बझाङको बुंगलमा २ करोडभन्दा बढी मूल्यको आलु उत्पादन

news dhn
news dhn
August 09, 9:24

बझाङको बुंगल नगरपालिकाको दहबगरमा २ करोडभन्दा बढी मूल्यको आलु उत्पादन भएको छ । उच्च हिमाली भेगमा पर्ने दहबगरमा फलेको आलुको खपत जिल्लाभित्र मात्रै नभएर कैलाली, कञ्चनपुरलगायत तराईका जिल्लामा पनि हुन थालेको छ । तराईमा दहबगरको आलुको माग र मूल्य दुवै उच्च रहेको किसानहरूले बताएका छन् ।

हाल बुंगल नगरपालिका १ र २ मा पर्ने साविक दहबगर गाविसका गोइचन, रैसल्ली, मजिउन, बस्ती, बमौर, सतिवन, कचाली, काँडा, काँटै गिरौं, मलेरालगायत गाउँका ६ सय १९ परिवारले व्यावसायिक आलु खेती गरेका छन् । दुइ वर्ष अघिदेखि सुरु गरिएको आलु खेतीबाट प्रतिपरिवार न्यूनतम ५० हजारदेखि २ लाखसम्म आम्दानी गर्ने गरेको किसान करसिंह जाग्रीले बताए ।

उनले यहाँ उत्पादित आलुले बजार पाउन थालेपछि कृषकहरू आलु खेतीतर्फ आकर्षित हुन थालेको बताए । यहाँ उत्पादित आलु ठूलो मात्रामा स्थानीयस्तरमा नै खपत हुने गरेको र बचेको बिक्री गरेर स्थानीयले राम्रो आम्दानी लिइरहेको स्थानीयको भनाइ छ ।  गाउँमा उत्पादित आलु प्रतिकिलो २५ रुपैयाँका दरले गाउँकै बजारमा खपत हुने गरेको छ ।

उच्च हिमाली क्षेत्रको चिसो वातावरणमा फलेको आलु स्वादिलो हुने र कुनै पनि रासायनिक मल र विषादी प्रयोग नगरिएको हुनाले स्वास्थ्यलाई पनि फाइदा हुने भएकोले यहाँ उत्पादित आलुको माग र मूल्य कैलाली कञ्चनपुरलगायत तराईका जिल्लाहरूमा बढी भएको स्थानीयको भनाइ छ ।  हालसम्म ५ ट्रक आलु कैलाली र कञ्चनपुर पठाइएको र थप पठाउने तयारी भैरहेको जनाएको छ ।

व्यावसायिक रूपमा नभए पनि पहिलादेखि नै आलुखेती भैरहेको यो गाउँमा आलु खेतीलाई व्यावसायिक बनाउनका लागि कृषि ज्ञान केन्द्र बझाङले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी नमुना गाउँ कार्यक्रमअन्तर्गत बजारीकरण र आलु भण्डारणमा सहयोग गरेको छ । परियोजनाले आलु भण्डारणका लागि गाउँमै दुईवटा रस्टिक स्टोर (आलु नकुहिने गरी भण्डारण गर्न मिल्ने घर) निर्माण गरिदिएको छ । यस्तै आलुखेतीसम्बन्धी तालिम, आलु प्याकिङ गर्ने बोरा, सिँचाइका लागि पाइप पनि परियोजनाले उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका सहजकर्ता हिक्मत धामीले बताए ।

धामीले गाउँमा बनाइएका रस्टिक स्टोरमा ठाउँको अभाव भएको र लामो समयसम्म आलु भण्डारण गर्न नमिल्ने भएकाले बीउ आलु भण्डारणका लागि कैलालीको पहलमानपुरस्थित कोल्ड स्टोरमा आलु पठाउन थालिएको बताए । कोल्ड स्टोरमा राखिएको बीउ आलुको मूल्य अहिलेको बजार मूल्यभन्दा चाररपाँच गुणा बढी हुने उनले बताए । जिल्लामै कोल्ड स्टोरको व्यवस्था भए आलु भण्डारणमा सहज हुने र महँगो भाडा तिररे अरू जिल्ला पठाएको आलुभन्दा सस्तो मूल्यमा बजारमा बिक्री गर्न सकिने उनको भनाइ छ ।

यस वर्ष दहबगरमा मात्रै नभएर जिल्लाभरि नै आलुको उत्पादन राम्रो रहेको कृषि ज्ञान केन्द्र बझाङले जनाएको छ । यो वर्ष जिल्लाभरिमा बर्से आलु मात्रै ७ सय देखि ८ सय मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा