बैतडीमा शिक्षकको परिवारले तोड्यो अनशन
धनगढीः जिल्ला समन्वय समिति बैतडीमा गत आइतबारदेखी आमरण अनशन बसेको शिक्षक करन रानाको परिवारले शुक्रबार अनशन तोडेको छ। १४ महिनाको तलव नपाएपछि अनशन बसेका निम्न माद्यमिक तह राहत कोटाका शिक्षक रानाले माग पुरा गर्ने आश्वासन पाएपछि अनशन तोडेका हुन्। उनी श्रीमती र चार छोराछोरीसहित अनशन बसेका थिए।
दशरथचन्द नगरपालिका वडा नम्बर ४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा कार्यरत रानाले जिल्ला शिक्षा समितिले तलव उपलब्ध गराउने भनेपछि अनशन तोडेको बताएका छन्। शिक्षक रानाले भने, 'आज जिल्ला शिक्षा समितिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुखलगायत सरोकारवालाहरू आउनुभयो। माग सम्बोधन गर्छौ, भन्नुभयो र मैले अनशन तोडेको छु। माग पुरा नभए फेरी अनशन बस्ने छु।' रानाले अहिले काजमा काम गरिरहेकै विद्यालयमा पदस्थापन गरिदिनसमेत माग गरेका छन्।
राना २०७२ सालमा आफ्नो गाउँ शिवनाथ-६ कानलिबाट विस्थापीत भएका ब्यक्ति हुन्। एक युवतिको अन्तरजातीय विवाह गराएको झुटो आरोप लागेपछि राना परिवार गाउँबाट विस्थापित भएको थियो। गाउँ छोडेको केहि दिनमै उनको घरसमेत जलाइएको थियो। उनीले सो समयमा जागीरबाट समेत निकालिएका थिए।
शिवनाथस्थित हिरापूर माविमा कार्यरत शिक्षक राना गाउँबाट विस्थापित भएपछि केहि जिल्ला सदरमुकाम नजिकै रहेको ईश्वर आधारभूत विद्यालयमा पदस्थापन गरिएको थियो। त्यहाँ काजमा काम गरिरहेका रानाले १४ महिनासम्मको तलव पाउन सकेका छैनन्।