देउवाले डडेल्धुरामा बलजफ्ती अधिवेशन गराए, शक्तिको दुरुपयोग गरे : नेता पौडेल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला कार्यसमितिको असहमतिका बीच गाउँपालिका÷नगरपालिका वडा अधिवेशन सुरु भएपछि देउवाइतर समूहले आपत्ति जनाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरामा जिल्ला कार्यसमितिको सहमति र सहभागिताविना वडा अधिवेशन सुरु भएपछि आपत्ति जनाएका हुन्।
उनले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले डडेल्धुरामा प्रशासनिक शक्तिको दुरुपयोग गरेर अधिवेशन गराएको पनि आरोप लगाएका छन्। प्रशासनिक शक्तिको दुरुपयोग गरेर वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भएको पौडेलको भनाइ छ। कांग्रेसको इतिहासमै आन्तरिक निर्वाचनमा शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक भएको उनले बताएका छन्। महाधिवेशनका लागि यो शुभसंकेत नभएको पौडेलले उल्लेख गरेका छन्।
‘नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो। पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र तर व्यवहार अलोकतान्त्रिक’, पौडेलले भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ। महाधिवेशनको लागि यो शुभसंकेत होइन।’
यसअघि उनले सभापति देउवालाई भेटेरै पार्टीको जारी अधिवेशन धाँधलीरहित र निष्पक्ष बनाउन आग्रह गरेका थिए। डडेल्धुरामा जिल्ला कार्यसमितिको निर्णय बेवास्ता गर्दै वडा अधिवेशन सुरु भएपछि नेता पौडेलले शुक्रबार बिहान भेटेरै अधिवेशन धाँधलीरहित र निष्पक्ष बनाउन आग्रह गरेका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा पौडेलसँगै महामन्त्री डा। शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा। मिनेन्द्र रिजालसहितको टोली सहभागी थिए।
छलफलमा पार्टीका क्रियाशील सदस्यहरुको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न र पार्टीको महाधिवेशनमा राज्यको प्रहरी÷प्रशासनको दुरुप्रयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गराएको पौडेलले बताएका छन्।