“परिबन्ध“
बा आमा परिवारबाट जहिल्यै,टाढा भयो जीवन ।
छुट्दा जन्म धरा र दूर रहँदा,तड्पिन्छ साह्रै मन ।।
छुड्दैछन् सब इष्ट मित्र रसिला,मेरा ती बन्धुहरू ।
पीडा सागरछन् मसङ्ग अहिले,पोखेर के नै गरूँ ?
।१।
मेरा बालसखा समस्त सखिया,टाढा भए दौतरी ।
बिर्सूँ ती हितका अनन्य कसरी,नाता र गोता भरी ।।
मेरा साथ थिए अनेक सपना,बाँकी रहे कल्पना ।
केही छैन उपाय मेट्न अब ता,गाढा रह्यो सम्झना ।।
।२।
लाखौँ चित्र थिए खुला मगजमा,हाँस्थ्यो सदा आँगनी ।
साथीछन् अब रुग्णता छटपटी,भो व्यर्थको जीवनी ।।
के पो पाप भयो बुझेन कहिले,भोग्दैछु ऐले म ता ।
पाऊँ त्यो कुन ओखती म गतिलो,रोएर जाऊँ कता ।।
।३।
कस्तो हो परिबन्ध पीर भरियो,लीला अनौठो भयो ।
धर्ती शून्य सरी हुँदैछ अहिले,यो जीवनी गैगयो ।।
आफन्ती व्यवहारबाट पलमै,साँच्चै म जोगी भए ।
पोल्छन् घाउ चसक्क भित्र मनमा,जीवन्त रोगी भए ।।
।४।
बुझ्नै सक्दिन म बने अधमरो,हार्दै गए चाहना ।
गर्थेँ नित्य म प्रार्थना सब तिरै,सद्भावका कामना ।।
मैले स्वार्थ र लोभ पाप मनमा,जान्दैन केही पनि ।
हारेँ जीवनमा बिना कसुरमा,बाँच्दैछु हेलाँ बनी ।।
।५।
मेरा सौख बिचार बुद्धि क्षमता,एकेक जल्दै गए ।
मेरा भाव परार्थ आत्म पुरका,बेकाम गल्दै गए ।।
मेरा आँट सहास निष्फल बने,जन्जाल फस्दै रहे ।
इच्छा चूर्ण भए अनाहक सबै,चौपट्ट डस्दै रहे ।।
।६।
डिल बहादुर महरा“अविचल“
डोटी