एमाले ध्रुवीकरणले प्रदेश सरकारमा हलचल
धनगढी, १६ भदौ । पछिल्लो राजनीतिक ध्रुवीकरणले सुदूरपश्चिम सरकार परिवर्तन निश्चित भएको छ । अब नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नेतृत्वको सरकार यथावत रहँदैन । पछिल्लो राजनीतिक घट्नाक्रम र केन्द्रमा भएको सत्ता साझेदारीका कारण सरकार यथावत नरहने अवस्था सृजना भएको हो ।
यसअघि, तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षीय प्रदेश सभा सदस्यहरुको साथका कारण प्रदेश सरकार सुरक्षित रहेको थियो । हाल यो प्रदेशमा माओवादी केन्द्र, एमाले र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संयुक्त सरकार छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभामा विश्वासको मत लिंदा तत्कालीन नेपाल पक्षका प्रदेश सभा सदस्यहरुले साथ दिएर उनको कुर्सी सुरक्षित गरेका थिए । तर, अब माधव नेपाल नेतृत्वको नयाँ पार्टी गठनसंगै एमाले सरकारबाट बाहिरने र गठबन्धन सरकार गठन हुने अवस्था बनेको छ ।
पछिल्लो राजनीतिक ध्रुवीकरणले गठबन्धनको सरकार गठन हुने सम्भावना बढेको नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य भरतबहादुर खड्काले बताए । उनले सुदूरपश्चिम प्रदेशमा अब नेपाली काङ्ग्रेसको नेतृत्वमा गठबन्धन सरकार गठन हुन सक्ने उल्लेख गरे ।
‘यद्यपि, केन्द्रका शीर्षस्थ नेताहरुबीचको निर्णय नै सर्वोपरि हुनेछ’, उनले भने । यसैगरी, तत्कालीन एमालेका प्रमुख सचेतक तारा लामा तामाङले राजनीतिक आकार लिइसकेपछि प्रदेश सरकार परिवर्तन हुन सक्ने बताए ।
‘तत्काले अहिले केही हुन्न’, उनले भने । यो प्रदेशमा एक जना प्रदेश सभा सदस्यको बर्खास्तीपछि माओवादीसंग हाल १३ जना प्रदेश सभा सदस्य रहेका छन् । यसैगरी, नेपाली काङ्ग्रेसको १२ र जसपाको दुई जना प्रदेश सभा सदस्य छन् ।