बैतडीका स्थानीय तहमा जनप्रतिनिधि आएपछि ग्रामीण सडक खन्ने होडबाजी
बैतडी - विकास बजेटमा सबैभन्दा बढी खर्च हुने सडक नै ग्रामीण सडक रहेको छ । बैतडीका स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि ग्रामीण सडक खन्ने होडबाजी नै चलेको छ । सबै स्थानीय तहले पहिलो प्राथमिकता सडकलाई नै राखेका छन् ।
बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन्। जनप्रतिनिधि आएको चार वर्षको अवधिमा यहाँ स्थानीय तहमा एक हजार ७२९ किलोमिटर सडक खनिएको छ।
स्थानीयवासीको माग र आवश्यकतानुसार नै सडक खनिएका स्थानीय तहहरुले जनाएका छन्। ग्रामीण सडक बढी निर्माण गर्नेमा पञ्चेश्वर गाउँपालिका रहेको छ भने कममा सिगास गाउँपालिका रहेको छ।
पञ्चेश्वरमा हालसम्म २९० किलोमिटर सडकको ट्रयाक खोलिएको छ। तीमध्ये २५० किलोमिटर गाउँपालिका र ४० किलोमिटर सङ्घीय सरकारको बजेटमा सडक निर्माण भएको हो।
गाउँपालिकाले सडकमा प्रतिवर्ष कम्तीमा तीन करोड बढी रकम खर्च गरेको जनाएको छ। विकासको मेरुदण्ड नै सडक रहेकाले पहिलो प्राथमिकतामा सडक परेको गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाको भनाइ छ। तीन वर्षको अवधिमा शिवनाथ गाउँपालिकामा २३६ किलोमिटर सडक निर्माण भएको छ ।
शिवनाथमा दुईवटा सडक सङ्घीय र दुईवटा प्रदेश सरकारले निर्माण गरेको हो। वार्षिक तीन करोड सडकमा खर्च गरिरहेको गाउँपालिकाले हाल तीनवटा सडकको स्तरोन्नति गरिरहेको छ। सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा जनप्रतिनिधि आएपछि २०० किलोमिटर सडक निर्माण भएको छ। चालिस सडक निर्माण गरेको नगरपालिकाले वार्षिक तीन करोडदेखि सात करोडसम्म सडकमा खर्च गरेको छ ।
गाउँगाउँमा सडक पु¥याउने लक्ष्यका साथ सडक निर्माणमा जोड दिइएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए। पाटन नगरपालिकाले १८० किलोमिटर सडक निर्माण गरेको जनाएको छ।
हरेक वडामा कम्तीमा १५ किलोमिटर सडक खनेको पाटनले ५० भन्दा बढी सडक निर्माण गरेको हो। मेलौली नगरपालिकाले पनि १८० किलोमिटर सडक निर्माण गरेको छ। नगरपालिकाले सबै वडाहरुमा गरी हालसम्म ३२ सडक निर्माण गरेको हो।
दोगडाकेदार गाउँपालिकाले हालसम्म १६१ किलोमिटर सडक निर्माण गरेको छ। पाँचवटा चक्रपथसमेत निर्माण गरेकामा हालसम्म २० वटा सडक खनेको गाउँपालिकाले जनाएको छ। जिल्लाको पुर्चौडी नगरपालिकाले १५० किलोमिटर सडक निर्माण गरेको छ।
सबै वडालाई कच्ची सडकले छोएको पुर्चौडीमा हालसम्म १८ वटा सडक खनिएका हुन्। सुर्नया गाउँपालिकाले हालसम्म १०९ किलोमिटर सडक निर्माण गरेको छ। चार वर्षमा २० वटा सडक खनेको सुर्नयामा वार्षिक रु दुई करोडदेखि रु चार करोडसम्म सडकमा खर्च गरेको छ। स्थानीय नागरिकको माग र आवश्यकतानुसार नै सडकलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले बताए।
विकास निर्माणको हिसाबले जिल्लाको सबैभन्दा दुर्गम मानिएको सिगास गाउँपालिकाले जनप्रतिनिधि आएपछि १० सडक निर्माण गरेको १०३ किलोमिटर खनेको हो। डिलाशैनी गाउँपालिकामा ११९ किलोमिटर सडक खनिएको छ।
जनप्रतिनिधि आएपछि यहाँ सडक खन्ने होडबाजी चलेको भए पनि बिना स्टमेट सडक निर्माण गरिँदा जोखिमसमेत निम्त्याउने गरेको सामाजिक अभियानकर्मीसमेत रहनुभएका दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका भोजराज जोशी ‘क्वालिटी’को भनाइ छ।
उनले भने, “गाउँगाउँमा सडक पु¥याउने नाममा बिना स्टमेट सडक खन्ने गरेका छन्, यसले विपद् निम्तिने गरेको छ।” उहाँका अनुसार गाउँमा सडक पु¥याउन स्थानीय तहले विकास बजेटको ५० देखि ७० प्रतिशतसम्म लगानी गर्छन्।
त्यति मात्रै होइन, प्रदेश तथा सङ्घीय सरकारको लगानीमा समेत ग्रामीण सडकको स्तरोन्नतिका योजनाले प्राथमिकता पाइरहेका छन्। तर, सडकमा बर्सेनि गरिएको लगानी बालुवामा पानी हालेसरह छ। बाह्रै महिना सञ्चालन हुने सडकको दूरी अत्यन्त न्यून रहेको छ।
“टोलटोलमा खनिएका सडकका कारण मुख्य सडक र भूक्षयमा गम्भीर असर परेको छ ”, उनले भने, “ठूलो बजेट नहुने स्थानीय सरकारले सडकमा धेरै लगानी गर्न नसकेका कारण टोलटोलमा खनेका सडकले विनाश थपेको छ।”
डोजर चालक नै प्रावाधिक बन्ने गरेकाले यहाँ हरेक वर्ष विपद् बढ्दै गएको उनको आरोप छ। यसका साथै ग्रामीण सडक स्तरोन्नतिमा ध्यान नदिँदा यहाँका ग्रामीण सडकमा सवारी दुर्घटनासमेत हुने गरेको छ।
उनले भने, “सडक खन्ने होडबाजीभन्दा पनि खनिएका सडक स्तरोन्नतिमा ध्यान दिनुपर्छ, जसले विपद् र दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । रासस