नेकपा एमाले जिल्ला कमिटी कञ्चनपुरको पूर्ण बैठक : १० बुँदे समसामयिक प्रस्तावहरू पारित
कञ्चनपुर, ०८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी कञ्चनपुरको पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालय मदन आश्रित स्मृति सदन महेन्द्रनगरमा अध्यक्ष वीर बहादुर थापाको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र सिंह रावलको प्रमुख आतिथ्यमा शनिबार जिल्ला कमिटीको पूर्ण बैठक सम्पन्न भएको बताइएको छ । बैठकमा पार्टी केन्द्रीय सदस्य एवं कञ्चनपुर इन्चार्ज निरु पाल, केन्द्रीय लेखा आयोगका सदस्य ईश्वरी प्रसाद खरेल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्त बहादुर अधिकारी र हिरा सार्की लगायत पार्टीका केन्द्रीय विभागका सदस्यहरू, सुदूरपश्चिम प्रदेश कमिटीका सदस्यहरूको विशेष उपस्थिति रहेको नेकपा एमाले जिल्ला कमिटी कञ्चनपुरले जनाएको छ ।
बैठकले पार्टीको आन्तरिक एकता सुदृढ गर्ने लगायतका विभिन्न निर्णय एवं समसामयिक प्रस्तावहरू पारित गरेको नेकपा एमाले जिल्ला कमिटी कञ्चनपुरका अध्यक्ष वीर बहादुर थापाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत जानकारी सार्वजनिक गरिएको छ । बैठकबाट नेकपा (एमाले) को विधानमा व्यवस्था भए बमोजिमका विभागहरू पुनर्गठन गर्नुका साथै विभिन्न जनसङ्गठनहरूका फाँट प्रमुखको जिम्मेवारी तोकिएको अध्यक्ष थापाले बताउनु भयो । त्यस्तै, कार्तिक १२ गतेका लागि तोकिएको वडा अधिवेशन र यही कार्तिक १५ गतेका लागि तोकिएको पालिका अधिवेशनमा आवश्यक सहजीकरण गर्न सहजकर्ता तोकी जिम्मेवारी दिइएको र अन्य तयारी भइरहेको स्थानीय तह विकास विभागका प्रमुख पल्लवराज भट्टले जानकारी दिनुभयो । त्यसै गरी उक्त बैठकले केही समसामयिक प्रस्तावहरू समेत पारित गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी कञ्चनपुरको पूर्ण बैठकले पारित गरेका समसामयिक प्रस्तावहरू ः
१) असोज ३१ गते देखि कार्तिक २ गतेसम्म अविरल रूपमा परेको बेमौसमी वर्षाका कारण कञ्चनपुर जिल्ला लगायत देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, कटान र पटानले जनधन र भौतिक सम्पत्तिको क्षति तथा धान बाली लगायत कृषि क्षेत्रमा ठुलो क्षति हुन गई आम जनसमुदायले व्यहोर्नु परेको नोक्सानी प्रति पार्टीले दुःख व्यक्त गरेको छ । सो विपद्बाट पीडित भएका नागरिकहरू र व्यहोर्नु परेको क्षतिको तथ्याङ्क सङ्कलन गरी उचित किसिमको राहत प्याकेज ल्याउन, क्षतिपूर्तिको व्यवस्था गर्न र जोखिमपूर्ण बस्तीलाई अन्यत्र सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ ।
२) महाकाली नदीमा निर्माण भइरहेको महाकाली पुल र पहुँच मार्ग निर्माण कार्यमा भएको लापरबाही एवं गुणस्तरीयता माथि प्रश्न उठेकोले सो सडक निर्माण कार्यको सत्य तथ्य छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन समेत सरकारसँग माग गरिएको छ । साथै जिल्ला भित्र वर्षाका कारण महाकाली नदी, दोदा नदी लगायत विभिन्न नदी तथा खोलाहरूमा भएको कटान रोक्न पक्की तटबन्ध निर्माण कार्य तत्काल अगाडी बढाउन सरकारसँग माग गरेको छ ।
३) बाढी पहिरो, कटान–डुबान, जङ्गली जनावरले गरेको बालीनाली नोक्सानीले क्षति पुगेका परिवारको उचित व्यवस्थापन तथा नोक्सानीको क्षतिपूर्ति उपलब्ध गराउन एवं समयमै धानको समर्थन मूल्य तोक्न माग र किसानलाई समयमा मल खाद उपलब्ध गराउन जोडदार माग गरेको छ ।
४) नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा रहेको पार्टी विभाजन र फुटले कम्युनिष्ट आन्दोलनले प्राप्त गरेको उपलब्धिहरू गुमाउनु पर्ने, नेपाली जनताको परिवर्तन र समृद्धिको सपनामाथि कुठाराघात हुने र नेपालको कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागिपरेका देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूको आकाङ्क्षा पुरा हुने कुरा घाम झैँ छर्लङ्ग छ । जीवन्त र लोकतान्त्रिक पार्टी भित्र समस्याहरू उत्पन्न हुनु, समस्याहरूलाई हेर्ने दृष्टिकोणमा भिन्नता हुनु र कतिपय प्रश्नमा असहमति पैदा हुनु स्वाभाविक नै हो तर समस्याको विकल्प विभाजन एवं विग्रह होइन । पार्टीका कुनै पनि समस्या हुँदा अन्तरपार्टी छलफलका माध्यमबाट समाधान खोज्ने र अझ उन्नत स्तरको एकता कायम गर्दै अगाडि बढ्ने यस पार्टीले विकास गरेको संस्कृति हो । यही विधिबाट सबै समस्या समाधान हुँदै आइरहेको अवस्थामा फुट र विभाजनको पक्षमा कसैलाई नलाग्न आग्रह गर्दै पार्टी एकता र सुदृढ नेकपा (एमाले) को पक्षमा दृढतापूर्वक उभिन बैठकबाटै सबै तह तप्का, नेता कार्यकर्ता, समर्थक, शुभचिन्तकहरूमा हार्दिक आह्वान गरिएको छ । साथै पार्टी सुदृढीकरण र एकताका पक्षमा दृढताका साथ उभिने सबैमा धन्यवाद व्यक्त गर्दै कुनै कारणवश पार्टीबाट बाहिरिएका तथा तटस्थ रहेका कार्यकर्ता तथा नेता गणहरूमा पार्टीमा फर्कन समेत बैठकले आह्वान गरेको छ ।
५) वर्तमान समयमा मुलुकलाई अस्थिरता तिर लैजाने, उपलब्धिहरूलाई उल्टाउने, बाह्य चलखेललाई बढवा दिने, संवैधानिक सन्तुलन खलबल्याउने, मुलुकलाई तनावपूर्ण राजनीतिक द्वन्द्व तिर धकेल्ने तथा जनताको हितमा आघात पु¥याउने जस्ता कुनै पनि गतिविधि हुन नदिन हरबखत चनाखो र संवेदनशील रहनुका साथै देशप्रति जिम्मेवार र राष्ट्रियताको पहरेदारका रूपमा लोकतन्त्र र संविधानको रक्षाका लागि एवं जनताको सच्चा प्रतिनिधिका रूपमा भूमिका खेल्न आम पार्टी पङ्क्तिलाई उक्त बैठकबाटै आह्वान गरिएको छ ।
६) सो बैठकले नेकपा (एमाले) नेतृत्वको सरकारले आरम्भ गरेका रूपान्तरणकारी परियोजना, राष्ट्रिय महत्त्वका योजना, सामाजिक न्यायका अभियान र बाह्य सम्बन्धमा सुदृढीकरणका कामलाई निरन्तरता दिन दबाब दिँदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सिर्जनात्मक रूपमा अविचलित रही क्रियाशील रहन आम पार्टी पङ्क्तिलाई अनुरोध गरेको छ ।
७) नेकपा एमालेको नेतृत्वको सरकारले गरेका महत्त्वपूर्ण कामहरूलाई जनताका बिचमा स्थापित गर्दै पार्टीको पक्षमा जनमत सिर्जना गर्न, पार्टीले नेतृत्व गरिरहेको स्थानीय तहहरूबाट विकास निर्माण र जनहितका पक्षमा अझ प्रभावकारी कामहरू गर्न र आगामी निर्वाचनमा पार्टीलाई मुलुकको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्न योजनाबद्ध रूपमा तयारीमा जुट्न स्थानीय कमिटीहरूलाई बैठकले आव्हान गरेको छ ।
८) नेकपा एमालेको सरकारले अगाडी बढाएका र वर्तमान सरकार गठन हुनासाथ बन्द गरिएका भूमि सम्बन्धी समस्या समाधान गर्ने, आरक्षबाट विस्थापित आरक्ष पीडितहरू, मुक्त कमैया, मुक्त कमलरी तथा मुक्त हलियाका समस्या समाधानका कार्यहरू तत्काल सञ्चालन गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ ।
९) कञ्चनपुर जिल्लाका किसानहरूलाई आवश्यक पर्ने मल खाद, बिउ विजन समयमा उपलब्ध नहुने समस्या झेल्दै आइरहनु परेकोले समयमै मल खाद, बिउ विजन उपलब्ध गराई किसानहरूका समस्याहरू समाधानका लागि समेत नेपाल सरकारसँग माग गरिएको छ ।
१०) बैठकले मिति २०७८ असोज २२ गतेका दिन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कञ्चनपुरको बैठकमा सहभागी भई घर फर्किने क्रममा बेलौरी नगरपालिका वडा नम्बर ५ मैनाहामा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनु भएका राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कञ्चनपुरका सदस्य रकम शाहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै सोही दुर्घटनामा घाइते हुनु भएका राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं नेकपा (एमाले) बेलौरी नगर कमिटीका सचिवालय सदस्य नमराज शाहीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।