तेस्रो लहरको सम्भावना कति ?

news
news
August 06, 8:50

विज्ञ भन्छन्– ‘अबको ३० देखि ४५ दिन अत्यन्त क्रिटिकल’

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरबाट बच्न तयारी अवस्थामा रहन सचेत गराउँदै पटकपटक विज्ञप्ति निकाल्दै आएको छ । कोरोना भाइरसको डेल्टा भेरिएन्टकै परिवर्तित रूप कप्पा भेरिएन्टसमेत पुष्टि भएकाले स्वास्थ्य मापदण्ड थप कडाइका साथ पालना गर्न निर्देशसमेत गरिरहेको छ । तर के कोरोना महामारीको तेस्रो लहर चाँडै आउँदै छ ? वा, दोस्रो लहरकै निरन्तरता हो ?कोभिड–१९ को सक्रिय संक्रमितको संख्या पछिल्लो दिन उल्लेख्य वृद्घि देखिए पनि यो दोस्रो लहरकै निरन्तरता रहेको विज्ञहरूले बताएका छन् । तेस्रो लहर आएको भए हालको जस्तो मध्यम गतिमा संक्रमण नबढ्ने उनीहरूको दाबी छ । तर, स्वास्थ्य मापदण्ड पालनाप्रति बढ्दो लापरबाहीले दोस्रो लहर समाप्त नहुँदै तेस्रो लहर आउन सक्ने जोखिमसमेत उनीहरूले औंल्याएका छन् । भारतमा दसैंताका तेस्रो लहरको सम्भावना रहेकाले नेपालमा पनि त्यससँगै तेस्रो लहर देखिने उनीहरूको आकलन छ ।

‘निषेधाज्ञा खुकुलो भएपछि साउन पहिलो साता संक्रमण बढेको थियो, १०–१२ दिनदेखि करिब उस्तै अवस्था छ,’ त्रिवि शिक्षण अस्पताल, कोभिड व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले भने, ‘यो दोस्रो लहरकै निरन्तरता हो, निषेधाज्ञा हटेपछि आमसर्वसाधारणको सक्रियता बढेको र स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा समेत लापरबाही गरिएकाले संक्रमण बढेको हो ।’ केही दिनयता संक्रमणले दोस्रो लहरकै ढाँचालाई पछ्याइरहेको उनले बताए । ‘तेस्रो लहर आएको भए ढाँचा नै फरक हुन्थ्यो,’ डा. दासले भने, ‘कोभिडको नयाँ तरंग नेपाल आइसकेको भए संक्रमणको गति यति सुस्त हुने थिएन ।’ बिरामीमा देखिएको लक्षणले पनि दोस्रो लहरकै निरन्तरता पुष्टि हुने उनको भनाइ छ ।

हाल अस्पताल भर्ना हुने बिरामीमा दोस्रो लहरमा जस्तै मुख्य रूपमा दुवै फोक्सोमा संक्रमण र अक्सिजनको कमीजस्ता समस्या देखिएको विज्ञहरूको भनाइ छ । संक्रमण दरलाई विश्लेषण गर्दा पनि महामारीको दोस्रो लहरकै निरन्तरता मान्न सकिने उनीहरूले बताए । हाल पीसीआर परीक्षण गराउने हरेक चार जनामध्ये एक जनामा संक्रमण पुष्टि भएको छ ।

बिहीबार देशभरि ११ हजार ९७० नमुनाको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि दर २५.३३ प्रतिशत अर्थात् ३ हजार ७ जनामा कोभिड संक्रमण देखिएको छ । बुधबार संक्रमण पुष्टि दर २६.२ प्रतिशत थियो । साउन १ मा यो दर २०.८६ प्रतिशत थियो । ‘बीचमा संक्रमणको अवस्था तलमाथि भए पनि यो दोस्रो लहरकै निरन्तरता हो,’ राष्ट्र्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाह भन्छन्, ‘मुलुकमा कोभिड संक्रमणको दैनिक दर २०–२२ प्रतिशतभन्दा तल कहिले भएन ।’

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म सक्रिय संक्रमित ३४ हजार ४ सय २२ जना छन् भने साउन १ मा यो संख्या २६ हजार ८ सय २७ थियो । हाल काठमाडौंमा सबैभन्दा बढी ७ हजार ८० जना सक्रिय संक्रमित छन् । त्यसपछि झापामा २ हजार ३ सय ८४ र कास्कीमा १ हजार ९ सय ९० सक्रिय संक्रमित छन् । साउनयता हरेक दिन सरदर ३६१ जना नयाँ बिरामीसमेत थपिएका छन् । तर, देशभरका अस्पतालमा कोभिडका बिरामी भर्नाको ट्रेन्ड उस्तै देखिएको स्वास्थ्य मन्त्रालय सहप्रवक्ता डा. समीर अधिकारीले बताए ।

हाल देशभर आईसीयूमा ७१३ र भेन्टिलेटरमा १५८ जना छन् । राजधानीमा मात्रै आईसीयूमा १८८ जना र भेन्टिलेटरमा ६१ जना बिरामी उपचाररत छन् । ‘राजधानीमा कोभिडका लागि छुट्याइएको आईसीयू ६० प्रतिशत भरिइसके भने भेन्टिलेटरमा ४४ प्रतिशत छन्,’ वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसी भन्छन्, ‘पाँच दिन अगाडि पनि ६० प्रतिशत नै आईसीयू भरिएका थिए । पाँच दिन अगाडि १८ जनाको मृत्यु भएकामा बिहीबार दोब्बर (३७ जना) ले ज्यान गुमाएका छन् ।’ पाँच दिनयता दैनिक मृत्युको संख्या बढिरहे पनि सघन उपचारमा रहेकाको संख्या उस्ताउस्तै देखिन्छ । ‘यो दोस्रो लहरकै निरन्तरता भए पनि तेस्रो लहर आउन सक्ने जोखिम कायमै छ,’ उनले भने ।

डा. दास पहिलो र दोस्रो लहर भारतमा देखिएपछि मात्र नेपालमा आएकाले तेस्रो लहर पनि त्यस्तै हुने अनुमान गर्छन् । ‘भारतसमेत अझै दोस्रो लहरसँगै जुधिरहेको छ, त्यहाँ तेस्रो लहर जुनसुकै समय सुरु हुन सक्ने खतरा कायमै छ,’ उनले भने ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. जीडी ठाकुर सूचना, तथ्यांकलगायतका अवस्था विश्लेषण गर्दा नेपालमा अझै दोस्रो लहर पूरा भएको छैन । तर, जनस्वास्थ्यको मापदण्ड कडाइसाथ पालनामा भइरहेको लापरबाहीले भयावह अवस्था निम्त्याउन सक्ने हुँदा त्यहीअनुसार तयारी थाल्न उनको सुझाव छ । डा. ठाकुरको भनाइमा नेपालका लागि आगामी ३० देखि ४५ दिन अत्यन्त ‘क्रिटिकल’ छ । ‘दोस्रो लहर समाप्त नहुँदै नेपालमा केही दिनमै तेस्रो लहरसमेत आउन सक्ने जोखिम छ,’ उनले भने ।कान्तिपुर

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा