काे हुन बलायर ?
डोटी – वीरबहादुर बलायर नेपाली राजनीतिमा चर्चित नाम हो । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी सुदूरपश्चिम प्रदेशको प्रथम सभापतिमा अत्याधिक मतका साथ विजयी भएका छन् ।
नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम अधिवेशनबाट सभापतिमा संस्थापन पक्ष (देउवा) का बलायर विजयी भएका छन्। बलायरले निकटतम प्रतिद्वन्द्वी पौडेल र कोइराला पक्षका नारायणदत्त मिश्रलाई ४ सय ८ मत अन्तरले पराजित गर्दै विजयी हात पारेका हुन्।
खसेको १ हजार ३ मत मध्ये बलायरले ६ सय ८८ र मिश्रले २ सय ८० मत पाएका हुन्।
बलायरसँगै पदाधिकारीमा देउवा प्यानल विजयी भएका छन्। उपसभापतिद्वय जनकराज चौधरी (६१०), लोकराज अवस्थी (५२३), महामन्त्रीद्वय नरनारायण शाह (मनु) (६४८), मेघराज खड्का (६३५) सह महामन्त्रीमा चिन्तामणि भट्ट (५३३), गोपालदत्त भट्ट (५२९) र अम्बिका चलाउने (६८६) मत ल्याई विजयी भएका छन्। ५१ जना सदस्यहरुको मतगणना भने जारी नै छ।
कांग्रेसमा केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसकेका बलायरले देउवा नेतृत्वको सरकार (२०७४) मा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै देउवा पत्नी आरजुको पनि विश्वास पात्रका रूपमा चिनिएका बलायर सभापतिका आकांक्षी आधा दर्जन हस्तीलाई पछि पार्दै सभापतिको जिम्मेवारी लिन सफल भएका हुन् ।
डोटीको मध्यमवर्गीय परिवारका बलायरको जन्म वि.सं. २०२२ साल भदौ ४ गते डोटी जिल्लाको शिखर नगरपालिका -७ मा भएको हो । उनका बाबुको नाम स्व. बाम बहादुर बलायर र आमाको नाम डम्मरीदेवी बलायर हो । उनका श्रीमती र एक छोरी छन् । बलायरले गणितमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् ।
राजनीतिक यात्रा
३ वर्ष ६ महिना बन्दी जीवन बिताएका बलायर ०४६ सालको जनआन्दोलनताका निकै चर्चित विद्यार्थी नेता थिए । उनी तत्कालिन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका लोकप्रिय नेविसंघ लिडर हुन् । उनले विगतमा ठूलठूला आन्दोलनको नेतृत्व सम्हालेका छन् ।
१. वि.सं. २०३३ सालदेखि राजनीतिमा प्रवेश ।
२. २०३६ सालदेखि राजनीतिमा सक्रिय ।
३. २०४६ सालमा भएको जनआन्दोलनका निकै चर्चित विद्यार्थी नेता ।
४. ३ वर्ष ६ महिना बन्दी जीवन ।
५. विगतमा विभिन्न आन्दोलनहरूको नेतृत्व
६. त्रिभुवन विश्वविद्यालयमा अध्ययनका क्रममा र २०५१ सालमा काठमाडौँमा भएको उपनिर्वाचनमा
उनले खेलेको भूमिकाबाट बलायरको नाम चर्चामा चुलिएको ।
७. एनपी साउद नेतृत्वको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मात्र भएपनि नेविसंघका चर्चित युवा नेता ।
८. बिगतमा नेपाली कांग्रेसको डोटी जिल्ला सभापति ।
९. नेपाली कांग्रेस केन्द्रीय सदस्य ।
१०. २०६४ सालको संविधानसभा २०६४ का उम्मेदवार ।
११. २०७० सालको संविधानसभा निर्वाचनमा डोटी-१ बाट निर्वाचित ।
१२. २०७४ मा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री
विदेश भ्रमण
भारत, चीन, अमेरिका, थाइल्याण्ड, कतार, हङकङ्ग, पेरु लगायतका देशहरु ।