तुइन प्रकरण: जो आरोपित उहीँ छानबिन टोलीको साथी

news
news
August 06, 7:47

धनगढी: तुइन प्रकरण छानबिनका लागि दार्चुला पुगेको गृह मन्त्रालयको टोलीको विरोध हुन थालेको छ। छानबिन टोलीले घटनास्थल गस्कु–मालघाट जाँदा आरोपित भारतीय सुरक्षा बल एसएसबीलाई संगसंगै लगेपछि विरोध हुन थालेको हो। एसएसबीले तुइन फुकालिदिएपछि जयसिंह धामी बेपत्ता भएको प्रत्यक्षदर्शी र स्थानीयले बताउँदै आएकोमा गृहको टोलीले मालघाट जाँदा एसएसबीलाई नै साथी बनाएको हो।

‘पत्रकारलाई रोक लगाएर स्थलगत निरीक्षण भयो। जसले अपराध गरे उसैको सहयोगमा छानबिन भयो,’ दार्चुलाका पत्रकार नरेन्द्र कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्। समाचार स्रोतका अनुसार एसएसबीकै निगरानीमा गृहको टोली घटनास्थल पुगेर जिल्ला सदरमुकाम पुगेको हो।

‘बाटोको नास्ता खर्च पनि एसएसबीले नै तिरे। अब जो आरोपित छ उसैलाई साथी बनाएपछि छानबिन प्रतिवेदन सत्यतथ्य आउला भनेर कसरी विश्वास गर्नु ? यो छानबिनको अर्थ छैन,’ स्रोतले भन्यो। एसएसबीले तुइन काटेको घटनाको छानबिन गर्न भारतको बाटो भएर गएको गृह मन्त्रालयको टोलीविरुद्ध घटनास्थलमा नाराबाजी पनि गरिएको थियो।

भारतको बाटो भएर घटनास्थलतर्फ गई घटनाको छानबिन गरिरहेको भन्दै स्थानीय र नेकपा विप्लवको ३०/३५ जनाको टोलीले घटनास्थलमै गएर नाराबाजी गरेका हुन्। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोलीमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य छन्।

छानबिन टोलीबाहेक सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुलाका गणपति एसपी नरेन्द्र बम तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टपनि घटनास्थल पुगेका थिए। टोलीसँगै भारतको डिडीहाटका भारतीय सीमा सुरक्षा बल (एसएसबी)कमाण्डेन्ट महेन्द्र प्रताप र अन्य दुई जना एसएसबी अधिकारी पनि घटनास्थलमा गएका थिए।

भारतीय एसएसबीको टोलीलाई किन लगियो भनेर दिनेशखबरले सहायक प्रजिअ जोशीसँग प्रतिक्रया माग्दा उनले सहजीकरणका लागि एसएसबीका अधिकारीलाई लगेको बताइन्। गत साउन १५ गते व्याँस गाउँपालिका–२ का मालका ३३ वर्षीय जयसिंह धामी सदरमुकाम आउने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए। भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिँदा घटना घटेको समाचार आएसँगै घटनाबारे अध्ययन गर्न छानबिन समिति दार्चुला पुगेको हो।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा