डोटीमा पत्रकारहरुले नगर बसमा निशुल्क यात्रा गर्न पाउने
डोटी,२० माघ / दिपायल सिलगढी नगरपालिकाको बसमा पत्रकारहरुले निस्शुल्क यात्रा गर्न पाउने भएका छन् । परिचयपत्र बोकेका क्रियाशील पत्रकारहरुलाई आजकै मितिबाट नगरबसमा गाडी भाडा छुट गरिने नगरप्रमुख मञ्जु मलासीले बताइन् ।
नेपाल पत्रकार महासंघ डोटी शाखाले बिहीबार नगरप्रमुखलाई नगरबसमा भाडा छुट गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । महासंघले नगरबसमा भाडा छुट, पत्रकारहरूको क्षमता अभिवद्धि तालिम लगायतका माग राखेर ज्ञापनपत्र बुझाएको हो ।
महासंघका अध्यक्ष मोहन शाहीले बुझाएको ज्ञापनपत्र बुझ्दै नगरप्रमुख मलासीले परिचयपत्र बोकेका पत्रकारहरुलाई नगरबसमा आजैबाट निस्शुल्क गरिने बताइन् । यसअघि नगरबसमा विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट गरिँदै आएको उनले बताइन् ।
यस्तै शिखर नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको दिन देखिनै पत्रकारहरु, जेष्ठ नागरिकहरु र अपाङ्गता भएका व्यक्तिलाई बस भाडा निस्शुल्क गरेको थियो ।
दिपायल सिलगढी नगरपालिकाको नगरबस दिपायल देखि सिलगढी सम्म सञ्चालनमा छ भने शिखर नगरपालिकाको नगरबस डोटी र डडेलधुराको सीमा कोरालखोला देखि दिपायल सम्म सञ्चालन हुने गरेको छ ।
नगरपालिकाहरुले पत्रकारहरुलाई बसमा छुट गरेपछि व्यक्तिगत यातायातका साधन नभएका पत्रकारहरुलाई समाचार सङ्कलनमा जान सहज हुने महासंघका सचिव पवन महराले बताए ।