कम्युनिस्टहरूले महँगोमा लालपूर्जा दिने योजना बनाए, हामी सस्तैमा दिन्छौँ : एनपी साउद
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कम्युनिस्टहरुले सत्ताबाट बाहिरिसकेपछि लालपूर्जा बाँड्ने भ्रम फैलाइरहेको बताएका छन्। कञ्चनपुरको झलारीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता साउदले कम्युनिस्टहरुले बिक्री मूल्यभन्दा पनि महँगोमा जग्गा वितरण गर्ने र पार्टीलाई पोस्ने योजना बनाएको दाबी गरे।
उनले भने, ‘कम्युनिस्टहरुले सत्तामा हुँदा साढे तीन वर्षसम्म केही पनि गरेनन्। तर, सत्तामा टिक्नै नसक्ने अवस्था भएपछि लालपूर्जा बाँड्ने हल्ला गरे र आयोग गठन गरे। विगतमा हामीले बनाएका आयोग पनि कम्युनिस्ट आएपछि खारेज गरेकै हुन्। आज हामीले पनि उक्त आयोग खारेज गर्ने निर्णय गरेका छौँ। फरक यत्ति हो कि कम्युनिस्टहरुले ५० औं वर्षदेखि भोगचलन गरेको जग्गालाई बिक्री मूल्यभन्दा पनि महँगोमा नापजाँच गर्ने र पार्टी पोस्ने रणनीति बनाएका थिए।’कांग्रेस नेतृत्वको सरकारले उक्त रणनीतिलाई असफल पार्दै जग्गाको सही मूल्यांकन गरेर सस्तोमा जग्गा उपलब्ध गराउने नेता साउदले बताए।
उनले भने, ‘जनताको जग्गा जनतालाई बाँडेर पार्टीलाई पोस्ने काम असफल भएपछि केहीले विरोध गरिरहेका छन्। कांग्रेस नेतृत्वको सरकारले अब चाँडै सुकुम्बासी आयोग बनाएर सस्तोमा जग्गा वितरण गर्नेछ।’
आरक्षको समस्या आफूले नै सुशील कोइराला नेतृत्वको सरकारमा मन्त्री हुँदा समाधानको तहमा काम गरेको र केहीलाई पैसासमेत वितरण गरेर टुंग्याइएको बताए।
उनले भने, ‘यो समस्या धेरै हदसम्म समाधानको तहमा पुगाएका थियौं। तर, केहीलाई जग्गा खोजेर उपलब्ध गराउने र पैसा वितरणको गराउन बाँकी रहँदा सरकार परिवर्तन भयो र त्यो काम कम्युनिस्ट सरकारले अलपत्र पार्यो।’
साढे तीन वर्षसम्म एकजना आरक्ष पीडितलाई पनि जग्गा उपलब्ध गराउन नसकेको कम्युनिस्ट सरकारले अहिले सत्ताबाट बाहिरिएपछि भ्रम फैलाइरहेको उनको टिप्पणी थियो।
उनले थपे, ‘साढे तीन वर्षसम्म कुनै आरक्षपीडितले जग्गा पायो? अनि अहिले जग्गा दिने भनेर हल्ला गरिरहेका छन्। एक पुर्जा नदिने अनि कुरा ठूलो गर्ने? यस कुरालाई कांग्रेस साथीहरुले नागरिक तहमा बुझाउन आवश्यक छ। यो समस्या समाधान गर्न कांग्रेस तयार छ। समस्या समाधान गर्छौं गराउँछौं।’
सुकुम्बासी आयोग गठन गर्ने कुरामा ढिलाइ नगरिनेसमेत उनले प्रतिबद्धता व्यक्त गरेका छन्।