वडा कार्यालमा लगाइएको ताला ६ दिनपछि खुले पछि...
कञ्चनपुर ,३ मंसिर: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ को कार्यालयमा लगाइएको ताला ६ दिनपछि खुलेको छ। वडा कार्यालय भवन निर्माणका लागि महाकाली विद्यालय नजिकै कृषि सडक छेउमा विस्तुत योजना प्रतिवेदन तयार गरेर बोलपत्र आह्वान समेत भइसकेको अवस्थामा वडा कार्यालय अन्तै बनाउनुपर्ने मागसहित तालाबन्दी गरिएको थियो। नेपाली काँग्रेसका वडा सभापति देबबहादुर वड र नेकपा एमालेका वडाअध्यक्ष भक्तबहादुर रावलले तालाबन्दी गरेका थिए। साविकको वडा नम्बर ८ मा वडा कार्यालय बनाउनुपर्ने माग राख्दै ६ दिनअघि उनीहरुले तालाबन्दी गरेका हुन्।
तालाबन्दी गर्ने दुवै नेतासँग स्थान छनोटका लागि नगरपालिकाको कार्यपालिका बैठकमा छलफल गरेर अघि बढ्ने सहमति भएपछि तालाबन्दी खुलेको कृष्णपुर नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष नथुराम चौधरीले बताए।
६ कट्टा क्षेत्रफलमा वडा कार्यालय भवन निर्माणका लागि डीपीआर तयार पारेर बोलपत्र आह्वान समेत गरिसकेको अवस्थामा केही नेता तथा कार्यकर्ताले आफूअनुकुल वडा कार्यालय बन्नुपर्ने र आफ्नो कार्यकालमा कुनैपनि हालतमा कार्यालय बन्न नसकोस भनेर अनावश्यक विवाद निम्त्याउने गरेको वडा अध्यक्ष चौधरीले बताए।