यूरोपियन लिग खेलिसकेका डियाग्ने धनगढी एफसीमा अनुबन्धित

October 28, 11:54

धनगढी । फलू डियाग्नेलाई धनगढी एफसीले अनुबन्ध गरेको छ । दोस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल)का लागि यूरोपियन लिगहरु खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व रक्षक डियाग्नेलाई धनगढी एफसीले विदेशी खेलाडीका रुपमा अनुबन्धित गरेको हो ।

‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले एक विज्ञप्ति जारी गर्दै दोस्रो विदेशी खेलाडीका रुपमा सेनेगल डियाग्नेलाई अनुबन्धित गरिएको जनाएको हो ।

यूरोपको विभिन्न चर्चित क्लबहरुबाट खेलिसकेका ३४ वर्षीय डियाग्नेले गत वर्ष चेन्नाईन एफसीबाट भारतको पहिलो श्रेणीको लिग इन्डियन सुपर लिग समेत खेलेका थिए । सन् २०१६ मा केप भर्ड विरुद्धको खेलमा सेनेगल राष्ट्रिय टिमका लागि डेब्यु गरेका डियाग्नेले ४ क्याप जितेका छन् । उनले खेलेको खेलहरुमा सेनेगल अपराजित रहेको थियो ।

फ्रान्सको लिग वान क्लब एफसी मेट्जबाट व्यवसायिक जीवन सुरु गरेका फलू डियाग्नेले जेर्मन बुण्डेसलिगा क्लब पÞm्राइवर्गबाट युरोपा लिग समेत खेलिसकेका छन् । त्यस्तै उनले जर्मनकै अर्को प्रतिष्ठित क्लब वेडर ब्रमनबाट बुण्डेसलिगा र स्टेड रेन्नैसबाट फ्रेन्च लिग खेलेका थिए । फलाउसँग टर्किश र भारतीय फूटबलको पहिलो श्रेणीको समेत अनुभव रहेको छ । एनएसएल आवद्ध विदेशी खेलाडीमध्ये हालसम्म उनी प्रतिष्ठित लिग खेल्ने सबैभन्दा अनुभवी खेलाडी समेत हुन् ।

धनगढीसँग आवद्ध हुन पाउँदा खुशी व्यक्त गर्दै डियाग्नेले भारतमा यसअघि खेलिसकेकाले यस क्षेत्रको फुटबलबारे जानकार रहेको र आफ्नो सम्पूर्ण अनुभव नेपालमा पोख्ने प्रतिबद्धता व्यक्त गरे ।

धनगढी एफसीका अध्यक्ष सुवास शाहीले यूरोपियन लिगको अनुभव भएका खेलाडीलाई नेपालमा भित्र्याउन पाउँदा खुशी व्यक्त गर्दै उनको अनुभवले नेपाली खेलाडीलाई समेत सिक्ने अवसर हुने बताए ।

‘धनगढी एफसीमा यस सिजन विदेशी खेलाडी फलू डियाग्नेलाई सम्झौता गर्दा हामी एकदमै उत्साहित छौं । ठुलो यूरोपियन लिगको अनुभव भएका खेलाडी नेपाल आउँदा यसले नेपाली फूटबलको विकाशमा टेवा पुग्ने विश्वास गरेको छु । धनगढी एफसीलाई गत सिजनमा तपाईहरु सम्पूर्णले देखाएको माया र सद्भावप्रति आभार व्यक्त गर्दैछौं । यस सिजनमा पनि यहाँहरुको अपार मायाँको अपेक्षा राखेका छौं,’ शाहीले भने ।

यसअघि धनगढी एफसीले नेपाली फुटबलमा सफल देखिएका विदेशी खेलाडी ओलाआले अफिजलाई अनुबन्ध गरिसकेको छ । नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पौष २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ ।

एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान मिडफिल्डर आशिष चौधरी रहेका छन् । आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज यूनाइटेडबाट खेल्दै टोलीलाई लिगको बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यस्तै अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ ।

प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईंलाई निरन्तरता दिएको छ । धनगढी एफसीको ब्रान्ड एम्बास्डरमा कलाकार तथा चर्चित टिकटकर पवी साँकी रहेकी छिन् । धनगढी एफसीले आफ्नो पहिलो खेल आगामी नोभेम्बर २६ तारिखमा वीरगञ्ज यूनाइटेडसँग खेल्ने तालिका छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा