कैलाली क्षेत्र नम्बर ५ को सभापतिका लागि काँग्रेसका रेग्मीको उम्मेदवारी घोषणा
धनगढी : नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को सभापतिका लागि काँग्रेसका युवा नेता हरि रेग्मीले उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी युवा नेता रेग्मीले संघीय संसदीय निर्बाचन क्षेत्र नम्बर ५ कैलालीको क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा उनले आफू सभापतिमा निर्बाचित भएपछि एक घर एक काँग्रेस अभियान चलाउने दाबी गरे । पछिल्लो पटक नेपाली काँग्रेसका हरेक इकाई निष्क्रिय रहेकोले बताउँदै उनले पार्टीमा युवाको आकर्षण बढाउन पार्टीका हरेक संरचनागत इकाईलाई क्रियाशिल बनाएर अघि बढ्ने बताए ।
नेपाली काँग्रेस परम्परागत तरिकाले अघि बढेकोले स्थानीय, प्रदेश र संघको निर्बाचनमा हार व्यहोरोको उनको भनाइ छ । नेपाली काँग्रेसलाई लोकतान्त्रिक विधि र पद्धतीबाट अघि बढाउन युवा नेतृत्वको खाँचो रहेकोले व्यक्तिगत भन्दा संरचनागत हिसाबले पार्टिलाई चलायमान बनाउन आफ्नो उम्मेदवारी रहेको युवा नेता रेग्मीले बताए ।
अहिले नेपाली काँग्रेस पार्टीमा आदेश दिएर पार्टी चलाउन खोजिएकाले पार्टीमा समस्या सृजना भइरहेको उनले बताए । पार्टी नेतामा गाउँमा जाँदा नेतालाई भेट्ने चलन रहेकोले आफू सो पदमा निर्बाचित भएपछि नेताभन्दा कार्यकर्तालाई भेटेर पार्टीमा युवा कार्यकर्ताको आकर्षण बढाउने उद्देश्य आफ्नो रहेको उनको भनाइ छ ।
आफ्नो क्षेत्रमा संघीय, प्रदेश र स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन सक्रिय भएर आफू सधै क्रियाशिल रहने उनले बताए । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका रेग्मी विद्यार्थीकालमा लोकप्रिय नेताका रुपमा स्थापित व्यक्ति हुन् । रेग्मी २०५३ सालमा नेपाल विद्यार्थी संगठनबाट कैलाली बहुमुखि क्यापसमा स्ववियु सभापतिमा लोकप्रिय मत ल्याएर निर्बाचित भएका थिए ।