बैतडीमा पेट्रोल–डिजलको कालोबजारी

news
news
February 11, 12:48

बैतडी २८ माघ / नेपाल आयल निगमको पेट्रोलियम पदार्थ विक्रेता विनियमावलीअनुसार उपभोक्तालाई सरल र सहज ढंगले पेट्रोलियम पदार्थ उपलब्ध गराउनुपर्ने भए पनि बैतडीमा सहजै पेट्रोलियम पदार्थ पाइँदैन । जिल्लामा सतबाज बजारनजिकै एउटा मात्र भण्डारी आयल स्टोर छ । त्यहाँ चाहिएको समयमा कहिल्यै पेट्रोल र डिजेल पाइँदैन । जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयसँगै केही सरकारी कार्यालयका सवारीसाधनलाई मात्र उक्त आयल स्टोरले इन्धन सहजै दिन्छ । अन्य सवारीसाधनले कहिल्यै भनेको समयमा पाउँदैनन् ।

केही समयअघि बाटोमै तेल सकिएर सवारीसाधन बन्द हुँदा ९जिप० लाई बाटोमै छोडेर चालक महेन्द्र चन्द आयल स्टोरमा तेल लिन पुगेका थिए । केही समय पर्खिएर तेल माग गर्दा पनि नपाएपछि उनी रित्तो हात फर्किनु परेको थियो । त्यहिबेला आएको प्रहरीको गाडीलाई भने तेल दिए पनि आफुलाई छैन भनेर फर्काएको उनले दुखेसो पोखे । ‘बीच बाटोमै गाडी रोकिएपछि आएको थिएँ । छैन भनेपछि फर्किए,’ चन्दले भने, ‘अब बजारमा कालोबजारी गरेर बेच्ने तेलै हाल्नु पर्छ । बजारमा हालेपछि अलि बढि पैसा लिन्छन् ।’ जहिल्यै यस्तै हुने गरेको उनले बताए । एउटै स्टोरले सरकारी गाडीलाई दिएर अरु उपभोक्तालाई मनपरी गरिरहेको उनले बताए ।

सवारीसाधनमा इन्धनको लागि घण्टौं आयल स्टोर्स कुनुपर्ने बाध्यता रहेको अर्का एक चालकले बताए । उनले भने, ‘कहिले सकिएको छ भनेर हामीलाई टारिन्छ । कहिले वत्ती छैन भनिन्छ । धेरै समय मान्छे पनि कोही पम्पमा भेटिदैनन् । हामीले जिल्लामा कहिल्यै पनि सजिलो गरेर पेट्रोलियम पर्दाथ पाएका छैनौं ।’ आयल स्टोर्सको मनपरि हुँदा पनि सरोकारवाला निकाय मौन बस्नु दुखद भएको उनले बताए ।

आयल स्टोर्समा डिजेल उपलब्ध भएपनि पेट्रोल पाउनै मुस्किल पर्छ । उपभोक्ताले बजारबाटै पेट्रोल किन्ने गरेका छन् । जिल्लाका अधिकांस पसलहरूमा १ लिटरका वोत्तलदेखि लिएर ठूल—ठूला ग्यालेनहरूमा पेट्रोल र डिजेल राखेर खुलेआम बेच्ने गरेका छन् । यसरी पसलहरूमा बेच्नेले पसल र बजार अनुसार फरक—फरक मुल्य लिने गरेका छन् । आयल स्टोर्समा नपाइने पेट्रोल र सहजै नपाइने डिजेल बजारमा भने बढि मुल्यमा विक्री हुने गरेको तरुणदल बैतडीका उपाध्यक्ष महेश भट्ट बताउछन् । आयल स्टोर्समा छैन भनेर बाहिर कालोबजारी भइरहेको उनले बताए । धेरै पटक यो विषय उठाएपनि सुनुवाई नभएको उनको भनाइ थियो । सवारीसाधन प्रयोग गर्नै पर्ने भएकोले बजारबाटै किनेर हाल्नुपर्ने बाध्यता छ । ‘मिसावट भएको कमसल तेलले सवारीसाधन खराब हुने समस्या छ । आयल स्टोरमा तेल छैन भने बाहिर कहाँबाट आउछ’ उनले भने ।

यता जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले भण्डारी आयल स्टोर्सले पेट्रोल विक्री गर्दैन भनेर बिक्रि घटाएको बताए । उनले भने, ‘जाम हुन्छ फाइदा हुँदैन भनेर निगमलाई भनेर घटाएको छ । त्यहि भएर अहिले यस्तो समस्या छ । जिल्लामा एउटा आयल स्टोर्स थियो । अहिले अर्कोले अनुमती मागेको छ । सिफारीस दिएका छौं । खुल्न सक्छ ।’ आयल स्टोर्सले नबेच्ने भनेको पेट्रोल बजारमा सबै पसलहरूमा पाइने गरेको भन्दै एक उपभोत्ताले भने, ‘पेट्रोल मात्र नपाइने हैन । डिजेल पनि सहजै पाइदैन । आयल स्टोरलेनै बजारमा पठाउने गरेको छ । आफु भने बेच्न मान्दैन । बजारमा पठाउनु भन्दा त आफुले बेच्नु नि ।’ अहिले निगमलाई पेट्रोल बेच्दैन भने पनि सधैभरि जिल्लाको समस्या यहि भएको उनले बताए । कान्तिपुर दैनिक बाट 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा