दुबैको नजरमा उतिबेला स्वभाविक उम्मेवारी
डोटी मंसिर ३: विहिवार दिपायलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य आनन्द बिष्टले गर्वका साथ ‘पार्टी केन्द्रले राजनीतिक संस्कार डोटीबाट सिकोस’ भन्ने अभिव्यक्ती दिए ।
त्यो अभिव्यक्तीसंगै उनले भने,‘जित्नेले हार्नेलाई संगसंगै हिडाएर शासन गर्ने हो । हार्नेले पछाडीबाट सहयोग गर्ने हो । जुन डोटीमा प्रदीपजी(जिल्ला सभापति प्रदीप देउवा) र रामप्रसादजी(रामप्रसाद उपाध्याय)ले देखाउनुभएको छ ।’ आमन्त्रीत केन्द्रीय सदस्य विष्टले भनेजस्तै विगत ६वर्षमा दुबैको भूमिका पनि देखिएको छ पनि ।
जिल्ला सभापति देउवा र उपाध्याय नेपाली कांग्रेसको १३ औँ महाधिवेशन अन्तर्गत डोटी जिल्ला सभापतिका लागि भिडेका थिए ।
लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन मानिन्छ । निर्वाचनमा भएको हार–जीतलाई आत्मसात गरेर आमन्त्रीत केन्द्रीय सदस्यले भनेजस्तै आ–आफ्नो भूमिका निर्वाह गर्नु कर्तव्य मानिन्छ । तर, नेपाली लोकतन्त्र त्यती परिस्कृत देखिदैन् । प्रतिस्पर्धालाई वैरभाव र शत्रुतासम्मको व्यवहार दर्शाउने प्रबृत्ती विद्यमान छ ।
तर, ६ वर्ष डोटी कांग्रेसका गत अधिवेशनका दुई प्रतिस्पर्धीले त्यो अधिवेशनपश्चात एकअर्काका प्रति प्रतिस्पर्धा गरेकोजस्तो भाव नदेखाएको डोटी कांग्रेसजन बताउछन् ।
देउवा र उपाध्यायको राजनीतिक पृष्ठभूमि नेपाल विद्यार्थी संघ र तरुण दलबाट जोडिन्छ । देउवा २०४३ सालबाट कैलालीमा अध्ययनरत हुँदादेखी नेविसंघको राजनीतिमा सक्रिय भएर आएका पात्र हुन् । भने उपाध्याय नेपाल विद्यार्थी संघ डोटीको सभापति भईसकेका व्यक्ती हुन् ।
दुबैको व्यक्तीगत सम्बन्ध जोडिएको २०५५ सालको नेपाल तरुण दलको जिल्ला कार्यसमितिबाट भएको हो । जहाँ देउवा सभापति हुँदा उपाध्याय सचिव थिए । ‘त्यहीबेलादेखी हाम्रो सम्बन्ध दाजुभाईजस्तो जोडिएको हो,’ सभापति देउवा भन्छन् । पछि उपाध्याय पनि तरुण दलको जिल्ला अध्यक्ष भए ।
त्यसपछि दुबैजनासंग पार्टीको जिल्ला कार्यसमितिको सचिव भएको अनुभव छ । उपाध्यायले उपभासति भएर पटक–पटक कार्यबहाग सभापति चलाएका थिए ।
यही कारण दुबैका नजरमा एकअर्कालाई अघिल्लो अधिवेशनको स्वभाविक उम्मेदवार ठान्छन् । ‘हामी संगै नलड्ने सल्लाह गरेका थियौ । परिस्थितीले सिजना ग¥यो,’ सभापति देउवा भन्छन्,‘उहाँ पनि स्वभाविक उम्मेदवार हुनुहुन्थ्यो । म ब्याक हुनसक्ने अवस्था थिएन् ।’
सोही धारणा उपाध्यायको पनि छ । ‘उहाँको संघर्ष, क्रियाशिलता, लगावले उहाँ पनि स्वभाविक दाबेदार हुनुहुन्थ्यो । म लगातार जिल्ला कार्यसमितिको उपसभाति तथा कार्यबहाग सभापति भएर काम गरिरहेको थिए,’ उनी भन्छन्,‘त्यसैले म पनि व्याक हुने अवस्था भएन् ।’
प्रतिस्पर्धा भयो । प्रतिस्पर्धा गर्दापनि कुनै तिक्तता भएन् । दुबैजनाले संगै हिडेर भोट मागे । दाजुभाईको सम्बन्ध कायम नै देखाए । मतदातामा पनि सद्भाव भड्किने वाताबरण दिएनन् ।
त्यसमा देउवा जिते, उपाध्यायले केही कम मत पाए ! त्यसपछि पनि दुबैले मन सानो वनाएनन् । ‘प्रतिस्पर्धामा जित्नका लागि नै जाने हो । पराजित भएपछि मन जरुर दुख्छ । मेरो पनि दुख्यो,’ त्यसपछिको अनुभव सुनाउदै उपाध्यायले भने,‘लोकतान्त्रिक प्रतिस्पर्धालाई स्विकार्ने शक्ती ममा थियो ।’
अधिवेशनपश्चात सहयात्रा
पार्टीको अधिवेशनपश्चात दुबैले पार्टीका कामकारवाहीमा पहिलेझैँ सहयात्रालाई निरन्तरता दिए । काम गर्दा सुरुदेखी नै आफुले उपाध्यायसंग सल्लाह गरेर अघि बढेको सभापति देउवा बताउछन् । ‘रामप्रसादजीको भूमिका डोटी कांग्रेसका लागि अपरिहार्य थियो । त्यसैले सुरुवातदेखी उहाँको नै सर–सल्लाह र सहकार्यमा काम गर्न शुरु गरे,’उनी भन्छन्,‘केही समयपछि पार्टीको संगठन विभागको प्रमुख वनाएर उहाँलाई पनि भूमिका दिने काम भयो ।’ उपाध्यायको आवश्यकता महशुस गरेर नै गाउँपालिका अध्यक्षको टीकटमा समेत आफु खुलेर लागेको उनले बताए ।
उपाध्याय पनि सभापति देउवाले सहकार्यमा कुनै कन्जुस्याई नगरेका कारण आफुले पूर्ण सहयोग गरेको बताउछन् । उनले भने, ‘उहाँले सुरुवातदेखी नै सर–सल्लाह र सहकार्यमा काम गर्नुभयो । त्यसैले मैले पनि आवश्यकता अनुसार सहयोग गरिरहे ।’
देउवाको कार्यकाल ‘धेरै राम्रो’ नभए नि ‘नराम्रो’ केही नभएको उपाध्यायको समिक्षा छ । ‘धेरै राम्रो नभएको होला । तर, नराम्रो केही भएको छैन्,’ उनले भने,‘परिस्थितीले अत्यन्त कठिन अवस्थाको थियो । सबै कम्युनिष्ट एक ठाउँमा थिए । त्यसले केही व्यवधान खडा ग¥यो ।’ यद्यपी लगत भएको भए आलोचना गर्ने सामथ्र्य आफुमा रहेको पनि उनले बताए । ‘गलत भएको भए आलोचना गरेर सही बनाउने कोसिस गर्नुपर्छ । जुन म गर्थे । सानातिनामा म नबोलेको पनि हुनसक्छु,’ उनले भने ।
१३ औँ महाधिवेशनका दुबैजना प्रतिस्पर्धीहरु यसपटकमा पनि सोही पदका आकांक्षी छन् । सभापति देउवा दोहो-याउन चाहन्छन् । उपाध्याय ६ वर्षअघि प्रयास गरेको पदमा यसपटक पनि पुग्न चाहन्छन् ।