जब भारत पुग्नुपर्ने समस्याको दिपायलमै उपचार भयो

sasas
sasas
August 28, 4:26

मोहन पनेरु,डोटी

झण्डै डेढ वर्षअघि आदर्श गाउँपालिका–२ की ३९ वर्षीया महेश्वरी साउँदको तल्लो पेट भारी हुन थाल्यो। केही दिनमा त्यही पेटमा असह्य पीडाको पहाड उब्जिएको महसुस भयो। पेट कट्कटी दुख्न थाल्यो।

दुर्गम गाउँ, अशिक्षित परिवेश! पाठेघरसँग जोडिएको समस्या! त्यही परिवेशबाट ग्रसित उनी सजिलै कहाँ अरुलाई भन्न सक्थिन र त्यो समस्या! उनको सोचलाई ‘लाज’को बादलले जो ढाँकेको थियो।  

‘लाज लाग्यो! सुरुमा कसैलाई भन्न सकिन। केही दिनमा ठीक भैजाला भनेर पीडा दबाएर बसेँ,’ उनी भन्छिन्। उपचारबारे त उनले सोच्दै–सोचिनन्।

श्रीमानसंगै थिए। रातदिन दुखाईले उनको मुटु हल्लाईरहेको थियो। उनले श्रीमानलाई सुईँकोसम्म दिन सकिनन्। यसमा ‘लाज’ मात्र थिएन। घरको परिस्थिती पनि उत्तिकै जिम्मेवार थियो।  

१८ वर्षको उमेरमा पहिलोपल्ट आमा बनेकी थिईन उनी। त्यसयता उनकाे छ जना सन्तान जन्मिए। विपन्न परिवारमा ती सन्तानको लालन–पालन नै चुनौती थियो। परिवारको अवस्थाले ति सन्तान पनि केही कलिलो उमेरमै भारत पसिसकेका थिए।  

उनले जसोतसो पाँच/छ महिना त्यसैगरी पीडाको पहाड आफ्नै मनमा थामिरहिन्। तर, पेटभित्रको पीडा घट्नेभन्दा दिनदिनै बढ्न थाल्यो। दिनहुँ शूल रोपिएजस्तो हुन थाल्यो। ‘पीडा लुकाउँदै एक्लै–एक्लै छट्पटाउँदै घरधन्दा गरिरहेँ,’ उनी भन्छिन्,‘पछि त न पीडा सहन सकिने अवस्था भयो। न काम गर्न सक्ने भएँ।’  

पीडा मात्रै थिएन। पेटको आकार पनि बढ्न थालेपछि श्रीमानको पनि ध्यान तानिन थालेको थियो। त्यसपछि भने उनी श्रीमानलाई भन्न बाध्य भईन्। ‘सोझी मान्छे हुन्। उनले आफ्नो पीडा धेरै दिन लुकाएकी रही छन् उनका श्रीमान नरबहादुर साउँदले भने,‘पेट बढेको देखेपछि मैले सोध्दा मात्रै मलाई भनिन्।’  

त्यसपछि केही समय गाउँकै मेडिकलहरुको औषधि ल्याएर खाने गरिन्। त्यो औषधिले काम गरेन। समस्या बढ्दै गएपछि दिपायलको एक अस्पतालमा उपचार गर्दा समेत कुनै विशेक भएन। ‘मेडिकलको औषधिले कामै गरेन। दिपायल पुगेर अस्पतालमा उपचारमा भएको पैसा सकियो। अझै निको भएन,’ उनका श्रीमान नरबहादुरले भने।  

पछि त उनलाई नियमित उठबसमै समस्या हुन थाल्यो। पेट गर्भवतीको झैँ बढेको देखिन थाल्यो। घरको काम त उनको हातबाट हुनै छाड्यो।  

श्रीमान नरबहादुर चिन्ताले ग्रसित हुँदै गए। ‘ज्यालामजदुरी गरेर खाने मान्छे। दुबैका हातले जसोतसो परिवार चलाएका थियौ,’ उनी भन्छन्,‘उनको उपचार त कहाँ हो कहाँ एक्लैले परिवार धान्नै नसक्ने अवस्थाले छट्पटिन थालेँ।’ र ‘उपचार त गर्नु नै थियो। धेरैले सुनाए, ‘भारतको सितारगञ्ज लगे यस्तो समस्याको उपचार हुन्छ।’ पैसा ८०/९० हजार भारु लाग्ने कुरा सुनियो। ‘यत्रो पैसा कहाँबाट ल्याउने?’ नरबहादुरमा अर्को चिन्ता थपियो।  

त्यो आँट गर्न सकेनन् उनले। बरु दिपायलस्थित सुङ्गज अस्पतालमा स्त्री रोग विशेषज्ञ रहेको कुरा सुनेपछि चार महिना अघि उनी श्रीमतीलाई लिएर त्यतै आए। चेकजाँच भयो। अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. पंकज प्रतापले पाठेघरमा पानी जमेको र त्यसको शल्यक्रिया गर्नुपर्ने सुझाव दिए। ‘डा.साबले अप्रेशन गर्नुपर्छ यही गर्नसकिन्छ भन्नुभयो,’ उनले भने,‘सबै खर्च ६०/७० हजार लाग्ने र दिपायलमै उपचार हुने भन्ने सुनेपछि आशा पलायो।’  

तत्काल उनीसंग त्यति पैसा थिएन। त्यसपछि उनले केही दिनमा फेरि आउने भन्दै महेश्वरीलाई घर लगेर गए। केही दिनमै ऋण र सरसापट गरेर त्यति पैसा जम्मा गर्न सकिने उनको आशा थियो।  

चार महिना लाग्यो। उनले पैसा जम्मा पारे। त्यसपछि श्रीमती ल्याएर सुजङ्ग अस्पताल पुगे। सफल शल्यक्रिया भयो। उनको पाठेघरबाट आधा किलोको पानीको फोका निकालियो। शल्यक्रिया भएको दोस्रो दिन उनी हिँड्न सक्ने भईन्। सात दिनको अस्पताल बसाईपछि उनी डिस्चार्ज भएर घर गईन्। यसबीचमा ७० हजार जती खर्च लागेको नरबहादुर बताउँछन्।

उपचारपछि महेश्वरी दोस्रो जन्म पाएको अनुभूति भएको बताउँछिन्। ‘बाँचौला सोचेकै थिएन। यही समस्याले मर्ने भए भन्ने लागेको थियो,’ उनी भन्छिन्,‘भारत जान पैसा थिएन। अनि आशै मरिसकेको थियो।’  

श्रीमान नरबहादुरको चिन्ता दूर भएको छ। ‘एक वर्ष चिन्तैचिन्ताले थलिईसकेको थिए। श्रीमती कसरी बचाउने साह्रै तनाव थियो,’ उनी भन्छन्,‘धन्न बचाएँ। ऋण त तिर्दै गरुँला।’  

डा. पंकजका अनुसार उनमा भएको समस्यालाई ‘ओभरिन सिस्ट’ भनिन्छ। यसका पनि विभिन्न प्रकारहरु हुन्छन्। अहिले आफूकहाँ आउने बिरामीहरुमा अधिकांशमा यस्तै प्रकृतिको समस्या भेटिने गरको उनी बताउँछन्। महिनावारीमा गडबडी हुँदा यस्ता प्रकृतिका समस्या सिर्जना हुने बताउँछन्।

‘महिनावारीचक्रमा उत्पादन हुने अण्डा एब्नर्मल भए पाठेघरमा जमिएर बस्दा सिस्ट बन्छ,’ उनी भन्छन्,‘जुन समस्या अहिले व्यापक छ।’ यस्तो समस्या भएका महिलाहरुको दिपायलमै उपचार गर्न सकिने उनी बताउँछन्।  

डा. पंकज सुजङ्ग अस्पताल आएको झण्डै एक वर्ष पुगेको छ। यसक्रममा ३० जनामा ओभरिन सिस्टको शल्यक्रिया गरिएको छ। ५० जनाभन्दा बढीको पाठेघरको समस्याबारेको शल्यक्रिया समेत गरिएको सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायर बताउँछन्। उनी भन्छन्, ‘पाठेघरका पानीको फोका जमेका, मासु पलाएका यस्ता समस्याहरुको सफल शल्यक्रिया भईरहेको छ। यस्ता समस्याहरुको उपचारका लागि यहाँका बिरामी अक्सर भारत गईरहेको हुन्छन्।’ 

यस्तै ९५ जनालाई शल्यक्रियामार्फत प्रसूति सेवा दिईएको छ। जुन जिल्ला अस्पताल डोटीभन्दा बढी संख्या हो।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा