शिक्षा सचिवद्वारा सुजङ्ग स्कुलको निरीक्षण : विज्ञान प्रयोगशाला स्थापनका लागि छलफल
धनगढी ६ पुष / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले सुजङ्ग स्कुलको निरीक्षण गरेका छन् । विकरण सुरक्षा सम्बन्धि तालिम सञ्चालन गर्न डोटी पुगेका उनले डोटीबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको नीजि विद्यालयको निरीक्षण गरेका हुन् ।
उनिसँगै मन्त्रालयका सह–सचिव प्रलाद पोख्रेल, सुजङ्ग स्कुलका अध्यक्ष एवं पूर्वमन्त्री भक्तबहादुर बलायरले विद्यालयको अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
नीजि विद्यालयले पहाडी जिल्लाबाट वर्षौं देखि दिईरहेको सेवा र योगदानको बारेमा जानकारी लिदैं सचिव आचार्यले आफ्नो तर्फबाट गर्नसकिने सहयोग सधैं रहने जनाए । उनले शिक्षा क्षेत्रमा आएको आमुल परिवर्तनसँगै विद्यालयमा विज्ञान प्रयोगशाला र विज्ञान कक्षा सञ्चालन गर्न सुझाव दिएका थिए ।
पूर्वमन्त्री बलायरले सुजङ्ग स्कुलमा विज्ञान विषय वढाउन र प्रयोगशाला स्थापना गर्न पहिला देखि नै प्रयास गरेको बताए । उनले विद्यालयमा विज्ञान विषय थप नगरे स्कुल सामान्य विद्यालय जस्तै बन्ने अवस्था आउनसक्ने भएकाले विज्ञान विषय पढाउनका लागि पहल गर्ने बताए । ‘शिक्षामा नविन प्रविधि भित्रिएको छ,‘उनले भने,‘विद्यार्थी र अभिभावकको चाहना प्राविधिक शिक्षा तर्फ छ, यहाँका गरिव जनताका छोराछोरीहरुले घरबाटै सहजरुपमा गुणस्तरीय, प्राविधिक काम लाग्ने शिक्षा प्राप्त गर्नसके भने मेरो मन शान्त हुन्छ । म दृढ संकल्पका साथ लागि परेको छु ।’
‘यसअघि विद्यालय स्थापना हुँदा यहाँका जनताको अवस्था देखेर अंग्रेजी माध्यमबाट गरिवका छोराछोरीहरुले शिक्षा हाँसिल गर्न सकुन भन्ने उद्येश्यका साथ विद्यालयको स्थापना गरेका थियौ,‘बलायरले भने,‘अवको आवस्यकता प्राविधिक र वैज्ञानीक शिक्षा हो त्यसका लागि मैले पहल गरिरहेको छु ।
टोलीले सुजङ्ग अस्पतालको सेवा र अवस्थाका बारेमा समेत जानकारी लिएको थियो ।