यस वर्षको हेम मल्ल स्मृति आम सञ्चार पुरस्कार भण्डारीलाई र परिमल स्नेही राष्ट्रिय देउडा प्रतिभा पुरस्कार देउडा गायक भट्टलाई

Parimal And Bhojraj
Parimal And Bhojraj
November 07, 7:30

धनगढी, 
कात्तिक २१ – 

कैलाली जिल्लामा दर्ता भई कला संस्कृतिका क्षेत्रमा विभिन्न काम गर्दै आएको सुदूर पश्चिमाञ्चल बहुउद्देश्यीय मञ्च धनगढीले आज दुई ओटा फरक फरक विधाको पुरस्कारको लागि प्रतिभाहरूको नाम घोषणा गरेको छ ।

डोटेली भाषा र संस्कृतिको संरक्षण एवम् उन्नयनमा आम सञ्चारको क्षेत्रमा रही सहयोग पुर्‍याउने व्यक्तिलाई प्रत्येक वर्ष सम्मान गर्ने गरी सञ्चारकर्मी स्वर्गीय हेम मल्लको सम्झनामा, सु प बहुउद्देश्यीय मञ्च धनगढीको अगुवाइमा उहाँको धर्मपत्नी अनिता खनिया मल्लबाट रु १ लाख र सामाजिक सङ्घसंस्था एवम् केही व्यक्तिहरूको सहयोगमा रू ५० हजार गरी रू १ लाख ५० हजारको अक्षय कोष स्थापना गरिएको थियो । उक्त कोषबाट सञ्चालन हुने ुहेम मल्ल स्मृति आम सञ्चार पुरस्कार २०७६ वरिष्ठ साहित्यकार तथा आम सञ्चारका क्षेत्रबाट डोटेली भाषाको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने निर्मल कुमार भण्डारीलाई प्रदान गरिने भएको छ । यस अघि पहिलो पटक(२०७४ )मा धिरेन्द्रराज चटौट र मुकुन्द राज भण्डारीलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । चटौट र भण्डारीले वि स २०५७ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतबाट डोटेली भाषाको कार्यक्रम हजारी माला सुरु गरेका थिए । त्यस्तै हेम मल्ल स्मृति आम सञ्चार पुरस्कार २०७५ गुगुल्टीका प्रधान सम्पादक प्रकाशक वीर बहादुर चन्द विश्रामलाई प्रदान गर्ने निर्णय गरिएको थियो ।

निर्मल कुमार भण्डारीले विगतमा (२०६४ भाद्रदेखि माघसम्म)रेडियो नेपाल क्षे.प्र.के. दिपायलबाट प्रसारण हुने हजारी माला कार्यक्रम सञ्चालन गर्नुका साथै रेडियो खप्तड एफ एम धनगढीबाट करिब पाँच वर्ष गीत माला कार्यक्रम सञ्चालन गर्नु भएको थियो । वर्तमान समयमा सामाजिक सञ्जालमार्फत पनि देउडा गीतहरू निरन्तर पस्की रहने भण्डारीका डोटेली भाषामै कृतिहरू पनि प्रकाशित छन् ।

त्यस्तै सु प बहुउद्देश्यीय मञ्चले विगत ६ वर्षदेखि वितरण गर्दै आएको परिमल स्नेही राष्ट्रिय देउडा प्रतिभा पुरस्कार २०७६ देउडा गायक भोजराज भट्टलाई प्रदान गर्ने निर्णय गरेको छ । भोजराज भट्ट डोउडा गीत गायन क्षेत्रको निकै परिचित र प्रसिद्ध नाम हो । तमामौं डोटेली गीतका गायक भट्टले छुट्टै पहिचान बनाएका छन् । दुवै पुरस्कारको राशि ११,१११ र सम्मान पत्र तथा दोसल्ला रहेको छ । दुवै पुरस्कार एक औपचारिक कार्यक्रम आयोजना गरी प्रदान गरिने छ ।

हेम मल्ल दिनेश एफ एममा डोटेली भाषाको कार्यक्रम प्रस्तोता तथा डोटेली भाषाको पत्रिका सुदूर चिनारीका सह सम्पादकका रूपमा रही डोटेली भाषा संरक्षणमा योगदान पुर्‍याउने व्यक्ति हुन् भने परिमल स्नेही वि स २०१६ सालमा रेडियो नेपालमा पहिलो पटक देउडा गीत गाई विभिन्न सञ्चार माध्यम मार्फत र गीत रेकर्ड गराई देउडा गीतको उन्नयनमा योगदान पुर्‍याउने व्यक्ति हुन् ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा