साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
डोटी – मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) धनगढीले स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाद्वारा संचालित कोभिड – १९ रिलिफ सपोर्ट र केयर एण्ड रिलिफ परियोजना अन्तर्गत स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
कोभिड – १९ काे महामारीका बीच विद्यालय सञ्चालन भएपछि संक्रमणको जोखिम न्यूनीकरण होस् भनेर आदर्श गाउँपालिकाका पांच वटा विद्यालय र एउटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
गाउँपालिकाका नमादेव मावि साउदकाँडा, कालीभैरव मावि कोटान्जर, प्रभात मावि देहिमाण्डौं, लक्ष्मी मावि काँडी र कालिकास्थान माविलाई सर्जिकल मास्क र स्यानीटाईजर वितरण गरेको हो । संस्थाले प्रति विद्यालय तीन हजार मास्क र पाँच लिटर स्यानीटाईजर शिक्षा शाखा मार्फत वितरण गरिएको हो । यस अघि आदर्श गाउँपालिकामा ५ वटा माविलाई सोही अनुरुपका स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।
त्यस्तै आदर्श गाउँपालिका – ५ काे लामिखाल स्वास्थ्य चौकीमा ७ लिटरको अक्सिजन कन्सन्ट्रेटर , नेबुलाइजर, थर्मल गन, अक्सिपल्स मसिन र पिपीई २ सेट वितरण गरिएको हो ।
मास्क, स्यानीटाईजर लगायतका स्वास्थ्य सामग्रीले कोरोनाबाट मात्र नभई अन्य रोगहरूबाट पनि बचाउने भएकाले शिक्षक, विद्यार्थीको प्रयोगका लागि उक्त सामग्री वितरण गरिएको साइन नेपालका अध्यक्ष भक्तराज जोशीले बताए । ‘कोरोना भाइरसको जोखिम कायमै रहेपनि चेक जाँचमा कमी आएका कारण भाइरसको प्रभाव कम देखिएको छ,’ उनले भने,’ संक्रमण फैलिने जोखिम अझै पनि काएमै छ । जोखिमका बीच विद्यालयहरू सञ्चालन भएका छन् स्वास्थ्य सामग्रीले कोरोना जोखिमसँगै अन्य रोगबाट पनि बचाउने छ ।’
गाउँपालिकाका शिक्षकहरुले पछिल्लो समय विद्यालयमा स्वास्थ्य सामग्री उपलब्ध हुन छोडेको र विद्यालयले पनि खरिद गर्न सक्ने अवस्था नरहेको बताउँदै यस्तो अवस्थामा संस्थाबाट प्राप्त स्वास्थ्य सामग्रीले ठूलो राहत मिलेको बताए ।
लामीखाल स्वास्थ्य चौकीमा सामग्री वितरणसँगै अध्यक्ष जोशीले स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य चौकीको अध्ययन अनुगमन गरेका छन् । उनले स्वास्थ्य चौकीलाई आवश्यक सक्दो सहयोग गरिने बताए ।
अक्सिजन कन्सन्ट्रेटर , नेबुलाइजर कोरोना बिरामीका लागि मात्र नभई दम, निमोनियाका बिरामी, अक्सिजन कम भएका बिरामीलाई पनि प्रयोग गर्न सकिने अध्यक्ष जोशीले बताए ।
स्वास्थ्य चौकीमा जोशीलाई स्वागत गर्दै धन्यबाद ज्ञापन गरिएको थियो । स्वास्थ्य चौकीका इन्चार्ज महेन्द्र सिंहले स्वास्थ्य सामग्रीका लागि धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य चौकीमा ल्याब स्थापनाका लागि सहयोग गरिदिन अनुरोध गरेका थिए ।
साइन नेपालले सुदूरपश्चिमका विभिन्न स्थानीय तह, जिल्ला लगायत देशै भर स्वास्थ्य, शिक्षा, महामारी, विपद् जोखिम, आय आर्जनका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले आदर्श गाउँपालिकामा यसअघि सिपमुलक तालिम, छाउपडी सम्बन्धी सचेतना, स्वास्थ्य सामग्री वितरण, महामारी नियन्त्रण, विद्यालयमा कम्प्युटर, प्रिन्टर लगायतका सामाग्री वितरण जस्ता कार्यहरू सञ्चालन गरेको थियो ।