थप ३,४५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु
धनगढी, ३२ साउन – पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५ सय ६६ जना र ५ हजार ५ सय १८ एन्टिजेन परीक्षण गर्दा ८ सय ८५ गरी ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार ४ सय ५८ जना निको भएका छन् । सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या ७ लाख ३४ हजार ८ सय ३८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको सङ्ख्या १० हजार ३ सय २७ पुगेको छ भने ६ लाख ८५ हजार १४० जना सङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३९ हजार ३७१ जना रहेका छन् । जसमध्ये ३६ हजार ३७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९५ जना आइसियु र १९७ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै १० वर्ष मुनिका ५० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा ६७७, झापामा ३३२, चितवनमा २०५, कास्कीमा १८३, ललितपुरमा १६७, भक्तपुरमा ११७ र सुनसरीमा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।