कोरोना संक्रमण : बाजुरा जिल्ला अस्पतालका बेड बालबालिकाले भरिए

news
news
August 12, 5:03

जिल्ला अस्पताल बाजुराका सबै बेड एक सातायता बिरामी बालबालिकाहरूले भरिएका छन् । अस्पतालमा अहिले दैनिक ६० भन्दा बढी श्वासप्रश्वास र निमोनियाको समस्या भएका बालबालिकाहरू उपचारका लागि आउने गरेका छन् ।

उपचारका लागि ल्याइने बिरामी बालबालिकामध्ये पनि पाँचभन्दा बढीलाई बेड भर्ना गर्नुपर्ने खालको कडा निमोनिया र श्वासप्रश्वासको समस्या रहेको पाइएको सो अस्पतालले जनाएकाे छ । जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाश जोशीका अनुसार सबै बेड बच्चाहरूले भरिइसकेका छन् ।

उनले अस्पतालमा अहिले ३७ जना बालबालिकाहरूलाई बेडमा भर्ना गरेर उपचार गरिराखिएको बताए ।  

जिल्ला अस्पताल बाजुरामा आएका दुई बिरामी बच्चामा कोरोना संक्रमण देखिएको डा. जोशीले जानकारी दिए । एक जना बच्चालाई जिल्लामा उपचार सम्भव नभएका कारण काठमाडौं लग्दा त्यहाँ गरिएको परीक्षणमा कोरोना देखिएको र अर्को एक जना बच्चाको बाजुराबाट स्वाब संकलन गरी डोटीमा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको डा. जोशीले बताए । उनका अनुसार जिल्लामा चार वर्षयताकै एकैचोटि धेरै बालबालिका बिरामी भएको यो पहिलो पटक हो ।

डा. जोशीले भने, ‘जिल्ला अस्पताल बाजुरामा पछिल्लो समय आउने सबै बिरामी बालबालिका रहेको र उनीहरूमा कडा निमोनिया, झाडापखाला र श्वासप्रश्वासको समस्या देखिएको छ । बेड भर्ना भएका अधिकांश बालबालिकालाई अक्सिजन प्रयोग गर्नुपरेको छ । गाउँगाउँबाट बालबालिका बिरामी भएर आउने दर ह्वात्तै बढेको छ ।’

जिल्ला अस्पताल मात्र नभएर बाजुरामा सञ्चालित पोलिक्लिनिकमा पनि बालबालिका बिरामी भएर आउने दर बढेको छ । सुन्दार बडिमालिका पोलिक्लिनिक सञ्चालक रामचन्द्र यादवले अस्पतालमा जस्तै क्लिनिकमा पनि पछिल्लो समय बिरामी बालबालिकाको संख्या ह्वात्तै बढेको बताए । 

खप्तड छेडदह गाउँपालिका–४ बाट बच्चाको उपचार गरेर चार दिनदेखि सदरमुकामको अस्पतालमा पुगेका प्रसाद सार्की भन्छन्, 'सुरुमा बच्चालाई रुघाखोकी लाग्यो, निको भइहाल्ला भनेर गाउँको स्वास्थ्य संस्थामा लिएर गयौँ । निको नभएपछि यहाँ ल्याएका हौँ । चार दिनदेखि यहाँ उपचार गराइरहेका छौँ । अहिलो कडा निमोनिया भएको रहेछ । अक्सिजन प्रयोग गर्नुपरेको छ ।’

उनीसँगै बडिमालिका– ७ की दुर्गा थापा पनि तीन दिनदेखि आफ्नी छोरीलाई भर्ना गरेर उपचार गराइरहेकी छन् । उनकी छोरीलाई पनि रुघाखोकी लागेर निको नभएपछि जिल्ला अस्पतालमा ल्याइएको  हो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा