह गरिरहेको छ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा