बझाङमा पुल निर्माण अलपत्र

September 15, 10:21

बझाङ, भदौ २९ । सेती लोकमार्ग अन्तर्गत बझाङको खप्तडछान्ना गाउँपालिकामा निर्माणाधीन तीन वटा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ। निर्माण (ठेकेदार) कम्पनीको लापरबाहीका कारण सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेका छैनन्। 

सेती लोकमार्ग दक्षिणी खण्ड आयोजना कार्यालय अछामले २०७५ सालमा बोलपत्र आह्वान गरेर निर्माण कार्य सुरु गरेको थियो। सम्झौतापछि निर्माणको काम सुरुवात गर्न ठेकेदार कम्पनीले ढिला सुस्ती गरेका कारण तीनवटै पुलको निर्माण रोकिएको हो।  

खप्तडछान्ना गाउँपालिका– १, जाडारमा छ करोड ५० हजार लागतमा खाम्पा टिडिआर जेभी, खप्तडछान्ना गाउँपालिका–२,  कुचेखोला (कालिपछाई) रायमाझी केराभान जेभीले पाँच करोड र खप्तडछान्ना गाउँपालिका–७, बिडिगाडमा अम्भर कन्स्ट्रक्सनले पाँच करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो। 

स्थानीय सरकार तथा सेवाग्राहीले पुल निर्माण छिटो गर्न ताकिता गरे पनि ठेकेदार कम्पनीले कुनै वास्ता गरेको छैन। पुल समयमै पूरा हुन नसक्दा स्थानीयले अनावश्यक दुःख खेप्नु परेको छ भने दैनिक उपभोग्य वस्तुको आयातमा समेत समस्या छ। 

खप्तडछान्ना गाउँपालिकाका उपाध्यक्ष विष्णुकुमार थापाले ठेकेदार कम्पनीले पुल निर्माण कार्यमा ढिला सुस्ती गरेको बताउनुभयो। पालिकाबाट समेत पटक पटक ताकेता गरेपछि सेती लोकमार्ग कार्यालयबाट ठेकेदारलाई दबाब परेको थियो। 

२०७८ साल असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म आएको बेमौसमी बाढीका कारण कुचेखोलामा रहेको पक्की पुल एकातिर गाड अर्कोतिर भएर समस्यासमेत भएको छ। बाढीले निर्माण सामग्री र निर्माणस्थल नै बगाएर लिएपछि निर्माण कार्य ढिला भएको ठेकेदार कम्पनीले जनाएको छ। 

ठेकेदारहरूले काम लिने र निर्माण कार्य ढिला गर्ने परिपाटीले गर्दा पनि यस्तो समस्या हुने गरेको स्थानीयवासी ईश्वर जोशीले बताउनुभयो। निर्माण सुरु भएको पाँच वर्षसम्म पनि पुल नबनेपछि तमैलबाट पैदल हिँडेर आवतजावत गर्नु परिरहेको छ। सेती लोकमार्ग सडक दक्षिणी खण्ड कार्यालय प्रमुख रमेश भण्डारीले सुरुवातमा ठेकेदार कम्पनीले ढिलाइ गरे पनि पछि कोरोना भाइरसको महामारी र बाढीलगायतका समस्याले निर्माण कार्यमा ढिलाइ भएको बताउनुभयो। 

जडार र कुचे खोलाको पक्की पुलको वारिपारिका पिल्लर तयार गरिएका छन् भने ढलानलगायतका अधिकांश काम गर्न अझै बाँकी छ। बिडिगाड पक्की पुलमा भने ढलान भइसकेको भए पनि कमसल सामग्री राखिएको भन्दै सेती लोकमार्ग दक्षिणी खण्ड कार्यालयले पुनः निर्माण गर्न निर्देशन दिएको छ।   

AVN
nast clz

सम्बन्धित वर्गका समाचारहरू

डडेल्धुरामा चितुवा मृत फेला
डडेल्धुरा / डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा… विस्तृतमा
धानबाली नष्ट हुनुको कारण पत्ता नलाग्दा अन्योल
कञ्चनपुर /  कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने दोदा नदी किनारमा धानमा भएको क्षतिको कारण अझै… विस्तृतमा
गोकुलेश्वर-खलंगा सडक २५ वर्षदेखि अधुरै
दार्चुला / गोकुलेश्वरदेखि दार्चुला सदरमुकाम खलंगा जोड्ने छोटो दूरीको खलंगा–खार–गोकुलेश्वर सडक… विस्तृतमा
‘प्रदेश सभा खुलापनका लागि गम्भीर छौँ’
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको खुलापनका लागि आफू गम्भीर… विस्तृतमा