पुग्दो छ त अक्सिजन ?

news
news
August 04, 7:58

कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको चरम अभाव झेल्नुपर्‍यो। धेरै बिरामीले अक्सिजन नपाएर ज्यान गुमाए। व्यक्ति–व्यक्तिदेखि राज्यका विभिन्न निकायसम्म अक्सिजनको जोहो गर्न लागिपरे। मुलुकभर फेरि विस्तारै महामारीको तेस्रो लहरको जोखिम देखिँदै छ। के अब तेस्रो लहर आइहाले त्यसलाई थेग्न सक्ने अक्सिजन व्यवस्थापन हुन्छ त ?   कतिपय प्रदेश यसमा तयार छन्। केही सुस्त देखिन्छन्। केहीमा कामै भएको छैन। 

कोरोना संक्रमण फेरि बढिरहँदा प्रदेश १ का अस्पतालहरूमा धमाधम अक्सिजन प्लान्ट निर्माण भइरहेका छन्। ६ जिल्लाका अस्पतालमा प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन सुरु भइसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अन्य आठ जिल्ला अस्पतालमा प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ। 
सूचना अधिकारी षणानन्द भट्टराई झापाको मेची अस्पतालसहित पाँचथर, भोजपुर, संखुवासभा, उदयपुर र धनकुटा जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु भइसकेको बताउँछन्। प्रदेश सरकारले प्रत्येक अस्पताललाई १ करोड ५० लाखका दरले बजेट छुट्याएको थियो। संघीय सरकारका तर्फबाट पनि अस्पतालहरूमा धमाधम प्लान्ट निर्माण भइरहेको भट्टराई बताउँछन्। ‘कतै प्लान्ट निर्माण भइसके, कतै अन्तिम चरणमा रहेकाले अक्सिजनमा कुनै पनि अलमल छैन’, उनी भन्छन्। 

झापामा ठूलो अक्सिजन प्लान्ट नभएकाले त्यसको व्यवस्थापनमा जुट्न स्थानीय तह र अस्पतालहरूलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना बताउँछन्। भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा दैनिक ३५ सिलिन्डर उत्पादन गर्ने अक्सिजन प्लान्ट जडान गरिएको अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलको भनाइ छ। ‘यो प्लान्टले मेची अस्पतालको अहिलेको मागको २५ प्रतिशत मात्रै धान्छ’, अध्यक्ष पोर्तेल भन्छन्, ‘अरू विकल्पको खोजी हुँदैछ।’

सरकारले मेची अस्पतालमा दैनिक १ सय ५० सिलिन्डर क्षमताको प्लान्ट स्थापना गर्न ३ करोड रुपैयाँ उपलब्ध गराएको थियो। तर, समयमा काम हुन नसक्दा त्यो बजेट फिर्ता गएको छ। मेडिकल एसोसिएसनले १ सय १५ सिलिन्डर क्षमताको प्लान्ट जडान गरिदिने आश्वासन दिएको छ। साउनभित्रै त्यसको काम सुरु हुने अध्यक्ष पोर्तेलको भनाइ छ।  बिर्तामोडस्थित बीएन्डसी अस्पतालले दैनिक ५० सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको छ। त्यसले आन्तरिक माग पनि धान्न नसकेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरी बताउँछन्। 
कनकाई नगरपालिकामा २ करोड खर्चिएर दैनिक सय सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट स्थापनाको काम अघि बढाइएको छ। ‘एकका लागि एक अभियान’ले पनि अक्सिजन बैंक खोलेको छ। अक्सिजन अभाव देखिएपछि अक्सिजन बैंक स्थापना गरिएको संयोजक महेन्द्रकुमार गिरीको भनाइ छ। १ करोड ६५ लाख रुपैयाँ संकलन भएको जनाइएको छ। पहिलो चरणमा चीनबाट ४० लिटर क्षमताका ५ सयवटा सिलिन्डर ल्याएर अक्सिजन बैंक स्थापना गरिएको हो। 

सुनसरी र मोरङका उद्योगले अक्सिजन उत्पादन गर्छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जडान गरिएको प्लान्टबाट प्रतिमिनेट १ हजार ६ सय लिटर अक्सिजन उत्पादन हुँदै आएको सहायक निर्देशक डा. प्रमोद बरालको भनाइ छ। प्लान्ट बिग्रिए ‘लिक्विड अक्सिजन ट्यांक’मार्फत बिरामीलाई सेवा दिइने डा. बराल बताउँछन्। सुनसरीको सोनापुरमा विनायक, खनारमा पाथीभरा र दुर्गा अक्सिजन उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल तीन उद्योगबाट दैनिक २ हजार ५ सय सिलिन्डर भर्न सकिने बताउँछन्। 

विराटनगरको कोसी अस्पतालले पनि दैनिक सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सञ्चालनमा ल्याएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास प्लान्ट सञ्चालनमा ल्याउनासाथ ५० प्रतिशत बिरामीलाई सहज हुने बताउँछन्। अपुग अक्सिजन बाहिरबाट मागिने उनको भनाइ छ। 

मोरङमा मारुती र हिमाल उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन्। दुई अक्सिजन प्लान्टबाट दैनिक १ हजार ५ सय सिलिन्डर अक्सिजन उत्पादन हुने प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला बताउँछन्। निरौलाका अनुसार सबै अस्पताललाई बिरामीको चापका आधारमा वितरण गर्ने गरिएको छ। 
कोसी अस्पताल कोभिड–१९ केन्द्रका प्रमुख वैजनाथ साह भने यसअघि महामारी उत्कर्षमा पुग्दा माग गरेजति अक्सिजन नपाइएको बताउँछन्। दैनिक संक्रमित बढिरहेका कारण आपतकालीन समयमा समस्या हुन नदिन अक्सिजन तयारी अवस्थामा राख्नुपर्ने साहको भनाइ छ। 

महामारीको दोस्रो लहर उत्कर्षमा पुग्दा अक्सिजन अभावका कारण प्रदेश २ का अस्पतालहरूमा बिरामीलाई भर्ना नलिने र अधिकांशलाई रेफर गर्नुपर्ने बाध्यता थियो। तर, सम्भावित तेस्रो लहरमा अक्सिजन अभाव पहिलेजस्तो नहुने प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादव बताउँछन्। 
दोस्रो लहरका बेला प्रादेशिक अस्पताल जनकपुरको कोभिड वार्डमा प्रत्येक दिन सय सिलिन्डर खपत हुन्थ्यो। तर, आपूर्ति कहिले ३० त कहिले ४० मात्रै हुँदा उपचारमा समस्या आएको थियो। अवस्था सामान्य हुँदै गएपछि ३ सय सिलिन्डर तयारी अवस्थामा राखिएको यादवको भनाइ छ। 
‘हामीसँग ३ सय सिलिन्डर छन्, जसमध्ये ५० वटा प्रदेश सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सञ्चालन गरेको कोभिड विशेष अस्पतालमा पठाएका छौं। बाँकी सबै हामीसँग छन्’, उनी भन्छन्, ‘हामीसँग अक्सिजन प्लान्ट मेसिन पनि उपलब्ध छ। त्यसको सञ्चालनका लागि सम्पूर्ण बन्दोबस्त पूरा गर्न तदारुकताका साथ काम भइरहेको छ।’ प्लान्ट प्रत्येक दिन डेढ सय सिलिन्डरसम्म भर्न सक्ने क्षमताको रहेको उनको भनाइ छ। 

दाताको भरमा प्लान्ट
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जेठ १४ गते अक्सिजन अभावमा सात बिरामीले ज्यान गुमाएका थिए। गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल भनिए पनि यहाँ अक्सिजन प्लान्ट छैन। निजी उद्योगबाट किनेर काम चलाउँदै आइएको छ। तर, अब त्यस्तो घटना नदोहोरिने आशा गर्न सकिन्छ। यो अस्पतालका लागि ठूलो क्षमताको अक्सिजन प्लान्ट आएको छ। 
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको अस्पताललाई एमाले भ्रातृसंस्था प्रवासी नेपाली मञ्चले अक्सिजन प्लान्ट पठाएको हो। चीनमा किनिएको प्लान्ट अघिल्लो साता अस्पताल आइपुगेको छ। अर्काे साता प्लान्ट जडान गरिने प्रष्ठिानका निर्देशक डा. भरत खत्रीको भनाइ छ।

प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षेत्री क्षेत्रीय अस्पताललाई आवश्यक पर्ने क्षमतामै प्लान्ट आएको बताउँछन्। प्लान्टमा कम्पनीले २ वर्षको वारेन्टी दिएको छ। बतास फाउन्डेसनमार्फत अभियान चलाए पनि प्लान्ट कहिले आउने भन्ने टुंगो नभएको डा. क्षेत्रीको भनाइ छ। ‘कोभिडको तेस्रो लहर पनि आउन सक्ने लक्षण छ। हामीलाई त अक्सिजन प्लान्ट तुरुन्तै चाहियो’, उनी भन्छन्, ‘बतासबाट पहिला आएको भए उहाँहरूकै राख्नु हुन्थ्यो।’ डा. क्षेत्रीकै भनाइमा अस्पताल आफैंले पनि प्लान्ट स्थापना गर्न ठेक्का सम्झौता भई प्रक्रिया अगाडि बढेको छ। 

प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल पोखरा ३० मा पनि दाताकै सहयोगमा अक्सिजन प्लान्ट जडान भएको छ। प्लान्टले दैनिक १ सय सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन सुनाउँछन्। 
दोस्रो लहरका बेला लुम्बिनी प्रदेशमा उत्पादनको अनुपातमा १ हजार १ सय सिलिन्डर अक्सिजन अपुग देखिएको छ। दैनिक करिब २ हजार २ सय सिलिन्डर अक्सिजन आवश्यक पर्नेमा त्यसको आधा मात्र सिलिन्डर उत्पादन हुने गरेको छ। 
अक्सिजन अभावले बिरामीहरूले सास्ती खेप्नु परेको छ। तर निकट भविष्यमा अभाव झेल्नु नपर्ने देखिएको छ। साविकको राप्ती क्षेत्रका पहाडी जिल्लाहरू प्यूठान, रोल्पा, सल्यान, पूर्वी रुकुमसहित सिंगो दाङलाई पुग्ने गरी दाङका विभिन्न क्षेत्रमा अक्सिजन उत्पादनको अन्तिम तयारी भइरहेको छ। 

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ साविक राप्तीलाई नै पुग्ने गरी अक्सिजन उत्पादनको काम अन्तिम चरणमा पुगेको बताउँछन्। दुई साताभित्र राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरले ७५, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले २ सय, दाङ अक्सिजन उद्योगले २ सय र एक महिनाभित्र सोनापुर सिमेन्टले ४ सय ५० सिलिन्डर उत्पादन गर्दै छन्। दाङबाटै प्रतिदिन ९ सय ५० सिलिन्डर उत्पादन हुने भएपछि लुम्बिनी प्रदेश अक्सिजनमा निर्भर हुने देखिएको छ। 

अपुग अक्सिजन अबका दिनमा सहज आपूर्ति हुने देखिएको प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक एवं अक्सिजन व्यवस्थापन समितिका संयोजक महेश्वर श्रेष्ठको भनाइ छ। संघीय सरकारको बजेटमा लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा प्लान्ट सञ्चालनको तयारी भइरहेको छ। 

साउनभित्रै अक्सिजन उत्पादन हुनेगरी काम अघि बढेको प्यूठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नविन दर्नाल बताउँछन्। प्लान्टमा ठूलो सिलिन्डर प्रतिदिन ५० देखि ५५ वटा भर्न सक्ने गरी उत्पादन हुने उनको भनाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको १ करोड ५० लाख रुपैयाँ बजेटमा अस्पताल परिसरभित्रै अक्सिजन प्लान्ट निर्माण गरिएको हो। गुल्मीमा भदौ दोस्रो सातासम्म अक्सिजन प्लान्ट जडान गर्ने गरी काम भइरहेको छ। 
कर्णाली प्रदेशका अधिकांश अस्पतालमा प्लान्ट जडान भइसकेका छन्। केही अस्पतालले जडान प्रक्रिया थालेका छन्। प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र रुकुम पश्चिमको चौरजहारी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन भइसकेका छन्। 

प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्का भन्छन्, ‘हाम्रो अस्पतालमा दुईवटा प्लान्ट सञ्चालनमा आएका छन्। केन्द्र सरकारको सहयोगमा चाँडै अर्को प्लान्ट जडान गर्दैछौं।’ दैनिक सयभन्दा बढी सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ। अब पहिलेजस्तो अक्सिजनको समस्या नहुने उनी बताउँछन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक ९० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने प्लान्ट जडान भइसकेको छ। प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलका अनुसार अब अर्को प्लान्ट जडान गर्ने तयारी छ। भन्छन्, ‘हामी तयारी हालतमा छौं, पहिलेजस्तो डराउनुपर्ने अवस्था छैन।’ सोही बजेटबाट कालिकोट र हुम्लाले प्लान्ट जडान गरिसकेका छन्। जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कटकबहादर महतले भने, ‘हामीकहाँ दैनिक ४८ सिलिण्डर अक्सिजन उत्पादन हुन्छ, हामी अक्सिजनमा आत्मनिर्भर भयौं।’ 

प्रदेशका दैलेख, जाजरकोट, मुगु, सल्यान र डोल्पाका जिल्ला अस्पतालमा पनि प्लान्ट जडान प्रक्रिया चलिरहेको प्रदेश सरकारले जनाएको छ। यस्तै प्रदेश राजधानी वीरेन्द्रनगरमा ठूलो क्षमताको प्लान्ट जडानको काम चलिरहेको छ। यसबाट दैनिक १ सय ४० सिलिन्डर भर्न सकिनेछ। 
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकल पर्सन श्यामलाल आचार्य प्रदेशका ठूला अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन उत्पादन सुरु भएको बताउँछन्। सामाजिक विकास

मन्त्री यज्ञबहादुर बुढाका अनुुसार अब कोरोना नियन्त्रणमा बजेट अभाव हुनेछैन। सम्भावित तेस्रो लहरसँग जुध्न प्रदेश सरकार पूर्वतयारीमा जुटिसकेको उनको भनाइ छ।
बागमती प्रदेश सरकारअन्तर्गतका अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान कार्यले तीव्रता पाएको छ। दोस्रो लहरका क्रममा अक्सिजन चरम अभाव भएपछि प्रदेश सरकारले प्रत्येक जिल्लामा प्लान्ट बनाउने घोषणा गरेको थियो। प्लान्ट निर्माण प्रक्रियामा रहे पनि त्यसले तीव्रता पाउन सकेको थिएन। तर, तेस्रो लहरको  खतरा औंल्याएपछि प्लान्ट निर्माणको काम अघि बढाइएको हो। 

प्रदेश सरकार मातहतका सात जिल्ला अस्पतालमा प्लान्ट जडान गर्न टेन्डरमार्फत सामग्री ल्याउने क्रममा छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ५ करोड ५० लाख रुपैयाँ खर्चेर सामग्री खरिद गरेको हो। ‘प्लान्टका सामग्री आउने क्रममा छन्। हामी बढीमा दुई साताभित्र जडान गरी अक्सिजन उत्पादन थालिसक्ने छौं’, केन्द्रका निर्देशक बसन्त अधिकारी भन्छन्। 
अधिकारीका अनुसार काठमाडौंस्थित टोखा अस्पताल, ललितपुरस्थित बज्रबाराही अस्पताल, काभ्रेस्थित मेथानकोट अस्पताल, धादिङ अस्पताल, रसुवा अस्पताल र  चितवनस्थित रत्ननगर अस्पतालमा प्लान्ट जडान गरिनेछ। रामेछाप र सिन्धुपाल्चोका लागि प्लाप्टको सामग्री आउने क्रममा रहेको अधिकारीको भनाइ छ। ती अस्पतालमा प्रतिदिन ५० सिलिन्डर अक्सिजन उत्पादन हुने प्लान्ट जडान गरिने उनको भनाइ छ। 

भक्तपुर अस्पताल र दोलखाको चरिकोट अस्पतालमा संघीय सरकारको लगानीमा अक्सिजन प्लान्ट निर्माण हुने क्रममा रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता पुरुषोत्तम सेढाईंको भनाइ छ। हेटौंडा अस्पतालमा उद्योग संघ मकवानपुरको सहयोगमा प्रतिदिन १ सय १० सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट निर्माणको क्रममा रहेको छ। 
४ अस्पतालमा प्लान्ट सञ्चालन 
हेटौंडा अस्पतालमा दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन हुने प्लान्ट छ। ‘कोभिडको दोस्रो लहरसँगै हेटौंडा उपमहानगरपालिकाले प्लान्ट निर्माण गरिदिएको हो’, अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष राजेश प्रसार्इं भन्छन्, ‘तर, यसको उत्पादनले हामीलाई पुग्दैन। कोभिड संक्रमण बढ्दै गएपछि हाल दैनिक १ सय ५० सिलिण्डरसम्म अक्सिजन खपत भएको थियो।’ 

कोभिड दोस्रो लहर उच्च बिन्दुमा पुग्दा हेटौंडा अस्पतालमा दैनिक २ सय ४० सिलिन्डरसम्म अक्सिजन खपत भएको थियो। हेटौंडा अस्पतालसँगै सिन्धुली अस्पताल, धादिङ अस्पताल र नुवाकोटको त्रिशूली अस्पतालमा दैनिक २० सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्न सक्ने प्लान्ट चालू अवस्थामा छन्। 

प्रत्येक जिल्ला अस्पतालमा ५० देखि एक सयवटा सिलिण्डर मौज्दात रहेको मन्त्रालयले जनाएको छ। साथै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा छ सय वटा सिलिण्डर मौज्दात रहेको केन्द्रका निर्देशक अधिकारी बताउँछन्। ‘स्थानीय तहसम्म हामीले अक्सिजन सिलिन्डर र अक्सिजन कन्सनटेटर पठाएका छांै’, उनी भन्छन्, ‘दोस्रो लहरमा जस्तो अक्सिजनको चरम अभाव हुने अवस्था आउँदैन।’ 
कोभिडको तेस्रो लहर आए पनि अक्सिजनको ५० प्रतिशत बढी माग जिल्लामा सञ्चालित प्लान्टहरूबाटै पूर्ति हुने केन्द्रको अनुमान छ। प्रदेश सरकारले  चीन, यूएसएलगायत देशले अनुदानमा दिएको सिलिण्डर मौज्दात राखेको हो। 

सुदूरपश्चिममा छैन सुरसार

सुदूरपश्चिमका प्रादेशिक र जिल्ला अस्पतालहरूमा भने अझै अक्सिजन प्लान्ट जडान गरिएको छैन। संघीय सरकार र प्रदेश सरकारले सुदूरपश्चिमका सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेलधुरा अस्पतालसहित नौवटै जिल्लाका अस्पताललाई प्लान्ट जडान गर्न बजेट दिएका थिए। तर, बझाङ जिल्ला अस्पतालबाहेक अरू कुनै पनि अस्पतालले प्लान्ट जडान गरेका छैनन्। कैलालीको सेती प्रादेशिक अस्पतालमा भने संघीय सरकारले लिक्विड अक्सिजन जडान कार्य सुरु गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे २ हजार सिलिन्डर क्षमताको लिक्विड अक्सिजन ट्यांक जडान भइरहेको बताउँछन्।

अस्पतालमा रहेको मिनी अक्सिजन प्लान्टले महामारीका बेला २५ प्रतिशत बिरामीलाई मात्रै धानेको थियो। ‘२ हजार सिलिन्डर क्षमताको ट्यांक आइसकेको छ’, पाण्डे भन्छन्, ‘संघीय सरकारले एनआरएनले दिने भनेको ठूलो अक्सिजन प्लान्ट पनि पठाउने भनेको छ। ह्वीमिनिटि फाउन्डेसनले पनि एउटा मिनी अक्सिजन प्लान्ट जडान गरिदिने भनेको छ। यी सबै प्लान्ट जडान गर्न महिना दिन लाग्न सक्छ।’

कैलालीकै टीकापुर अस्पतालमा ३० दिनभित्र प्लान्ट जडान गर्ने सम्झौता भए पनि तीन महिना बित्नै लाग्दा पनि काम भएको छैन। प्लान्टका लागि सुदूरपश्चिम प्रदेश सरकारले ८० लाख रुपैयाँ छुट्ट्याएको थियो। त्यस्तै आर्थिक वर्षको अन्तिममा प्लान्टकै लागि भन्दै संघीय सरकारबाट ७५ लाख रकम अस्पतालमा आएको थियो। टीकापुर नगरपालिकाले २० लाख, जानकी गाउँपालिकाले १५ लाख रकम उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए। टीकापुर अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रेमकुमार राई कोरोना संक्रमणका कारण सप्लायर्सले तोकिएको समयमा प्लान्ट जडान गर्न नसकेको बताउँछन्। 

डडेल्धुरामा पनि संघीय सरकारको साढे ३ करोड लागतमा जडान हुने भनिएको प्लान्टको काम सम्पन्न भएको छैन। ‘अबको एक सातामा अक्सिजन प्लान्ट जडान हुन्छ। दैनिक २ सय सिलिन्डर भर्न सकिने भएकाले त्यसले सुदूरपश्चिमका अरू जिल्लालाई पनि सपोर्ट हुनेछ’, मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्ट भन्छन्। अस्पतालमा दैनिक २७ सिलिन्डर अक्सिजन भर्न सक्ने प्लान्ट भए पनि त्यसले कोभिडका बेला थोरै बिरामी धानेको थियो।

बाजुरा जिल्ला अस्पतालका प्रमुख डा. प्रकाश जोशी टेन्डर खोलेर सबै प्रकृया अगाडि बढाइसके पनि सडक भत्किएकाले सामान ल्याउन नसकिएको बताउँछन्। हेल्थ कियर सप्लायर्सले आपूर्तिकोे ठेक्का पाएकोमा उसले साउनभित्र जडान गर्ने सम्झौता गरेको छ। अक्सिजन प्लान्ट खरिद भइसकेको, साउन २५ गते भित्र धनगढी पुग्ने र त्यसपछि बाजुरा कसरी ल्याउने भन्नेबारेमा छलफल भइरहेको डाक्टर जोशी बताउँछन्।

अछाममा पनि अक्सिजन प्लान्ट जडानको सुरसार छैन। चीनबाट सामग्री काठमाडौं एयरपोर्टमा आइपुगेको जिल्ला अस्पतालका डाक्टर सोनाली बाँस्कोटाको भनाइ छ। एक सातामा अछाम आइपुग्ने डा. बाँस्कोटा बताउँछिन् । संघीय सरकारबाट ७५ लाख र सुदुरपश्चीम प्रदेश सरकारबाट ८० लाख बजेट विनियोजन भएको थियो। 
प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रले जिल्ला अस्पताल डोटीका लागि खरिद गरेको अक्सिजन प्लान्ट पनि जडान हुन सकेको छैन। गत आर्थिक बर्षमै जडान हुनुपर्ने भए पनि अहिलेसम्म कुनै काम नभएको हो। डोटीमा अक्सिजन प्लान्टका लागि प्रदेश सरकारले ८० लाख र संघीय सरकारले १ करोड २० लाख रकम विनियोजन गरेको थियो।
प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदमबहादुर विष्ट अक्सिजन प्लान्ट काठमाण्डौं पुगिसकेको, आपूर्तिकर्ताले जानकारी दिएको बताउँछन्। ‘साउन महिनाभित्र जडान गरेर उत्पादन सुरु हुन्छ भनेको छ’, विष्ट भन्छन्।

कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा यूएनओपीएसको ४ करोड लागतमा अक्सिजन प्लान्ट बन्न लागेको छ। प्लान्ट निर्माणका लागि डेनमार्कको अक्सनिट नामक कम्पनीसँग सम्झौता भएर काम अघि बढिसकेको महाकाली अस्पतालका मेसु हरिकुमार श्रेष्ठको भनाइ छ। 
‘६१ वटा सिलिण्डर पाइपलाइनबाट सिधै बिरामीसम्म पुग्नेछन्। अथवा दैनिक ९० वटा अक्सिजन सिलिण्डर उत्पादन हुनेछन’ मेसु श्रेष्ठ भन्छन्। प्लान्ट निर्माणका लागि ८० प्रतिशत सामग्री आइपुगेको अस्पतालले जनाए पनि जडान कार्य भने भएको छैन।
जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुला र टीकापुर अस्पतालमा पनि अक्सिजन प्लान्टका लागि टेन्डर भइसकेको छ। तर, सप्लायर्सले अझै प्लान्टहरू जिल्ला अस्पतालहरूमा पुगाएका छैनन्। 

सिलिन्डरकै अभाव 
देशका विभिन्न क्षेत्रमा कोरोना संक्रमण बढिरहेका बेला फेरि अक्सिजनको चर्को अभाव हुने अवस्था देखिएको छ। संक्रमण वृद्धिको तुलनामा अक्सिजन उपलब्धता न्यून रहेको उद्योगीको भनाइ छ। पछिल्लो समय उद्योगबाट पूर्ण क्षमतामा अक्सिजन उत्पादन हुन नसक्नुमा सिलिन्डरको चर्को अभाव हो। १८ हजार सिलिन्डरमध्ये उद्योगमा खोज्दा ५ सय संख्यामा पनि खाली भेट्ट्याउन नसकिएको अक्सिजन उत्पादक संघका महासचिव नारायणदक्त तिम्लिसिना बताउँछन्। 

‘भएका सम्पूर्ण सिलिन्डर अस्पताल, सेना प्रहरी र सर्वसाधारणले लगेका छन्। छरिएका छन्। होल्ड गरी राखिएका छन्’, महासचिव तिम्लिसिना भन्छन्, ‘उनीहरूले लगेको सिलिन्डर अहिलेसम्म फिर्ता भएको छैन। ती सिलिन्डर कुन अवस्थामा कहाँ–कहाँ छन्, हामीलाई नि जानकारी दिइएको छैन। यस्तो अवस्थामा कसरी कुन सिलिन्डरको सहयोगमा अक्सिजन उत्पादन गर्न सक्छौं ?’ 

विभिन्न मुलुकबाट ठूलो संख्यामा सिलिन्डर भित्रिए पनि निजी क्षेत्रलाई जानकारी नभएको अध्यक्ष गौरव शारदाको भनाइ छ। अध्यक्ष शारदाका अनुसार अक्सिजन भर्न निजी उद्योगीलाई उपलब्ध गराइएको छैन। 
‘सरकारले हाम्रै सिलिन्डर फिर्ता गरेको छैन’, शारदा भन्छन्, ‘बाहिरबाट ल्याइएको भनिएको सिलिन्डर पनि हामीलाई दिइएको छैन। अनि कसरी स्वदेशमै उद्योगीले अक्सिजन सिलिन्डर उत्पादन गर्न सक्छ ?’ 

संघका अनुसार संकट परेपछि युद्धस्तरमा तयारी गर्ने सरकार संक्रमणदर घटिरहेको समयमा फेरि सुस्ताएका कारण अक्सिजनको समस्या समाधान भएको छैन। ‘हामीकहाँ समस्या आउनुअघि पूर्वतयारी गर्ने प्रणालीको विकास भएको छैन’, अध्यक्ष शारदा भन्छन्, ‘संक्रमण घटिरहेको अवस्थामा पूर्णरूपमा आवश्यक तयारी गरिएको भए फेरी फैलिँदै गएको संक्रमणदरलाई थोरै भए पनि व्यवस्थापन गर्न सकिन्थ्यो।’

उनका अनुसार उपत्यकाबाहिर पूर्वी क्षेत्रमा अक्सिजन माग बढ्दो छ। काठमाडौं उपत्यकाका केही अस्पतालमा पनि माग बढेको छ। माग बढ्दै गए पनि निजी क्षेत्रका उद्योगको उत्पादनमा कुनै परिवर्तन आएको छैन। संक्रमणअघि जे जति परिमाणमा उत्पादन भइरहेको थियो त्यही अवस्था रहेको महासचिब तिम्लिसिना बताउँछन्। 
उनका अनुसार काठमाडौं उपत्यकाका आठ उद्योगबाट ८ हजार सिलिन्डर उत्पादन गर्ने क्षमता छ। तर, ती उद्योग अहिले करिब ५० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा छन्। देशभर गरी करिब २२ उद्योगबाट करिब १८ हजार सिलिन्डर दैनिक अक्सिजन उत्पादन हुन्छ। निजी क्षेत्रबाट उत्पादन हुने अक्सिजनमध्ये करिब ५५ प्रतिशत औद्योगिक क्षेत्रमा र बाँकी ४५ प्रतिशत विभिन्न अस्पतालमा खपत हुने गरेको तिम्लिसिना बताउँछन्।   साभार ः अन्नपुर्ण पोष्ट दैनिक 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा