युवा लेखक जनक रसिकको उपन्यास ‘दोरी’ प्रकाशित 

रसिकको उपन्यास ‘दोरी’ प्रकाशित 
रसिकको उपन्यास ‘दोरी’ प्रकाशित 
April 11, 9:10

धनगढी – 

सुदूरपश्चिमका चर्चित युवा लेखक जनक रसिकको पहिलो उपन्यास ‘दोरी’ प्रकाशन भएको छ ।

विगत दुई दशकदेखि सुदूरपश्चिममा रहेर साहित्य सृजना गर्दै आएका रसिक यस क्षेत्रमा पठन संस्कृतिको विकास, परिवर्तित समयमा साहित्यिक माहौल निर्माण र राष्ट्रिय मूलधारमा सुदूरपश्चिमको बहु आयामिक पहिचान स्थापित गर्न सिर्जनाका विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । सुदूरपश्चिममा टिकटमा रचना वाचन कार्यक्रमको सुरुवात गरेर यस क्षेत्रका सर्जकहरूको सृजनात्मक सशक्तीकरणमा पनि उनले विशेष पहल गरिरहेका छन्  ।

साहित्यका बहु विधामा कलम चलाउने रसिक सुदूरपश्चिमको समाज, राजनीति र समसामयिक मुद्दामा समेत निरन्तर कलम चलाइरहेका छन् ।

कविता र गजल विधामा आफ्नो छुट्टै पहिचान बनाएका रसिकका कथा र निबन्ध पनि उति नै रुचाइएका छन् ।

२०६३ सालमा सुदूरपश्चिमको पहिलो पूर्ण छन्दमा आधारित गजल संग्रह ‘युगीन सपना’ प्रकाशन गरेका रसिकका संयुक्त गजल र संयुक्त कविता संग्रहहरु पनि प्रकाशित छन् । पछिल्लोपटक राज्यको पुनर्संरचनासँगै स्थापित पहिलो प्रदेशसभा सम्बन्धि ऐतिहासिक पुस्तक नीति निर्माता प्रकाशन गरेका रसिक राजनीतिक विश्लेषणमा पनि सशक्त ढङ्गले कलम चलाउँछन् ।

नेपाली साहित्यमा विज्ञान र प्रविधि विषयमा लेखन प्रकाशन खासै नभएको अवस्थामा दोरी उपन्यास मार्फत रसिकले यो विषय सशक्त ढङ्गले प्रवेश गराएका छन् ।

उपन्यासमा सुदूरपश्चिमको ग्रामीण क्षेत्रबाट रोजगारीका लागि प्रविधि सम्पन्न देश जापान पुगेका एक अशिक्षित युवकको कथा निकै मार्मिक र कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

विज्ञान प्रविधिको विकास र हाम्रो जीवनस्तरबिचको व्यापक असमानताले के कस्ता समस्या उत्पन्न भैरहेका छन् र यो असमाञ्जस्यता बढ्दै गएमा भविष्यमा कस्ता दुर्घटना हुनसक्छन् भन्ने कुरा उपन्यासले उठाएको मूल मुद्दा हो ।

सुदूरपश्चिमको लबज, मीथकको कसिलो प्रयोग गरिएको उपन्यासको कथा  सरल सटिक र आकर्षक शैलीमा निर्माण गरिएको छ ।

भौतिक विज्ञानमा स्नातकोत्तर अध्ययन गरेका रसिक साहित्यलाई केवल एक विधाको रुपमा मात्र नबुझी आधुनिक समाज र जीवनशैली सुव्यवस्थापनको महत्त्वपूर्ण साधनको रुपमा बुझ्नुपर्ने मान्यता राख्दछन् ।

काठमाडौं स्थित शिखा बुक्सले प्रकाशन गरेको उपन्यास आगामी साता औपचिक कार्यक्रमका साथ सार्वजनिक हुने बताइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा